www.tandavnews.com
Fact ~ In search of truth

हामी हराइसकेका छैनौँ : ब्रो-सिस ब्यान्ड

उमा विक
पोखरा, ताण्डव न्यूज ।

‘बस सुन्दरी ठन्डी महिना जाडो छ, ए रातो नि गाला चाउरी परेछ’, ‘नबोले नि माया लाग्ने रहिछ सान्नानी, दिलको कसम दिलैमा नत्र ज्यान जानी चाइना, कम्पनी चाइना कम्पनी ।

एक समय निकै चर्चा पाएका यी गीत अहिले पनि प्रायः सबैको मुखमा सजिलै झुन्डिने गीत हो । आजको दिनमा पनि बच्चादेखि, वयस्कसम्मका उमेर समूहले यो गीतलाई उत्तिकै मन पराउँछन्, माया गर्छन् । जसरी यी गीत आज पनि श्रोता माझ चर्चामा छ । त्यसरी नै ब्यान्ड भने अपरिचित जस्तै बनेको छ । कतिलाई यो गीत कसले गाएको र कुन ब्यान्डको हो भन्ने नै थाहा छैन ।

Batas

माथि उल्लिखित गीत पोखरेली ब्यान्ड ब्रो–सिसको हो । विगत लामो समयदेखि ब्यान्डको नयाँ गीतहरु सुन्नमा आउन छाडेपछि ब्यान्डको परिचय बिल्लिदै जान थालेको छ ।

‘हरायो भनेर नसोच्नुस्, हामी हराइसकेका छैनौँ’, ब्रो–सिस ब्यान्डका ब्यान्ड मेम्बर तथा भोकलिस्ट प्रकाश रानामगर भन्छन् । छिट्टै दर्शक श्रोताको चाहना अनुसारको गीत लिएर सङ्गीतप्रेमी माझ आउने सोच रहेको प्रकाशले बताए ।

‘सहन सके कहन सकिन्छ भन्ने भनाइ छ, त्यसैले हाम्रो यो ग्यापलाई सहिदिनुस् हामी छिट्टै साङ्गीतिक कोसेलीसहित फर्किनेछांै’ उनले भने ।
नयाँबजारमा रहेको अभियान युवा क्लबले जुराइदिएको मित्रतालाई स्थापित गराउनलाई ब्रदर नामबाट सुरु भएको ब्यान्ड पछि दिदीबहिनीहरु पनि क्लबमा रहेकाले ब्रदर सिस्टर राखिएको थियो ।

‘अभियान युवा क्लबमा हामी हालको ब्रो –सिस ब्यान्डका सदस्य थियौँ, क्लबमा रहँदा हामीले विविध सांस्कृतिक कार्यक्रमहरु गथ्र्याैं, क्लबका सदस्यहरु दीपु गुरुङ, महेश गुरुङ, ओमप्रकाश गुरुङ, दिनेश परियार र म प्रकाश रानामगर मिलेर हामीले ब्रदर नामको ब्यान्ड खोल्यौँ, तर क्लबमा हामीलाई हरेक कार्यक्रम तथा सामाजिक काम गर्दा धेरै दिदीबहिनीले हामीलाई ब्याक सपोर्ट गर्नुहुन्थ्यो,’ प्रकाशले सुरुआतको क्षण सुनाए, ‘उहाँहरुको भूमिका हाम्रो ब्यान्डका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा अत्यन्तै महत्त्वपूर्ण थियो, त्यसैले हामीले ब्याण्डको नाम ब्रदर सिस्टर राख्यौँ तर पछि नाम लामो भएपछि यसलाई छोट््याएर ब्रो –सिस ब्यान्ड राखेका हौँ ।’

यो ब्यान्ड अहिले भने अवशेषको रुपमा मात्र छ । ब्यान्ड राम्रै चलेको थियो । सङ्गीतबाट पेट पाल्ने बाटो नदेखेपछि यसका मेम्बरहरु कोही विदेश त कोही रोजगार गर्नतर्फ लागे ।

‘देशमा कलाकारलाई साथ सर्पोट सरकारबाट छैन, रोजगारी छैन भविष्यका लागि सोच्नुपर्ने बाध्यता आएपछि साथीहरु पलायन भए ।’ उनले सुनाए, ‘म आफैँ पनि ५ वर्ष विदेशी भूमिमा बसेर फर्के । नाम छ, दाम छैन, देश मै बसेर केही गरौँ भन्ने त थियो नि तर के गर्ने नविदेशीएसम्म भविष्य बनाउन गाह्रो छ हाम्रो देशमा ।’

अहिले ब्यान्ड सदस्य परदेशमै छन् । प्रकाश एक्लै नेपालमा छन् । यसले गर्दा पनि यो ब्यान्डका नयाँ गीत बजारमा आउन सकेको छैन । प्रकाशको सोंच छ कि साथीहरु स्वदेश फर्किए लगत्तै प्रोग्राम गर्ने ।

झण्डै २९/३० वर्षको सङगीत क्षेत्रको अनुभव सुनाउँदै प्रकाशले भने ,‘ सङ्गीत एउटा मोह हो लत हो । हाम्रो पालामा सङ्गीतबाटै बाँच्न गाह्रो थियो । हामीले आफ्नै पकेटबाट पैसा हालेर गीतहरु निकाल्यौँ ।’

सङ्गीतमा प्रकाशको रुचि 

प्रकाश स्कुल बढ्ने बच्चै उमेरदेखि नै गीत सङ्गीत गाउने गर्थे । प्रकाशले विगत सम्झिए , ‘स्कुल लेभलदेखि नै म खुबै गीत गाउँथे, कक्षा १० मा पढ्दा कक्षा कोठामा बसेर म र मेरो एउटा कुमार गुरुङ भन्ने साथी थियो, हामी मिलेर टेबुल बजाएर गीत गाएथ्यौँ, त्यतिबेला स्कुलका सबै विद्यार्थी हाम्रो कक्षाकोठाको झ्यालमा आएर हामीलाई हेर्थे ।’

गीतार बोकेर गीत गाउँदै हिँड्दाको रमाइलो उनले महसुस गरेका छन् । कतिले त उनलाई गाइने भनेर हाँसोको पात्रसमेत बनाए ।

थोत्रो गाला बजाएर के गरिखान्छस् भन्दै बा आमाले गाली पनि गर्थे । तर प्रकाशलाई कहिल्यै यस्ता कुराले निराश बनाएन । कलामा विश्वास गरे ब्यान्डमै लागि परे । ‘तर जब हामीले पहिलो एल्बम ‘बस सुन्दरी’ ग¥याँै । गीतले निकै चर्चा पायो पछि बा आमाले बुझ्नुभो । म र मेरो ब्यान्डलाई सम्मान दिन थाल्नुभो, सर्पोट गर्न थाल्नुभो,’ उनले सङ्घर्षका दिन सम्झिए ।

ब्यान्डलाई लामो समयसम्मका लागि लैजान ब्यान्ड मेम्बर बीच एक आपसमा निःस्वार्थ प्रेम आवश्यक रहेको प्रकाश बताउँछन् । पछिल्लो समय ब्यान्ड टुट्नुको कारण भोकलिष्टलाई मात्र प्राथमिकतामा राख्ने र ब्याकअपका म्युजिसियनलाई छायाँमा राख्नु रहेको उनको विश्लेषण छ । ‘एउटा गीत ब्यान्डले बनाउँछ, चर्चा कमाउँछ गीतले, अनि प्रोग्रामका लागि भोकलिष्ट मात्र देश विदेश घुम्छ यसले ब्याकअप मेम्बरको कला छायाँमा पर्छ त्यसैले ब्यान्ड टुट्छ,’ उनले भने ।

पछिल्लो समय पप सङ, रक ब्यान्डको बहानामा जे पायो त्यही गीत रिलिज भइरहेको उनको भनाइ छ । प्रकाशले यसतर्फ सचेत गराउँदै भने,‘ अहिले विकृति पनि छ गीत बनाउने बहानामा जस्तो पायो त्यस्तै शब्दको प्रयोग भइरहेको छ, शब्द चयनमा ध्यानदिनुपर्छ ।’

सङ्गीतले मान्छे मात्र होइन देशलाई पनि चिनाउँने हुँदा सरकारले सङ्गीत क्षेत्रमा सक्दो लगानी गर्नुपर्ने उनी सुझाउँछन् । उनले थपे, ‘हाम्रा गीतहरु नराम्रा छैनन्, पौराणिक, संस्कृति संस्कार छ, हाम्रा वाद्यवादन अन्य देशको तुलनामा फरक छन् । तर तिनै वाद्य वादन दिनदिनै हराउँदै गइरहेको छ । तिनलाई संरक्षण गर्न तर्फ सरकार लाग्नुपर्छ ।’

ब्यान्डले जापान, हङकङ, दुबई, कतार, दार्जिलिङ लगायत विदेशी भूमि र देशका प्रायः जिल्लामा आफ्नो प्रस्तुति राखिसकेको छ ।

एकल गीतको तयारी 

प्रकाशले एकल गीत सार्वजनिक गर्ने तयारी गरेको जनाए । ‘महेन्द्र वीरव्रिकम शाहले लेख्नुभएको शब्दसहित राजेन्द्र अधिकारीको शब्द सङ्कलन र प्रकाश रानामगरको आफ्नै सङ्गीतमा पर्यटन सम्बन्धी राष्ट्रिय गीत रारा ताल छिट्टेै बजारमा आउनेछ’ प्रकाशले सुनाए ।

गीतको शब्द यस्तो छ, ‘मेरो देशको माटोमा, विशाल सुन्दर ताल, त्यसैे होलान् सबै छन् मोहित दुनियाँ सारा, रारा हौ कि अप्सरा ।

प्रकाशले नेपाली चलचित्रको निर्देशक पनि हुन् । उनले चलचित्र माया गर्नेलाई माया नमार, लभ इन पोखरामा निर्देशन गरिसकेका छन् भने

उनकै निर्देशनमा बनेको चलचित्र गिफ्ट प्रर्दशनीको तयारीमा छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.