www.tandavnews.com
Fact ~ In search of truth

पाेखराकाे हावामा हानिकारक रासायनिक कण : आँखा र श्वासप्रश्वासका बिरामी बढे

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

गएको असार पहिलो साता पोखरा लगायत आसपास क्षेत्रमा धमिलो वर्षा भयो । धमिलो वर्षाबारे मौसम विज्ञान महाशाखाले अनविज्ञता प्रकट गर्दै भारतको राजस्थानमा चलेको धुलो आँधी(डस्ट स्ट्रोम)सँगै नेपाली वायुमण्डलमा मिसिएर वर्षा हुनसक्ने अनुमान सार्वजनिक गर्यो ।

वर्षासँगै हानिकारक रासायनिक कणहरु समेत मानव स्वास्थ्यमा प्रवेश गर्ने खतराबाट जोगिन वर्षाको पानी र मिसिएका स्रोतहरुको पानी प्रयोग नगर्न सचेत गरायो । धमिलो वर्षामा रसायनिक तत्वको समिश्रण हुनसक्ने खतरा रहेकोले खोला, नाला, तलाउको पानी समेत दूषित भएका कारण प्रयोग नगर्न महाशाखाको अनुरोध थियो ।

Batas

पोखरामा पनि हिलो वर्षासँगै भारतीय मुलुकबाट आउने यस्तै किसिमका आँधीबाट आजभोलि आँखा र स्वासप्रश्वासका बिरामी बढ्दै गइरहेका छन् । बिहान उठ्दा देखिने माछापुच्छ्रे , अन्नपूर्ण, धौलागिरी सहितका हिमश्रृखङ्ला आँखा अगाडि नै जमेर बसेको बाक्लो तुवालोले छेकेर हेर्न दिँदैन । पोखरामा धेरै मात्रामा ठूला कलकारखाना छैनन् र पनि हावामा रसायनिक कण भेटिन्छ ।

सराङकोटबाट सनराइज हेर्न आउने पर्यटकले आजभोलि प्रष्ट रुपमा पोखरा नियाल्न सकस हुने गरेको पर्यटक व्यवसायीको गुनासो छ । केही दिन मात्र वर्षा भएन भने पनि पोखराको आकास दिउँसै तुवालोले छेक्छ अनि आँखा पिरो हुने गरी पोल्छ, अलि पर तिरसम्म पनि भिजिविलिटी हुँदैन ।

त्यसैसँगै, मानिसको उच्च आवादी रहेको स्थान, अत्यधिक मोटर गाडी गुड्ने सडकहरु आसपासका क्षेत्रमा समेत आँखा र श्वासप्रश्वासका बिरामी बढेको पाइन्छ । हिमालय आँखा हस्पिटल घारीपाटनमा दैनिक ५ सय आँखाका बिरामी विविध कारण सहित उपचारका लागि जान्छन् । जसमध्येमा १५ प्रतिशत बिरामी वायु प्रदूषणबाट सिर्जित समस्या लिएर दिनहुँ जसो हस्पिटल धाउने गरेको हिमालय आँखा हस्पिटलका एक आँखा रोग विशेषज्ञले बताए ।

‘गाउँबाट भन्दा बजार क्षेत्रकै मानिसहरु आँखा उपचारका लागि आउने गर्छन्,’ उनले भने, ‘बजार क्षेत्रमा सवारीको धुँवा धुलो, विकास निर्माणका काम पनि वायु प्रदूषणको जोखिम न्यूनीकरणका लागि कुनै पनि विकल्प तयार नगर्दा झन बढी समस्या देखिँदैछ ।’

गर्मीको समयमा संवेदनशील मानव अङ्गहरुमा संक्रमणको जोखिम बृद्धि हुने हुँदा घर बाहिर निस्कदा चश्मा र माक्सको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने उनको सुझाव छ ।

भारतको राजस्थानमा चलेको हुरी नेपालको पहाडी जिल्लामा समेत सजिलै आइपुग्ने भएकोले हुरीसँगै आएको रसायनिक कणहरु वायुमण्डलमा बाक्लो तह बनाई बसेको मौसमविद्हरु बताउँछन् । पानी पर्दाको समयमा वायुमण्डलमा रहेको धुलोको तहलाई पानीसँगै भुइँमा झारे पनि घाम लागेर सडक सुख्खा हुँदा पुनः वायुमण्डलमै र्फिर्कएर स्थान बनाउँछ र प्रदूषणले ओजन तहमा असर गर्ने गर्छ ।

सहरी विकास हुँदै जाँदा क्रकिट संरचनाहरुको ताप उत्र्सजनलाई न्यूनीकरण गर्न नसक्नु, २० वर्षे पुराना सवारी साधनहरुको प्रयोगमा विस्थापन नीति कडाइका साथ लागु नहुनु, सहरी क्षेत्रको विकास निर्माण आयोजनामा वायु प्रदूषण प्रभावलाई गम्भीरता पूर्वक नलिनुले पनि दूषित वायुका कारण मानव स्वास्थ्य जोखिममा परिरहेको छ ।

मणिपाल शिक्षण अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. कृष्ण कोइरालाका अनुसार प्रदूषित धुलो धँुवाकै कारण एलर्जी भएर दिनमा ५-७ जना बिरामी उनी कहाँ पुग्ने गरेका छन् ।

‘वातावरण प्रदूषण कसैले गराउँछु भनेर भन्दा पनि हाम्रा नियमित गतिविधिहरुले स्वतः निम्त्याइरहेको हुन्छ,’ उनले भने, ‘त्यसकारण संक्रमणबाट जोगिनु अत्यन्तै आवश्यक छ, हावा दूषित भएकै कारण पनि दीर्घकालीन रोग जस्तै दम पनि हुन सक्ने खतरा देखिन्छ । नाक, घाँटीमा एलर्जी हुने, पिनास पर्ने जस्ता समस्या देखिन्छन् ।’

वन अतिक्रम, अत्यधिक कार्बन उत्सर्जन गर्ने कलकारखाना र सवारी साधन, फोहोर ढल व्यवस्थापन सही तवरले नहुनु, अनधिकृत खानीजन्य पदार्थको दोहन सबै कारक वातावरणसँग सम्बन्धीत रहेकाले वायु प्रदूषण बढिरहेको बुद्धिजीवीको तर्क छ ।

के हो वायु प्रदूषण ?

स्वच्छ हावामा नाइट्रोजन ७८ प्रतिशत, अक्सिजन २१ प्रतिशत, कार्बनडाइअक्साइज ०.०४ प्रतिशत र आर्गन तथा अन्य पदार्थ ०.९६ प्रतिशत रहेका हुन्छन । यी बाहेक अन्य दूषित विशालु ग्याँस हावामा मिसिन गएमा त्यसलाई वायु प्रदूषण भनिन्छ– इन्दिरा पन्त, आर्दश समाज ।

सम्बन्धीत सामाग्री

विष पिइरहेछ पोखरा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.