www.tandavnews.com
Fact ~ In search of truth

आयोजकको आँखामा छारो हाल्दै अनमोलको फिल्म छायांकन

सुशन घिमिरे
पोखरा, ताण्डव न्यूज ।

नेपाली फिल्मको छायांकन गर्दा दर्शकको आवश्यक परेमा जुटाउन निकै गाह्रो । अझ क्राउड सिन देखाउनका लागि निर्देशकलाई दाँतबाट पसिना नै छुट्छ । तर पोखरामा एउटा छायाँकनमा त्यस्तो भएन ।

छायांकनको नाममा दर्शकलाई झुक्याउने काम गरियो । जुन कुरा आयोजकले पनि पत्तै पाएनन् । आयोजक फिल्मको निर्माण टिमले आँखामा छारो हाल्दै यस्तो काम गरेका हुन् । यसलाई पोखरेली दर्शकहरुले ठगिको संज्ञा दिएका छन् ।

Batas

शनिबार पोखरामा भव्य रुपमा अनमोल इभ सम्पन्न भयो । तर नाम अनमोल इभ भनिएतापनि र्यापर भिटेन र नायिका प्रियंका कार्की प्रभावशाली देखिए ।

शुक्रबार पोखरामा अनमोलको प्रस्तुति अघि गरिएको पत्रकार सम्मेलनमै अनमोल अपसेट देखिन्थे । पोखरा ग्राण्डमा गर्ने भनिएको पत्रकार सम्मेलन एकाएक टुकी रिसोर्टमा सारियो । करिब १ घण्टा ढिला गरि सुरु भएको प्रेसमिटमा अनमोल त्यति खुशि देखिदैन थिए ।

शनिवार साँझ अनमोल इभ चलिरहेको अमरसिहं चौरमा एकाएक रेड क्यामेरा, ट्रलि सेट सहितको टिम देखियो । करिब २० मिनेट स्टेजमा गीत गाएका अनमोलको पूरै प्रस्तुति उक्त क्यामेरामा कैद गरियो । जोनी जिप लगाएर क्यामेरा मेन स्टेजमै उत्रिएर दृश्य खिचे ।

शनिवार बिहान पोखरामा ‘ए मेरो हजुर ३’ को शुभमुर्हत गरिएको थियो । त्यसबारे पोखरेली मिडिया अनबिज्ञ थिए । एकाएक हतारमा शुभमुर्हत गर्नुको प्रमुख कारण अनमोल इभको प्रस्तुति त थिएन ? जबकी फिल्मको अफिसियल छायांकन असोज पहिलो हप्ताबाट हुने कुरा थियो ।

फिल्मको लागि आवश्यक सेट र क्राउड व्यवस्थापन गर्न सहज छैन । फिल्म निर्माण टिमको लागि यो कार्यक्रमले सहज त बनाइदियो तर अर्को प्रश्न के पनि उब्जियो भने कतै निर्माण टिमले यसकै लागि रकम खर्चिएको त छैन ? यदि रकम खर्चिएको भए कसलाई आयोजक वा स्वयम् अनमोललाई ।

हेर्दा अनमोल फ्रिमा आएको भनिएता पनि यो कार्यक्रमबाट एक तिरले २ निशाना हान्ने काम भएको हो की भन्ने आशंका पैदा भएको छ ।

स्थानीय आयोजक महेश्वरमान भण्डारीलाई सामान्य सुटिङ क्राउडको लागि भन्नेबारे खबर भएतापनि पूरै अनमोलको प्रस्तुति सहित स्टेज खिच्नेबारे पत्तो थिएन ।

‘फिल्मका लागि १/२ वटा भाग खिच्ने भन्ने थियो तर स्टेज पूरै खिच्ने भन्ने थाहा थिएन,’ उनले भने । भण्डारीका अनुसार स्थानीय आयोजक समक्ष अनमोलको व्यवहार पनि राम्रो थिएन ।

‘अनमोलले स्टेजमा नाच्ने भनेर कन्फर्म थियो तर एक्कासि नाच्दिन भने । उनीसँग नाच्ने भनेर ड्रिम हाइ डान्स क्रु र ओसल डान्स ग्रुप तयारी अवस्थामा बसेका थिए,’ उनले सुनाए ।

अनमोललाई पोखरा आउनु पूर्व कार्यक्रमको सेड्युल पठाइएको थियो । सेड्युल अनुसार आउने दिन पोखरा ग्राण्डमा बस्ने र दोस्रो दिन रुपाकोट रिसोर्ट बस्ने योजना थियो । तर अनमोल ग्राण्डमा नबसी रुपाकोट रिसोर्ट पुगे ।

‘अनमोल पूरा सुटिङका लागि मात्रै आएको झै गरी प्रस्तुत भए,’ भण्डारीले भने, ‘अनमोलको व्यस्थापनका लागि मात्रै करिब २ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।’

पर्यटन प्रर्वद्धन भन्दै पर्यटन वोर्डको समेत सहकार्य रहेको थियो । अनमोलले पर्यटन प्रर्वद्धनका लागि माझिकुनामा पुगेर फोटोसुट गर्ने योजना समेत रहेको उनले बताए । तर अनमोल कार्यक्रम सेड्युल भन्दा बाहिर गएर आफ्नै शैलीमा हिडेको भण्डारीले गुनासो पोखे ।

अनमोल पितालाई यसबारे बुझ्न प्रयास गर्दा उनी नेपाल बाहिर (अमेरिका) रहेको बुझियो ।

यता मुख्य आयोजक मोनिका इन्टरनेशनलका कमल जिसीले फिल्मको छांयाकन बारे आफू अनविज्ञ रहेको बताए ।

‘मलाई झरना दिदीले रेड क्यामेरा ल्याएका छौं , तिमीलाई पनि फुटेज दिन्छौं भन्नुभयो त्यहि अनुसार मैले पनि दिदीको कुरालाई काट्न नसकेर भिडियोका लागि हुन्छ भनेको हुँ’ जिसिले भने, ‘खिच्नका लागि मैले पैसा लिएको छैन, मागेको छैन । कसैले लिएको भए मलाई थाहा भएन तर फिल्मकै लागि यत्तिको स्टेज बनाउनका लागि करिब २० लाख रुपैयाँ सम्म खर्च हुन्छ त्यो चाही यथार्थ हो ।’

स्टेज कोअर्डिनेटर निराजन गिरीले झरनाले सामान्य खिच्ने मात्रै कुरा गरेको तर त्यो हिसाबमा सेट नै लगाएर छायाँकन गर्ने बारे आफुपनि जानकार नभएको बताए ।

‘अनमोललाई जुन व्यबस्थापन गर्ने भनिएको थियो त्यस अनुरुप भएन यसकारण अनमोल अपसेट हुनुभएको हो’,उनले भने ।

‘झरना दिदि हाम्रो परिवारको जस्तै हुनुहुन्छ , उहाँले केही न केही गर्नुहुन्छ पक्कै’ गिराले भने ‘लोगो हाल्ने वा आर्थिक रुपमा के कसरी गर्ने त्यो बारे हाम्रो छलफल हुन्छ’।

उनले आगामी दिनमा कार्यक्रम हुने नहुने बारे अनमोलले कुनै प्रतिक्रिया नदिएको स्पष्ट पारे ।

यसबारे नायिका तथा निर्देशक झरना केसीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् । झरनालाई फोन गर्दा एक महिलाले एक घण्टापछि फोन गर्न आग्रह गरिन् । करिब १ घण्टापछि फोन गर्दा उनको असिस्टेन्ट शितल केसीले फोन उठाइन् र उनी बाहिर रहेको जानकारी दिइन् । झरनाले फिल्मबाट आफ्नै छोरीलाई डेब्यु समेत गराउँदैछिन् ।

टिकट काटेर अनमोलको प्रस्तुती हेर्न पुगेका दर्शकहरुले उनको फिल्मको सुटिङ हेरे । कार्यक्रममा प्रियंका कार्की र भिटेनको प्रस्तुतिले दर्शक रमाए । अनमोल सो पिसको रुपमा स्टेजमा देखिएका थिए ।

सामाजिक कार्यक्रम भनिएपनि अनमोलको प्रमोशनकै लागी जस्तो देखिएको छ । घट्दो चार्मलाई उठाउन समेत टेवा पुग्ने हुदाँ बिना पैसा कार्यक्रमको लागी अनमोल राजी भएको देखिन्छ । चार स्थानमा हुने कार्यक्रमबाट करिब ५ लाख नेत्रहिन महिला संद्यलाई सहयोग गरिनेछ ।

पोखरा कार्यक्रमबाट एक लाख एक हजार एकसय एघार हस्तान्तरण गरिएको थियो । आगामी कार्यक्रम भदौ २३ गते चितवन र २७ गते बिर्तामोडमा हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.