www.tandavnews.com
Fact ~ In search of truth

जाऔं बर्दिया निकुञ्जको सफारीमा…

– सुरज हजारे दाहाल

नेपालका ३ प्रमुख राष्ट्रिय निकुञ्जहरु तराई क्षेत्रमा रहेका छन् । चितवन, बर्दिया र शुक्लाफाँट निकुञ्जहरु मध्ये सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया हो । प्रदेश नं ५ को बर्दिया जिल्लामा अवस्थित यस निकुञ्जको स्थापना विसं २०३२ मा भएको थियो ।

सुरुमा कर्णाली बन्यजन्तुको आरक्षको रुपमा स्थापित बर्दिया निकुञ्ज पछि बन्यजन्तु आरक्ष बनेको थियो भने २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रुपमा विकास भएको थियो । यसको कुल क्षेत्रफल हाल ९६८ बर्ग किलोमिटर रहेको छ तर स्थापना कालमा भने यसको क्षेत्रफल केबल ३२७ वर्ग किमी मात्र थियो । यसको आसपासमा कर्णाली जस्तो प्रथम स्तरको तथा बबई जस्तो दोस्रो स्तरको नदी बहने गर्दछन् ।

Batas

यस निकुञ्जमा एसियाली हात्ती, एक सिंगे गैंडा, बाघ, चितुवा, बाह्र सिंगे, जरायो जस्ता स्तनधारी जनावर तथा अजिंगर, गोही, घडियाल जस्ताल घस्रने जनावर पाइन्छन् ।

मयुर, कालिज र सँुगा यस निकुञ्जको प्रमुख पंक्षीहरु हुन् । निकुञ्जको बाहिरी भागमा २२ वटा होटलहरु रहेका छन् । निकुञ्ज सालका ठुला रुखहरुले हरभरा छ । रुख यति बाक्ला छन् कि घामको किरण मुस्किलले जमिनमा पर्दछ । यस निकुञ्जमा ४३८ थरीका चराहरु पाइन्छन् जसमा स्थानीय र रैथाने दुबै पर्दछ ।

बर्दियामा हाल ८५ वटा बाघ रहेका छन् । सन् २००८ मा टाइटनिक फिल्मका हिरो एवं वाघ संरक्षण अभियानका सद्भाव दूत लियोनार्दो क्याप्रियोले बर्दियामा बाघ अवलोकन गर्न आएपछि यसको चर्चा चुलिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका गैंडाका लागि उपयुक्त वासस्थान मानिएकाले सन् १९८६ देखि २०१४ सम्ममा चितवनबाट १०० भन्दा बढी गैंडा बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएको थियो ।

नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज बर्दिया हो । बर्दियामा मात्र ८५ बाघ, ९० को संख्यामा हात्ती, १ सय बढी बाह्रा सिङ्गे, ५० बढी गोही रहेका छन् । मृग र जरायो बर्दियामा अनगिन्ती संख्यामा देख्न सकिन्छ ।

त्यसो त, बर्दियामा पर्यटकहरुका लागि २ दर्जन बढी रिसोर्ट र होटलहरु पनि रहेका छन् । चितवन निकुञ्जको झैं चर्चा नभए पनि पछिल्ला दिनमा बर्दिया घुम्ने पर्यटकको संख्या बढ्न थालेको छ । कर्णालीको डल्फिन र चिसापानीको राफ्टिङ्प्रति पछिल्ला दिनमा पर्यटकको आकर्षण बढ्दै गएपछि होटलहरुले प्याकेज नै ल्याएका छन् । चिसा पानीदेखि बर्दियासम्म राफटिंग गरेको करिब पाँच हजार रुपैयाँ लाग्छ ।

पोखराबाट अम्बासा भन्ने ठाउँमा ओर्लिएपछि राजमार्गदेखि ठाकुरद्वारासम्म पुग्ने ग्राभेल सडकको उभडखाबड अवस्था पनि बर्दिया निकुन्जमा पर्यटक कम पुग्नुको एक कारण हो । हालै आएर अम्बासादेखि निकुञ्जसम्म नै अटोरिक्सा चल्न थालेकोले पर्यटकलाई सहज भएको छ । बीचमा पर्ने अम्बासा खोलामा पुल नहुँदा बर्षादका बेला घण्टौ पर्खनुपर्ने पनि हुन सक्छ ।

निकुञ्जको प्रवेश गेट पछि ठाकुरद्वारामा गोही तथा घडियाल प्रजनन केन्द्र छ । त्यहाँ घडियाल र मगर गोही छन् ।

निकुञ्जमा गोही प्रजनन् केन्द्र पनि रहेको छ । गोहीसँग कछुवाहरु पनि अर्र्के केजमा राखिएका छन् । पर्यटकको सवारीका लागि लागि यस निकुञ्जमा १० भन्दा बढी हात्तीहरु रहेका छन् । निकुञ्जका करिब एक दर्जन हात्ति मार्फत पर्यकटलाई जंगल सफारी गराइन्छ ।

हात्ती सफारी गरेको प्रति घण्टा ६ सय रुपैयाँ तिर्नुपर्छ । निकुञ्जमा प्रवेश गरेको नेपालीलाई २० रुपैयाँ लिइन्छ । निकुञ्जको होटल नबस्नेलाई अर्को विकल्प डल्ला नामक होमस्टे रहेको छ । २०६७ पछि होमस्टेको अवधारणा सुरु भएको थियो । देशका अन्य होमस्टे झै यहाँ पनि आलोपालो गरेर पाहुना राख्ने चलन छ । खानामा घोगी, मुसाको अचार तथा लोक कुखुरा पाइन्छन् ।

यसरी पुग्ने :

पोखराबाट १ बजे महेन्द्रनगर जाने बस गाडी चढेर भोलिपल्ट करिब ५ बजे महेन्द्र राजमार्गसँगै जोडिएको अम्बसामा ओर्लिनुपर्छ । त्यहाँबाट ४५ मिनेटको अटो रिक्साको सयरमा निकुञ्जको प्रवेशद्वार पुगिन्छ । ४ दिनको यात्रा खर्च, हात्ती सयर, खाना र होटल गरि १६ हजार रुपैयाँ खर्च लाग्छ ।

 

लेखकबाट थप 

जिरी उपत्यका : हरियो बिछ्यौना

गुलजार कोशी, डेट् एक्सपायर्ड ब्यारेज

बादलुको घुम्टोले इलाम बजार छोपिँदा …

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.