www.tandavnews.com
Fact ~ In search of truth

पुतलीले दिएको परिचय

उमा विक
पोखरा, ताण्डव न्यूज ।

विन्ध्यवासिनी मन्दिरभन्दा अल्लि माथि । पोखरा नजिकैको बस्ती लामा गाउँको जगंलभित्र एउटा सानो घर । एउटा मात्रै कोठा रहेको सानो घरभित्र साधारण काठको ओछ्यान । ओछ्यानमा सुतिरहेका एक बृद्ध । सेतै कपाल, सेतै दारी । एक विदेशी नागरिक ।

कोठाभित्र एउटा टेबल छ । टेबलमाथि दुई वटा पुराना ल्पापटप, पुस्तकले भरिएको दुई वटा ¥याक, भित्तामा लस्कर लाएर झुण्ड्याइएका ग्रिटिङ कार्ड ।

Batas

यस्तो सानो कोठामा बस्ने अशक्त ती ८२ वर्षीय वृद्ध हुन् बेलायतका कलिङ स्मिथ । सामान्य देखिने तर असामान्य काम गरेका स्मिथ ‘पुतली बाजे’ उपनामले अझ परिचित छन् । उनी कलिङ स्मिथ भन्दा पुतली बाजे भनेर सम्बोधन गरेको मन पराउँछन् ।

सुख विलासको सहर बेलायतमा जन्मे, हुर्केका स्मिथलाई त्यहाँ बसेर सुख विलास भोग गर्नुभन्दा नेपालमा बसेर नेपालीसँग दुःख साट्नु उचित लाग्योे । त्यही भएर ३० वर्षको उमेरमै उनी नेपाल हानिए ।

पुतली बाजेलाई नेपालका सुन्दर हिमाल, पहाड, हावापानी, वातावरण र स्वच्छ मनका नेपालीको चोखो मायाले तान्यो त्यसैले पनि नेपाल आएपछि उनी आफ्नो देश फर्कन चाहेनन् । पढाउने मिसन लिएर २०२२ सालमा युनाइटेड मिसनसँग नेपाल आएका स्मिथले गोरखामा बसेर थुप्रै नेपाली विद्यार्थीहरुलाई पढाए । त्यहाँ पढाउने क्रममा पोखराका मानिससँग उनको भेट भयो । उनीहरुले स्मिथलाई पोखरामा सरकारी स्कुल मात्र भएको सुनाए । तर स्मिथले प्राइभेट स्कुल खोल्न सल्लाह दिए ।

उनी सम्झन्छन् , ‘म युनाइटेड मिसनसँग नेपाल आएपनि मलाई नयाँ स्कुल स्थापित गर्ने इच्छा थियो ।’ स्मिथ र पोखराका केही साथी मिलेर पोखरामा प्राइभेट अर्थात् बोर्डिङ स्कुल खोल्ने तयारीमा जुटे । अहिलेको गण्डकी बोर्डिङ स्कुल, त्यो बेलामा नेपाली आर्दश विद्यालय थियो । सुरुवाती दिन सम्झिदैँ स्मिथ भन्छन्, ‘४ कक्षा मात्र थियो शिक्षक पनि ४ जना थियौँ । पोखराको गाउँगाउँबाट पढ्न आउने ६० जना विद्यार्थी थिए, ’उनी थप्छन्, ‘हामीले हरेक वर्ष एउटा–एउटा कक्षा थप्दै गयौँ । १० कक्षा सम्म पु¥यायौ ।’ गण्डकी बोर्डिङ स्कुलमा उनले २ वर्ष गणित र विज्ञान विषय पढाए ।

विश्वास नलाग्न सक्छ, पुतली बाजे भनेर चिनिने स्मिथले कुनै समय पूर्व प्रधामन्त्री बाबुराम भट्टराईलाई कक्षा नौ मा पढाएका थिए । नेपालका स्नायुरोग विशेषज्ञ चिकित्सक डा. उपेन्द्र देवकोटालाई पनि उनले पढाए । गोरखामा रहेर एक वर्ष पढाएपछि उनी फेरि पोखरा फर्केर पिएन क्यापसमा पनि पढाउन थालेका थिए । उनले पिएन क्याम्पसमा दुई वर्ष पढाए ।

पुतलीमा इन्ट्रेस्ट

स्मिथलाई त्यसै पुतली बाजे भनिएको होइन, उनले नेपाल आउनु भन्दा अघि बेलायतमै रहँदा पुतली सम्बन्धी अनुसन्धान गरेका रहेछन् ।

‘म बेलायतको सुविधा सम्पन्न देशमा हुर्के । म जन्मेको सहरमा पुतली देखिदैँन ।कलेज पढ्दा म मेरा साथीभाई मिलेर क्याम्पिङका लागि सहरबाट केही टाढा गयौँ, त्यहाँ मैले पुतली देखे,साहै्र राम्रो लाग्यो,’ उनले सम्झे, ‘क्याम्पिङमा मेरो एक जना मामा हुनुहुथ्यो, उहाँले पहिला नै पुतली देखेर छोप्नुभएको रहेछ । उहाँले मलाई पुतलीको बारेमा जानकारी दिनुभयो । त्यसपछि मलाई पनि यसमा इन्ट्रेस्ट बढ्यो ।’

मामाले उनलाई पुतली कसरी छोप्ने, छोपेर कहाँ राख्ने, छोप्न केके चाहिन्छ सबै कुरा सिकाइदिए । १९५० देखि १९५५ सम्म ५ वर्ष बेलायतमा आफ्नै देशको लागि पुतली सङ्कलन गरे । बेलायतमा पुतली देख्न मुस्किल थियो उनलाई कठिन अवश्य नै थियो । जब उनी नेपाल आए यहाँ रङ्गीचङ्गी पुतली प्रशस्त देखे तर यसको अध्ययन कसैले गरेको पाएनन् । ‘पहिलो पटक नेपालको लागि पुतली सङ्कलन र यसको अध्ययन मैले गरँे,’ उनले भने, ‘अरुले अध्ययन र सङ्कलन त गरे तर नेपालको लागि गरेनन् । उनीहरुले बाह्य देशका लागि मात्र गरे ।’

उनका अनुसार नेपालमा ६ सय प्रकारका पुतली छन् । उनले सङ्कलन गरेका पुतली पिएन क्याम्पसको सङ्ग्रहालयमा छन् ।

‘पोखरामा रहेको अन्तर्राष्ट्रिय हिमालय सङ्ग्रहालयमा पनि मैले पुतलीको काम गरे,’ उनले भने, ‘मैले त्रिभुवन विश्व विद्यालयको लागि ७ वर्ष ठेक्कामा पुतली सङ्कलन गरेको थिएँ ।’

नेपालको काम,बेलायतको दाम

पुतली बाजेले आफ्नो पूरा जीवन नेपालमा खर्चे त्यो पनि नेपालीका लागि । पुलती हराउँदै गइरहेको अवस्थामा पुतली बाजेले सङ्कलन गरेका पुतली भने देख्न पाइन्छ । नेपालका लागि यति ठुलो योगदान दिएका पुतली बाजे अहिले अशक्त अवस्थामा छन् । एक्लो जीवन बिताइरहेका पुतली बाजेको आय आर्जनको स्रोत पुतलीका बारेमा उनले लेखेका पुस्तक बिक्री बाहेक अन्य केही छैन । ‘पुस्तकबाट आउने थोरै रकम मात्र हो,’ उनी भन्छन् , ‘मेरो पुस्तकहरु पब्लिस गरेर थोरै पैसा मात्र पाउँछु ।’

उनी उनको देश बेलायतले दिने ३० प्रतिशत भत्ताले जीविका चलाइरहेका छन् त्यसैले खर्च टार्छन् ।

नेपालमा मर्न चाहन्छु

आधा जीवन नेपालमै बिताएका पुतली बाजे भन्छन् ,‘म नेपाल मै मर्न चाहन्छु, मेरो बाबा आमा पहिला नै बितिसक्नुभयो । बेलायतमा मेरो आफ्नो भन्ने कोही छैनन् । मेरो एउटा दाइ हुनुहुन्छ उहाँ पनि बेलायत छोडेर न्यूजिल्याण्ड बस्नुहुन्छ ।’

उनका इष्टमित्र अहिले नेपाली दाजुभाइ दिदी बहिनी हुन् । त्यसैले पनि उनले नेपालमै मर्ने चाहना राख्छन् । अहिले पुतली बाजेको दिन सुतेरै बित्छ । उनी हिँड्न अन्य काम गर्न नसक्ने अवस्थामा छन् ।

उनलाई भेट्न जानेलाई उठेर अभिवादन पनि गर्न नसक्ने अवस्थामा छन् । ओठ थर्थराउँदैे भन्छन् ‘म नेपाल बसेको ५२ वर्ष भयो । मलाई नेपाली भएर मर्न मन छ तर मलाई सरकारले नागरिकता दिएन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.