www.tandavnews.com
Fact ~ In search of truth

क्यानोनिङको मज्जा !

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

‘कल्चर, नेचर र एडभेन्चर’ यी तिन शब्द गण्डकी प्रदेशका माननीयहरुको ओठमा हमेशा झुण्डिरहन्छन्, कुनै मञ्चमा होस् वा फोन वार्तालापमा । हुनपनि प्रदेश समृद्धिको पहिलो आधारहरु भनेको यी विषयहरु नै हुन् जसले पर्यटनसँग परस्पर सम्बन्ध र सिधा सरोकार राख्छ । प्रायः पर्यटकहरु कल्चर र नेचरकै लागि पोखरा भित्रिने गरेको सरोकारवालहरुको भनाइ छ ।

त्यसो त कल्चर र नेचर हेर्नुका साथै एडभेन्चरकै लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको लस्कर लागेको उनीहरुको तर्क छ । मनसुन सुरु भए तापनि पारिलो घामका कारण पोखरा आसपासमा अत्याधिक गर्मी छ । पारिलो घामको अभ्यस्त नभइसकेका जोकोहीलाई पछिल्लो समय तापक्रम बढेसँगै अत्याएको छ गर्मीले ।

Batas

त्यही चर्को गर्मी छल्न एकथरी पङ्क्ति स्विमिङ पुल, तालतलैया र वन जङ्गलका छहारी खोज्दै हिँडिरहेका छन् भने अर्काे पङ्क्ति साहसिक खेलका लागि झरनामा टाँगिएको डोरीसँग पिरती साटिरहेका हुन्छन् ।

यतिबेला कास्कीको उत्तरी भेग माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङ (छाँगावरोहण) मा पुगरे अधिकांश पर्यटकहरुले गर्मी छलिरहेका छन् ।

सन् २०१४ सालबाट सुरु गरिएको उक्त क्यानोनिङमा पछिल्लो समय साहस र आँट देखाउने पर्यटकक पुग्ने गर्छन् । क्यानोनिङका सञ्चालक तथा युवा समाजसेवी राम गुरुङका अनुसार अमेरिकन क्यानोनिङ एकेडेमीका फाउन्डर रिच काल्र्सनसँग प्र्रशिक्षण लिएकामध्ये आठ जना अहिले पोखरा क्यानोनिङमै कार्यरत छन् ।

१० लाखबाट सुरु भएको क्यानोनिङको लागत पछिल्लो समय करोडभन्दा माथि पुगिसकेको गुरुङको भनाई छ । सिजन सुरु भएसँगै अहिले दैनिक सरदर १० जना क्यानोनिङ गर्न पुग्ने उनी बताउँछन् । ‘सुरुमा क्यानोनिङ त सुरु ग¥यौं । तर कति शुल्क लिने भन्ने नै थाहा भएन । जति दिए नि दिनुुस् भनेर चलायौं,’ उनी विगत सम्झिँदै भन्छन् ।

उनका अनुसार क्यानोनिङको प्रचार–प्रसार सँगै करिब ३० जना बास बस्न मिल्ने कोठा सहितको होटल सञ्चालन ल्याइएको छ । पहिलो पटक क्यानोनिङ गर्नेका लागि ४५ मिटरको सानो छहरा छ भने अनुभवी तथा प्रोफेसनलका लागि ७५ मिटर अग्लो प्राकृतिक छहरा रहेको छ । क्यानोनिङ गर्दा शारीरिक र मानसिक रुपमा तयार हुनै पर्ने गुरुङ सुझाउँछन् ।

‘प्याराग्लाइडिङ र ¥याफ्टिङजस्तो हुँदैन यो, सबै आफैं गर्नुपर्ने भएकाले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनैपर्छ,’ उनले भने । अहिलेसम्म त्यहाँ सात वर्षीय बालकदेखि ६५ वर्षको वृद्धाले समेत क्यानोनिङ गरेको उनी बताउँछन् । पछिल्लो समय क्यानोनिङ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको गुरुङ बताउँछन् ।

उनका अनुसार क्यानोनिङ गर्न चाहने पाहुनाहरुलाई विभिन्न प्याकेज सुविधा उपलब्ध गराइएको छ । खाना आवास र क्यानोनिङ सहित एक रातको लागि ४ हजार ९ सय प्रतिव्यक्ति निर्धारण गरिएको छ । भने क्यानोनिङको मात्र २ हजार ४ सय रुपैयाँ पर्छ । त्यस्तै बाह्य पर्यटकको हकमा भने ३९ डलर र प्याकेजमा ६९ डलर कायम गरिएको छ ।

कतिपय आन्तरिक पर्यटकहरु अरुले क्यानोनिङ गरेको नियाल्न र झरनासँग पिरती गाँस्न कुदी छहरा पुग्ने गर्दछन् । त्यो मनमोहक दृश्य र आफ्नो साहस प्रर्दशन गर्ने थलो मान्दै अन्तरआत्माबाटै आँट जुटाउँछन् अनि झरनामा टागिएको डोरीमा नझुन्डिइरहन सक्दैनन् । उदाहरणका लागि सबिता बराल छिन् । समाजसेवी बराल घलेल क्यानोनिङ गर्न नभई प्राकृतिक छटाहरु नियाल्न पुगेका थिए तर कुदी छहरामा टाँगिएको डोरीमा चचहुइ नखेली उनको मनले मानेन ।

उनी भन्छिन्, ‘क्योनोनिङ भनेको सुनेको थिए तर थाहा थिएन । बन्जिजम्प जस्तै होला भन्ने लाग्थ्यो तर फरक रहेछ, यो चाहिँ पानीको छहराबाट गर्नुपर्ने रैछ । क्यानोनङ गर्न भनेर आको थिएन धेरै भाइबहिनीहरुले गरेको देखेपछि म पनि हौसिए ।’ बरालले डराइडराइ क्यानोनिङ गरेको र जिन्दगीभर भुल्न नसकिने अविस्मरणीय क्षण बनेको बताइन् ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले क्यानोनिङ साहसिक खेल पर्यटनसँग जोडिने भएकाले प्रदेशको समृद्धिमा कतै न कतै टेवा पुग्ने बताउँछिन् । प्राकृतिक छहरामा खेलिने साहसिक खेलको प्रर्बद्धन गर्न स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउने वचनबद्ध छिन् गुरुङ ।

‘प्रदेशलाई समृद्धि तर्फ उन्मुख गराउने हो भने यस्तो खालको खेल पर्यटनको विकास अपरिहार्य छ,’ उनी भन्छिन्, ‘त्यसैले यस विषयमा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र म पनि यस प्रति प्रतिबद्ध छु ।’

तस्विर : प्रेम थापा

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.