www.tandavnews.com
Fact ~ In search of truth

अर्बपती विनोद चौधरीको उद्योगको दादागिरी

माधव भुसाल ‍
नवलपुर,ताण्डव न्यूज ।

नेपालका फोब्र्स लिस्टेड अर्बपति विनोद चौधरीको नवलपुरको देवचुली नगरपालिका–२, मा रहेको सिजी इन्डस्ट्रियल पार्कले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको पाइएको छ । पार्कको मन्दिर प्रवेशद्वार भित्र खोलाको सार्वजनिक जग्गामा दुई तले पक्की भवन निर्माण भइरहेको हो ।

भवन मात्रै होइन, प्रवेशद्वार नजिकको कर्कदह खोला पुरै अतिक्रमण गरेर बुद्धको मूर्ति राखिएको छ ।

Batas

मन्दिर परिसरमा कुण्ड भनिएकोमा फोहर पानी र हिलो जम्मा भएर दुर्गन्धित हुँदा समेत सफा गर्न व्यवस्थापन समितिले चासो लिएको छैन । पटक–पटक देवचुली नगरपालीकाले पत्रचार गरि नियम पालना गर्न निर्देशन दिएपनि सम्पत्तीकै आडमा चौधरीको उद्योगले अटेर गरेको हो ।

नगरपालिकाको पत्र

२०७४ साउन २१ गते देवचुली नगरपालिकाले उक्त पार्कको नाममा ६ बुँदे पत्र काटेको थियो ।

पत्रमा उल्लेखित बुँदाहरु यसप्रकार छन् :

बुँदा नं १

मन्दिरको प्रवेशद्वार भित्र पट्टी खोलाको सार्वजनिक जग्गामा दुई तले पक्की भवन निर्माण भइरहेको, त्यस क्षेत्रभित्रका सार्वजनिक जग्गा छुट्याउनुपर्ने र त्यस्तो जग्गामा बनेका जुनसुकै संरचना ६ महिना भित्र हटाउने ।

बुदा नं २

उक्त प्रवेशद्वार नजिक कर्कदह खोला पुरै अतिक्रमण गरि बुद्धको मुर्ति स्थापना भएको साथै उक्त खोलामा कुण्ड भनिएकोमा फोहर पानी र हिलो जम्मा भई दुर्गन्धित भएको । ईन्डष्ट्रियल पार्कको उत्तर तर्फबाट पार्क हुँदै वहने खोला, कुला तथा खेतबाट झर्ने झरनाको निकासको लागि पार्क भित्रका सार्वजनिक कुलोहरु तत्काल सफा गरी पानीको निकासको व्यवस्था मिलाउने ।

बुदा नं ३

उद्योगबाट निस्किएको ठूलो आयतनको रसायनिक पदार्थयूक्त पानी प्रशोधन नगरी सोझैँ खोलामा पठाइएको र यसबाट गन्ध प्रदुषण, रसायनिक प्रदुषण भई किसानको खेती विनास भएको, जमिन मुनिको पानीको श्रोत प्रदुषित भई इनारको पानी पिउन योग्य नभएको, फोहर पानी प्रशोधन केन्द्र चलाउने नगरिएको, उद्योगबाट निस्कने फोहर पानीलाई प्रशोधन पश्चात्त मात्र बाहिर पठाउने प्रबन्ध ६ महिना भित्र मिलाउने ।

बुँदा नं ४

उद्योगबाट ठूलो परिमाणमा निस्कने प्लाष्टिकजन्य र तेलजन्य फोहर जलाउने प्रविधि काम नचल्ने अवस्थामा रहेको, प्लाष्टिकजन्य र तेलजन्य लगायत हानिकारक ठोस फोहर उच्च तापक्रममा जलाउने, तताउने प्रबन्ध मिलाई हानिकारक ग्याँस उत्सर्जन नहुने कुरा सुनिश्चित गर्ने ।

बुँदा नं ५

पार्क भित्रको उत्तर, पूर्व र पश्चिम सिमानामा स्थानीयको जग्गासँग जोडिएर लगाइएको रुखहरुले स्थानीयको वालीनालीमा असर पारेकाले तत्काल उचित व्यवस्थापन गर्ने ।

बुँदा नं ६

स्थानीयवासीसँग समन्वयकालागि जनप्रतिनिधि सम्मिलित सी.जी प्रतिनिधि सहितको समन्वय समिति गरी सबै कार्य गर्ने ।

नगरापलिकाका कार्यकारी अधिकृत मानबहादुर खड्काद्वारा हस्ताक्षरित पत्रमा पुनश्च भनेर थपिएको छ ‘यस कार्यालयमा कानून बमोजिम बुझाउनुपर्ने त्यहाँ उद्योग परिसरमा रहेका विभिन्न उद्योगहरुको छुट्टाछुट्टै करहरु एवं जग्गा, भवनहरुको एकीकृत सम्पत्तिकर वक्यौता सहित भुक्तानी गर्न र त्यस परिसर भित्र रहेका घर, भवन, संरचनाहरुको नक्सापास गर्नु गराउनु हुन समेत यसै पत्रद्वारा अनुरोध छ ।

नगरपालिकाको पत्र अनुसार माघ २१ सम्म यि सबै बुँदा पालना हुनुपर्ने हो । तर ०७५ जेठ १० गतेसम्म बुँदामा उल्लिखित कामहरु भएको छैन् ।
यसबारे सिजी प्रशासनले पनि कुनै प्रक्रिया अघि बढाएको छैन । न त नगरपालिकाले नै एक्सन लिन सकेको छ ।

यस बिषयमा सि.जि. ईन्डष्ट्रियल पार्कका वरिष्ठ महाप्रबन्धक रामभक्त्त केसीलाई हामीले फोन सम्पर्क गर्दा प्रकृया अगाडि बढेको प्रतिक्रया दिएका छन् ।

के भन्छ नगरपालिका ?

देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले केही काम भएको जनाए ।

नगरले दिएको अल्टिमेटमा काम किन भएन ? भन्ने प्रश्नमा उनले भने ‘हामीले उद्योग प्रशासनलाई भनिरहेका छौं । केही काम भएका पनि छन् । हामीले फलोअप पत्र पनि काटिरहेका छौं ।’

चौधरी ग्रुपका मालिक विनोद नेपालका एकमात्र फोब्र्स लिस्टेड अर्बपति हुन् । उनी कांग्रेसबाट प्रतिनिधि सभामा समानुपातिक सांसद पनि छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.