www.tandavnews.com
Fact ~ In search of truth

‘पुस्तक उपहार दिएको छैन’

पोखरा
ताण्डव न्यूज ।

सिक्लेस गाउँमा जन्मेका तीर्थ गुरुङ पेशाले एक सामान्य शिक्षक हुन् ।

संरक्षण कविता आन्दोलनमा पनि सरिक भैसकेका गुरुङको पहिलो उपन्यास ‘पाठशाला’ बजारमा छ । पाठशाला विशेषतः किशोरहरूका विषयमा उनीहरूकै लवजमा कथिएको कथा भए पनि अन्य उमेर समूहले पनि उतिकै रुचाएको पाइएको छ ।

Batas

गुरुङसँग गरिएको पुस्तक संवाद :

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

म आख्यान र गैर आख्यान दुइटै पुस्तक पढ्न रुचाउँछु । कुनै पनि किताब जस्ले मलाई नौलो अनुभूति दिओस, रन्थनाओस् ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले म एकैपटक नारायण ढकालको उपन्यास ‘हजार माइलको बाटो’ डेविड ग्रोसमेनको ‘अ हर्स वाक्स इन्टु अ बार’ र सल्मान रुश्दीको मेमोयर ‘जोसेफ एन्टन’ पढिरहेको छु ।

जीवनमा पुस्तकको महत्व कत्तिको हुन्छ ?

यो कुनै कवि लेखकलाई सोधिने प्रश्न नै हैन । किताब बिना पनि जीवन चल्छ तर जीवनका विभिन्न आयामहरू बुझ्न, व्यक्तिमा परिवर्तन ल्याउन वा आपूm र जगत कुन अवस्थामा छन् भनेर बुझ्न किताबले ठूलो भूमिका खेलेको हुन्छ ।

तपाईलाई मन परेको पुस्तक ?

थुप्रै छन्, महाभारत, क्राइम एन्ड पनिश्मेन्ट, वान हन्ड्रेड यियर्स अफ सलिच्युड, क्याचर इन द ¥याइ, मिडनाइट चिल्ड्रेन, आउटसाइडर, माइ नेम इज रेड, काप्mका अन द सोर, स्यापिन्स, शिरिषको पूmल, पागल वस्ती, लक्ष्मी निवन्ध संग्रह, घुम्ने मेचमाथि अन्धो मान्छे, शोकमग्न यात्री, मस्तिष्कहरूको मृत्यु आदि ।

मन नपरेको पुस्तक पनि होला नि ?

छन्, तर मैले नबुझेर वा मेरो रुचिका नभएपनि अरुलाई मन परेका हुनसक्छ । त्यसैले त्यस्ता किताबको नाम लिँदा अन्याय हुनसक्छ ।
उपहार दिँदा कस्ता पुस्तक दिनुहुन्छ ?

खासै दिएको छैन । केटाकेटीलाई दिन प¥यो भने कुनै क्लास्सिक, कुनै सेल्फ हेल्पका किताब वा जीवनी÷आत्मजीवनी दिन मन लाग्छ । साथीहरूको सवालमा मलाई के लाग्छ भने मैले दिन चाहेको किताब उपहार पाउनेले पहिला नै पढिसकेको पो छ कि जस्तो लाग्छ ।

नेपालका उत्कृष्ट ५ लेखक को—को लाग्छन् तपाईंलाई ?

दिवँगतहरूमा लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने, पारिजात, वी पी कोइराला र भैरव अर्याल । जीवितहरूमा पाँच जनाको मात्र नाम भन्न गाह्रो छ । तर पनि म ध्रुवचन्द्र गौतम, सरुभक्त, नारायण ढकाल, कुमार नगरकोटी, खगेन्द्र सँग्रौला र अरु पनि धेरैलाई रुचाउँछु र अचानक ब्रजेश खनाल पनि मन पर्न थालेको छ ।

तपाईंको आयको कति खर्च किताबका निम्ति गर्नुहुन्छ ?

अहिले किताबमा खासै खर्च छैन्, मैले काम गर्ने अल्फा बोर्डिङको पुस्तकालयको निम्ति म आपैm बजारमा आएका किताबहरू छान्छु र तिनै पढ्छु ।

केटाकेटी हुँदा घरमा कस्ता किताब थिए ?

थिएन, केही पनि थिएन । तीन चार तिर पढ्ने बेलामा थप पढिए त्यही ठूलो वर्णमाला थियो । नौ कक्षामा पुगेपछि मात्र कोर्स बाहिरका किताबहरूसँग जम्काभेट भएको हो ।

नयाँ पुस्तालाई किताबतिर कसरी तान्ने ?

नयाँ प्रविधि खास गरेर टेलिभिजनको उपस्थिति र इन्टरनेटको दबदबा भैरहेको बेलामा हामी कहाँ आँशिक रुपमा भए पनि पठन संस्कृतिले बल्ल टाउको उठाउन पाएको छ, यसलाई राम्रो लक्षण भन्न सकिन्छ ।

रुन्चे साहित्य मात्र हैन, नयाँ पुस्ताले सामना गरिरहनु परेको समस्या र उपलब्धिमाथि पनि किताब लेखेर÷लेखाइएर उनीहरूलाई किताबतिर आकर्षित गर्न सकिन्छ जस्तो लाग्छ ।

प्रस्तुति : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.