www.tandavnews.com
Fact ~ In search of truth

दोधारा–चाँदनीः नेपालको लामो पुल

सुरज हजारे दाहाल

पुलको प्रमुख काम दुई ठाउँलाई एउटै सतह बनाएर जोड्नु हो । नदीले गल्छी बनाएको दुई भिर होस् अथवा पानी बिहिन गहिरा फाँटलाई पुलले जोड्ने काम गर्छ । तर केही पुलहरुले मानिस, जनावर र सवारी साधानलाई तार्ने काम बाहेक पर्यटकीय स्थलको रुपमा काम गर्छन् । पर्यटकीय गन्तव्यको रुपमा चर्चित दोधारा–चाँदनी पुल प्रदेश ७ स्थित महाकाली नदी पारीको महाकाली नगरपालिका अर्थात साबिकको चाँदनी गाविस र दोधारा गाविस जोड्ने नेपालको सबै भन्दा लामो पुल हो ।

१४५२ मिटर लामो यो पुल झोलुङ्गे पुल अन्तर्गत पर्छ भने गाडी गुड्ने नेपालको पक्की लामो पुल भने बर्दियाको कोठियाघाट पुल हो जसको लम्बाई १०१५ मिटर छ । नेपालमा रहेका सबै प्रकारका पुलहरु मध्ये चाँदनी दोधारा पुल नै सबैभन्दा लामो पुल हो । एसियाको समेत दोस्रो लामो झोलुङ्गे मानिएको यस पुल ९ करोड ४२ लाख ४१ हजार ९ सय ५६ रुपियाँको लागतमा विसं २०६१ बनेको थियो । पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर छ भने चौडाइ १.६ मिटर छ । पुलमा ३२.७ मिटर अग्ला ७ वटा टावरहरु रहेका छन् ।

Batas

कसैले महाकाली नदी नै नेपाल भारतको सिमा छुट्याउने क्षेत्र हो भन्छ भने ऊ गलत हुन्छ किनकी महाकाली नदी पारी चाँदनी र दोधारा नामक दुई गाउँहरु छन् । यि दुई गाउँसँगै बग्ने जोगी बुढा नदी पनि छ र नदी पछि फेरि केही नेपाली बस्ती आएपछि मात्र नेपालको सिमाना समाप्त हुन्छ । महेन्द्रनगरदेखि १२ किलोमिटरको दूरीमा रहेका दुई गाउँपालिका चाँदनी र दोधारामा करीब ८० हजार मानिसको बसोवास छ । लामो झोलुंगे पुल हेर्न देशविदेशबाट पर्यटकहरू आउने गरेका छन् ।

मानिस हिड्ने पुलमा सामान बोकेर मोटरसाइकल पनि गुड्न दिइएपछि पुल जिर्ण बन्दै गएको छ । यो पुल नभएको खण्डमा महाकाली पारीका बासिन्दा सामान किन्न भारतमा भरपर्नुपर्ने हुन्छ । पुल बन्नु अगाडि दोधारा चाँदनीका बासिन्दा सामान्य सिटामोलको लागि भारतको भरपर्नु पथ्र्याे । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट पुलसम्मको बाटो कच्ची भएकाले यथेष्ट मात्रामा पर्यटकलाई समेत आकर्षित गर्न सकेको छैन । हिँउदमा पुलमुनीबाट बस र ट्रक चलेता पनि वर्षा याममा भन्ने उर्लदो नदी माथि गाडी चल्न गाह्रो पर्छ । मोटरसाइकल भने पानीको बहाव कम हुने हिउँदमा पनि नदी कट्न सक्दैन । पुलको पारीबाट सूर्यास्तको दृश्य लोभलाग्दो देखिन्छ । महेन्द्रनगरको बसपार्क माथिको भागबाट ५० रुपैयाँमा टाटा म्याजिक गाडीले करिब २० मिनेटमा पुलसम्म पुर्याउँछ ।

२०६१ सालसम्म महेन्द्रनगरसँग नजोडिएका चाँदनी र दोधारा गाउँ पुलको निर्माणपछि भने विकसित हुन थालेका हुन् । पुलको निर्माणपछि हरेक सामानको लागि भारतीय बजारको भर पर्नु परेको छैन । २०२० को दशका मात्र यहाँ बस्ती बस्न शुरु भएको थियो । पुल नबन्दासम्म डुंगामा चढेर महेन्द्रनगरतर्फ मानिसहरु आउँथे तर असारदेखि भदौसम्म डुंगा चलाउन निकै गाह्रो हुने गर्दथ्यो । पुल बन्नु अगाडिसम्म सदरमुकाम आउनको लागि भारतीय बाटो भएर आउनु पर्दथ्यो तर २०६१ मा पुल बनेपछि महाकाली पारीको बस्तीमा काँचुली फेरिएको थियो ।

पुल बनेको १३ बर्षपछि यो जिर्ण बन्दै गइरहेको छ । भारी सामान सहित एकैसाथ धेरै मोटरसाइकलले पुल तर्दा तथा बेलाबेलामा पुलको नट्हरु नकस्दा नट्हरु खस्दै गएका छन् । धेरै ठाउँमा जालीहरु पनि च्यातिदै गएका छन् । पुलको वारीपारि नै ढुंगा र बालुवाको उत्खनन् तथा ओसारपसार पनि जारी रहेकोले पुल थप संकटमा परेको छ ।

यसरी पुग्ने :
पोखराबाट हरेक दिन १ः३० बजे महेन्द्रनगर जाने बस छुट्छ । उक्त बस भोलिपल्ट बिहान ८ बजेतिर महेन्द्रनगर बस पार्क पुग्छ । महेन्द्रनगरबाट बस पार्कबाट २० मिनेटको यात्रा पछि पुल आउँछ । प्रति यात्रु ५० रुपैयाँमा भाडाका टाटा म्याजिक गाडीहरु पुलसम्म पु¥याइदिन्छ । गाडी नपाए पनि निजि मोटरसाइकल चालकले एक सय रुपैयाँमा पुलसम्म पु¥याइदिन्छन् । पुल हेरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि घुम्न सकिन्छ । पोखराबाट पुल तथा निकुञ्जको सफारी गरि ५ दिन यात्राको सबै खर्च १५ हजार रुपैयाँ लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.