www.tandavnews.com
Fact ~ In search of truth

अविरल वर्षाले भक्तपुरमा एकै परिवारका तीनको मृत्यु

भक्तपुर (रासस)

गएरातिदेखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामा रहेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिP । अविरल वर्षाले सूर्यविनायक नगरपालिकाको आशापुरीमा एक घर भत्किएको छ ।

Batas

वर्षाका कारण आएको बाढीले डुबानमा परेका १०० भन्दा बढीको उद्धार गरिएको र उद्धारमा थप कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । अविरल वर्षाले हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुरथिमि वडा नं १ लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धीस्मृति बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित डा युवामुरा अस्पताल, मध्यपुरथिमिस्थित मध्यपुरथिमि अस्पतालसमेत जलमग्न भएको छ ।

खस्याङखुसुङ खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् । रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । उनका अनुसार क्षतिको थप विवरण आउनेक्रम जारी छ ।

बाढीका कारण हनुमन्ते खोलाको पुलसमेत खतरामा परेको छ । बाढीले जगातीदेखि थिमिको राधेरोधसम्मको सडक अवरुद्ध भएको छ । राधेराधे क्षेत्रको डुबानले थिमिबाट भक्तपुरतर्फको सवारी आगमन ठप्प भएको छ । भक्तपुरबाट थिमितर्फ एकतर्फी खुला भए पनि भक्तपुरतर्फ जाने सडक बन्द हुँदा सवारी साधनको जाम कौशलटारसम्म पुगेको छ ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.