www.tandavnews.com
Fact ~ In search of truth

‘पुरस्कारले काम गर्न अझ हौसाएको छ’

सुशन घिमिरे
पोखरा, ताण्डव न्यूज ।

यसबर्ष २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रबाट बिकास बोर्डले दुई चलचित्र पन्चायत र अग्निदहनलाई पुरस्कार प्रदान गरेको छ ।

पन्चायतले नेपालको पश्चिम क्षेत्रमा महिलाहरुले भोग्दै आएकोे छाउपडी प्रथा तथा सामाजिक कुरुतीको विरुद्ध चेतनामुलक कथा बोकेको छ । भने अग्निदहनले समाजमा बिद्यमान बोक्सी प्रथालाई कथालाई उठाएको छ ।

Batas

चलचित्र बिकास बोर्डले १८ औं बार्षिक उत्सवको अबसरमा दुई चलचित्रलाई जनही २ लाख प्रदान गरेको छ । उक्त रकम विदेशमा चलचित्र प्रर्दशनका लागी आवश्यक सवटाइटल राख्नका लागि भनेर प्रदान गरिएको हो ।

पुरस्कार पाएका चलचित्रहरुलाई सरकारले बिदेश तथा नेपाल भित्र पनि बिषेश प्रर्दशनी साथै महोत्सवहरुमा सहभागिका लागी सहयोग गर्ने गर्दछ ।

२०६५ सालदेखि निरन्तर चलचित्र बिकास बोर्डले हरेक बर्ष विशेष चलचित्र पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारका लागि भाषा, सँस्कृति, रहनसहन, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक लागयतलाई आधार मान्ने गरिन्छ ।

केही दिन पहिले चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा निर्देशक घनश्याम लामिछानेले पोखराबाट निर्माण गरिएको फिल्मले प्राप्त गरेको सफलता सबै पोखरेली कलाकर्मिको प्रतिको सम्मान भएको बताएका थिए ।

लामिछानेले फिल्मले नेपालको प्रतिनिधित्व गर्दै ओस्कारमा जाने अबसर प्राप्त गर्न सक्ने बताए । प्राय विषेश चलचित्र अवार्ड पाएकाले नै ओस्कारमा प्रतिनिधित्व गर्ने गर्दछन् , लामिछानेले भने , अग्निदहनले त्यो अबसर प्राप्त गर्नेमा आशावादी छु ।

हर्षको सिमा रहेन : निर्देशक लामिछाने

विभिन्न देशहरूले फरकधारमा बनेका सिनेमहरुलाइ विभिन्न प्रोत्साहन स्वरुप पुरस्कार र अवार्ड दिने चलन नै छ । हाम्रो देशमा पनि बिगत केही बर्ष देखि यो अवार्ड दिदै आइरहेको छ ।

बिगत बर्षमा अरु फिल्मले यो अवार्ड पाउँदा मलाई यो धेरै टाढा र गाह्रो कुरा हो जस्तो लाग्थ्यो तर जब यो बर्ष को अवार्ड घोषणा भो र मैले निर्देशन गरेको चलचित्र अग्निदहनले अवार्ड पाउँदा हर्सको सिमा रहेन ।

साच्चै अवार्ड पाउने थाहा भएको भए म काठमाडौ पनि जाने थिएँ तर आशा लागेको थिएन । तर जब यो घोषणा भएको खबर पोखराका भोज गुरुङ र पुराना सम्पादक सर नरेन्द्र खड्काले दिनु भो अनि मेरो खुसीको सिमा नै रहेन ।

किनकी यो अवार्ड पोखरामा रहेर काम गर्ने नेपाली चलचित्रको पहिलो निर्देशक म बन्न पाएको थिएँ । यस बर्षको चलचित्र विकाश बोर्डबाट बिशेष चलचित्र (Special Jury Award)को अवार्ड पाउन सफल फिल्म अग्निदहनका निर्माता, प्राबिधिक र कलाकारहरुलाइ यस घडीमा सम्झन चाहन्छु ।

हरेक निर्देशकको एउटा उद्देश्य हुन्छ राष्ट्रको उत्कृष्ट अवार्ड लिने र यति छिट्टै मेरो सपना पूरा भएकोमा मलाई खुसी र गर्व दुबै लागेको छ । साच्चिकै अवार्ड पाउनु अघि भन्दा पाएपछि झन जिम्मेवारी थपिएको अनुभुती हुदैछ । अब मैले यो भन्दा ठुलो र राम्रो अवार्ड पाउने गरि काम गर्नुपर्छ भन्ने अनुभुती बढ्दै छ ।

आज जुन पुरस्कार मेरो कामले पायो त्यसको पछाडी धेरै निर्देशकहरुको आँखा लागिरहेको छ । मेरो यो अवार्डलाई आफ्नो ठाउँको इज्जत र सम्मान मान्दै पोखरा फिल्म सोसाइटी र चलचित्र पत्रकार संघ कास्कीले जुन सम्मान र बधाई कार्यक्रम समेत राखेर हौसला बढाउने काम गर्नु भो त्यसले झन बडी खुशी थपेको छ ।

आशा छ भविष्यमा झन स्तरीय र उत्कृष्ट सिनेमा बनाउन सकु । यो सम्मान र गौरव लाई आफ्नो कर्मथलो प्रती अर्पण गर्न चाहन्छु ।

चलचित्र निर्माण गर्नु फलामको चिउरा चपाउनु भन्दा पनि गाह्रो : निर्देशक अधिकारी

 

आजभन्दा करिब १२ बर्ष अगाडिको कुरा होला, सिनेमा के हो ? कसरी बन्छ केही पनि थाहा थिएन ।

लहै लहैमा नै सहायक निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरियो । त्यो मेरो नर्सरी क्लास भन्नु पर्छ । जहाँ मैले कखरा, एबिसिडी सिक्ने मौका पाएँ । चलचित्रको साउ अक्षर छुट्याउँदै, चलचित्रको केही छन्द र लयहरु पढ्दै चलचित्रलाई नजिकबाट बुझ्ने प्रयास गर्दै मुख्य सहायक निर्देशकको सम्मको यात्रा तय गर्ने क्रममा केही चलचित्रहरुको स्कृप्ट पढ्ने मौका मिल्यो । ति स्कृप्टहरु नै मेरो चलचित्र यात्राका ट्यूसन क्लासहरु थिए ।

डाईरेक्सन डिपार्टबाट काम सुरु गरेको हुनाले त्यसै डिपार्टको हेड अर्थात निर्देशक बन्ने सपना प्रबल भएर आयो । राम्रो निर्देशक बन्नको लागि स्कृप्टको ज्ञान हुनुपर्छ भन्ने सोचेर नै केही स्कृप्टहरु लेख्ने प्रयास गरेँ ।

चलचित्र उद्योगप्रति म सधै ऋणी हुनेछु , मेरो त्यो प्रयास नै प्रोफेसन बनेर आयो । छोटो समयको त्यो प्रयास नै सफल चलचित्र लेखकको रुपमा स्थापित हुने मौका मिल्यो । फरक फरक निर्माता फरक–फरक निर्देशक, फरक–फरक कलाकारहरुसँगको सहकार्य सँग–सँगै चलचित्रको दृष्य भाषालाई अझै नजिक बाट बुझ्ने मौका मिल्दै गयो ।

जसरी विद्यार्थीहरु क्लास चढ्दै जान्छन् त्यसरी नै उनीहरुको ज्ञानको दायरा पनि फराकियो र बृहत हुदै जान्छ । आफ्ना कमजोरीहरुलाई आफैले केलाउन सक्ने क्षमताको विकास हुदै जान्छ ।

मैले पनि त्यसरी नै फर्किएर हेरेँ आफ्ना बिगतहरुलाई ….धेरै हिट सुपरहिट चलचित्रहरु थिए, तर आफैलाई सन्तुष्टी दिने खालको चलचित्रहरु धेरै कम भेटे । कारण निर्माता निर्देशकको चाहना अनुसारको चलचित्र लेखिदिनु । मैले आफैले लेखेको चलचित्रमा आफूलाई कही पनि भेटाउन सकिन ।

चलिरहेको ट्रेन्ड भन्दा बाहिर गएर चलचित्र निर्माण गर्नु फलामको चिउरा चबाउनु भन्दा पनि गाह्रो हुन्छ । तर पनि आफूलाई फरक धारको साबित गर्न मैले प्रयास गरेँ । व्यवसायिक सफलता र असफलता सँग दाँजेर हेरिन, चलचित्रको स्तरियता र मर्मलाई मात्र आत्मसात गरेँ ।

आउट अफ ट्रयाकमा चलचित्र निर्माण गर्दा व्यवसायिक जोखिम अत्याधिक हुने भएकोले खर्च कम मेहनत बढी को सुत्रलाई प्रयोग गरेँ । मेरा निर्माता साथीहरुले व्यवसायिक जोखिम हुदा हुदै पनि राम्रो साथ दिए साथै राम्रा चलचित्रमा काम गर्ने भोक भएका कलाकार र प्राबिधिकले पनि भरपुर साथ दिएँ अनि निर्माण भयो चलचित्र पञ्चायत ।

चलचित्र निर्माण त भयो तर बितरक, डिजिटल राईट्स देखि ओभरसिज शो गर्ने निकायहरुले चलचित्रको प्रदर्शन प्रबर्धनको लागि त्यति धेरै महत्व र चासो दिएनन् । आफ्नै श्रोत र साधनबाट बिदेशका बिभिन्न फेस्टीभलहरुमा सहभागी गराएँ, जतिवटा फेस्टीभलमा सहभागी गराएँ त्यहाँबाट राम्रो प्रतिकृया आयो ।

सबै फेस्टिभलहरुमा चलचित्र पञ्चायत अफिसियल सेलेक्सनमा पर्न सफल भयो भने सनफ्रान्सीस्को ईटरनेशनल फिल्म फेस्टीभलमा उत्कृष्ट बिदेशी भाषी चलचित्र र उत्कृष्ट नायिकाको दुईवटा अवार्ड जित्न सफल भयो । त्यसपछि चलचित्र लाई हेर्ने नजर केही हदसम्म बदलियो जसको फलस्वरुप बिभिन्न देशहरुमा बिशेष शो गर्न सफल भयौ ।

चलचित्र रिलीज पस्चात मिडिया र दर्शकको सकारात्मक प्रतिकृया मिल्न थाले पछि भने चलचित्रले छुट्टै उचाई लिन सफल भयो । त्यसै गरी चलचित्र बिकाश बोर्डबाट बिशेष चलचित्रको रुपमा पुरस्कृत हुदै बिदेश प्रदर्शन र फेस्टीभल सहभागिताको लागि रु २लाख प्राप्त गरेको छ ।

आउट अफ ट्रयाकमा चलचित्र निर्माण गरेर जोखिम उठाएको महसुस अब गर्नु परेको छैन । यसले छुट्टै हौसला प्रदान गरेको छ । चलचित्रलाई नेपालको तर्फबाट ओस्कारको प्रतिनिधित्व सम्म गराउन सकिएछ भने म आफूलाई भाग्यमानी र सफल नै संझने छु । भोलिको दिनमा मौलिक र ईमानदार चलचित्र बनाउन मलाई प्रेरणा हुने छ ।

….

निर्देशकद्धय ओस्कारमा सहभागिताको लागी आशावादी भैरहदा एउटा मात्रै चलचित्रले नेपालबाट सहभागीता जनाउने छ । यद्यपि यि द्ई वाहेक पनि अन्य चलचित्रको समेत सम्भावना रहन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबर्ष (२०६५) उत्कृष्ट चलचित्रको रुपमा जनयुद्ध र उत्कृष्ट निर्देशक उज्जवल घिमिरेलाई प्रदान गरेका थिए । त्यसपछि क्रमश २०६७ र ६८ मा छोडि गए पाप लाग्ला र अन्जादले उत्कृष्ट फिल्म अवार्ड पाए । यि दुबै चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यसपछि बिकास बोर्डले करिब ४ बर्ष कार्यक्रम गर्नसकेन ।

७२ अघि छिट्फुट् रुपमा प्रदान गरिने पुरस्कार बिभिन्न त्रुटिहरुका कारण विवादस्पद रहने गरेको थियो । २०७२ मा कवड्डीले उत्कृष्ट चलचित्रको अवार्ड हात पर्यो । पशुपति प्रसाद २०७३ मा उत्कृष्ट चलचित्र बन्यो ।

सरकारी क्षेत्रबाट प्रदान गरिने यस्ता पुरस्कारले चलचित्र क्षेत्रप्रति राज्यलाई उत्तरदायित्व बनाएको त छ नै त्यो भन्दा बढि चलचित्रकर्मिलाई हौसला प्रदान गरेको छ ।

निजी तवरबाट प्रदान गरिने पुरस्कार र अवार्ड निश्पक्ष बन्न नसिकरहेको बेला सरकारी क्षेत्रबाट प्रदान गरिने पुरस्कार राजिनितिक पहँुच भन्दा बाहिर रहन सकेमा अझै निस्पक्ष बन्न सक्ने थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.