www.tandavnews.com
Fact ~ In search of truth

‘दुःखले गरिखान सिकायो’

उमा विक
पोखरा, ताण्डव न्यूज । 

पीडाले जीवनमा बल दियो । दुःख गर्न सिकायो । बाँच्न सिकायो । लमजुङ कुन्छाकी अप्सरा सुनार । ३० वर्षको अधवैंसे उमेरमै एक्लो जीवन बिताउन बाध्य भइन् । जीवनका सुःख, दुःखसँगै भोग्ने बाचा गर्दै १८ वर्षको उमेरमा विवाह गरी श्रीमानसँग हाँसी खुसी जीवन बिताइरहेकी अप्सराको खुसी धर्तीका दैवले देख्न सकेनन् ।

१० वर्ष अघि अप्सराको श्रीमानको हत्या भयो । गुण्डाहरुले उनको श्रीमानलाई लुटपाट गरि मारिदिए ।  अप्सराले त्यो पीडाको पल सम्झिदैँ भनिन्, ‘बिहेको केही वर्ष पछि हामी जागिरका लागि काठमाडौँ गयौँ, श्रीमान्ले बस काउन्टरमा टिकट काट्ने काम गर्नुहुन्थ्यो, काम सकेर घर फर्किँदा गुण्डाहरुले साथमा भएको पैसा लुटेछन्, अनि मारेर फाल्दिएछन् ।’

Batas

श्रीमानको हत्यापछि….

अप्सरा श्रीमानसँगै काठमाडौं बस्थिन् । ३ छोरीहरु थिए । श्रीमान् हुँदा उनको काम घरकै खाना पकाउने, छोरीहरुको स्याहार गर्ने मात्र थियो । श्रीमानले काम गरेर उनलाई सुखैमा राखेका थिए ।
श्रीमानको हत्या पछि उनी एक्लिन पुगिन् । काम केही थिएन । घर धानिने आधार हरायो । उनी तिन छोरी बोकेर लमजुङ फर्किन् ।

गाउँमा बसेर पनि परिवार धानिने उपाय थिएन उनको । उनी मात्र होइन साथमा तिन छोरी थिए । काठमाडौंसँग श्रीमानको हत्याको सहन नसक्ने सम्झना थियो त्यसैले उनले पोखरा आएर केही काम गर्ने निधो गरिन् । ८ वर्ष अघि अप्सरा ३ छोरी बोकेर पोखरा आइन् ।

डोकोमा व्यापार

पोखरा आएपछि अप्सराले बाटोमा डोकोमा तरकारी, फलफूल बेचेर बसेका व्यापारीहरु देखिन् । उनले जागिर पाउनको लागि हातमा केही सिप थिएन । न पढेलेखेकी थिइन् । उनले विचार गरिन् आफूले नि यसरी नै व्यापार गर्ने ।

तर उनमा व्यापारको कुनै आइडिया थिएन् । उनले बुद्धि लगाइन् र न बिग्रिने चिज बेच्ने सोचिन् । सुरुमा ३ हजार रुपैयाँ सापट गरेर उनले बाटोमा राखेर लसुन, प्याज, आलु बेच्न थालिन् ।
बाटोमा फिजाएर राखेको आलु, लसुन, प्याजमा खासै ग्राहकको आँखा पुगेन । उनले तरकारी बेच्न थालिन् । तरकारी बेच्न थाले पछि व्यापार हुन थाल्यो । तर तरकारीबाट फाइदा भएन । तरकारी नै बेचेर तिन छोरीलाई पाल्न, पढाउन, घरभाडा तिर्न धौधौ भयो ।

उनलाई दुःखै होस् तर फाइदा हुने, कमाइ हुने चिजको व्यापार गर्नुपर्ने थियो । डोकोमा बोकेर फलफूल बेच्न सके फाइदा हुने कुरा उनले सुनिन् । त्यसले उनले फलफूल बेच्ने निधो गरिन् ।  सुरुसुरुमा उनले १० दर्जन केरा लिएर बाटोको छेउमा राखेर बेच्न थालिन् । अझै उनले व्यापारको मेसो पाइसकेकी थिइनन् । उनी ३ सय रुपैयाँ कमाइ भएपछि दिउँसै कोठा फर्किन्थिन् ।

उनी भन्छिन्, ‘सुरुसुरुमा त बजारमा डोको बोकेर व्यापार गर्न लाज लाग्थ्यो, त्यही भएर बाटोको कुनातिर बसेर बेच्थेँ, २/३ सय कमाइ भएपनि फुरफुर पर्दै दिउँसै कोठा फर्किन्थँे ।’ अप्सरा अहिले डोकोमै सिजन अनुसारको फलफूल डुलाउँदै हिँड्छिन् । उनले यसरी डोको बोकेर व्यापार गर्न थालेको ६/७ वर्ष भयो ।

गाह्रो छ, तर‍‍‍…

उनले ऋणै गरेर भएपनि पसल गर्ने पनि सोचिन् । पार्टनरमा पसल गर्ने भनेर सस्तो बजारमा ठाउँ लिइन् । तर त्यसको लागि पनि भित्रभित्रै गुण्डागर्दी हुने रैछ उनले ठाउँ पाइनन् । पछि डोकोमै बोकेर व्यापारलाई निरन्तरता दिइरहेकी छिन् ।

बाटोमा बसेर व्यापार गर्दा महानगरले दुःख दिन्छ । अप्सरा निधारमा आएको चिरचिर पसिना पुछ्दै भन्छिन्, ‘थकाइ लागेर यसो बाटो छेउ फलफूलको भारी बिसाएर बस्दा पनि महानगरले देख्नसाथ लखेट्छ । सामान खोस्दिन्छ । त्यत्ति बेला साह्रै मन दुख्छ ।’

बाटोमा बसेर व्यापार गर्ने त हाम्रो पनि इच्छा नभई बाध्यता रहेको उनको अनुभव छ । ‘नखाई मर्न सकिन्न । बाँच्नका लागि गर्नैप¥यो, ’ उनी मन दुखाउँदै भन्छिन् ।

डोकोबाट महिनामा ३० हजार

अप्सराले डोकोमा फलफूल बेचेर दिनमा बढीमा १ हजार सम्म नाफा निकाल्छिन् । कम्तिमा ४/५ सय नाफा हुन्छ उनको ।

ग्राहकहरु पसलमा भन्दा डोकोमै किन्न खोज्छन् । उनी भन्छिन्,‘हामीलाई अलिकति नाफा भएपनि पुग्छ, मिलाएर बेच्छाँै त्यसैले पनि ग्राहक डोको नै खोज्दै आउँछन् ।’ दिनमा २÷३ हजारको सामान हाल्छिन् उनी ।

यही कमाइले छोरीहरुलाई पालिरहेकी छिन् । दुई छोरीलाई सरकारी स्कुलमै भएपनि पढाएकी छिन् ।

ठूली छोरीलाई पढाउन सकिनन् । ठूली छोरीको सहायतामै उनले दुई छोरीलाई पढाएकी छिन् । माइली छोरीले अहिले एसईईको परीक्षा दिइन् । कान्छी छोरी कक्षा ८ मा पढ्दै छिन् ।
उनले ४ हजार कोठा भाडा तिर्नुपर्छ । ‘दुःख भएपनि यही कामले मेरो गुजारा चलेको छ खुसी नै छु,’ उनी भन्छिन् ।

अप्सराको दुई छोरीलाई सकेसम्म पढाएर राम्रो जागिर खुवाउने इच्छा छ । अप्सरा अहिले ४० वर्षकी भइन् । उनी भन्छिन्, ‘डोकोमा बोकेर फलफूल बेच्दा कत्तिले हेप्छन् तर श्रीमानको साथ छुटे पछि बाँच्नै प¥यो दुःखले गरिखान सिकायो । ’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.