www.tandavnews.com
Fact ~ In search of truth

महिषपाल ‘चन्द्र’

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

हातमा पौरख हुनेहरु कर्ममा विश्वास गर्छन् र आफ्नो भाग्य आफैं कोर्छन् । यस्तै, उदाहरण मध्येकी एक हुन चन्द्र परियार, (३०) । पोखरा–लेखनाथ महानगरपालिका–२६, विजयपुर स्थित भेडीफारम एग्रो भिलेज प्रालि सञ्चालनमा ल्याएकी चन्द्र आफ्नै मिहनतमा रमाउन लागेको दशक भइसक्यो ।

पोखरा लेखनाथ महानगर–१४ निवासी उनले सात वर्ष जति रामबजारमै टेलरिङ पेसा सञ्चालन गरेकी थिइन् । झण्डैं दुई वर्ष भयो श्रीमान् विनोद परियारको प्रत्यक्ष सहयोगमा विजयपुरमा एग्रो भिलेज सञ्चालनमा ल्याएको । टेलरिङ पेसालाई चटक्कै माया मारेर कृषि पेसा अगाल्न खोज्नु आफैंमा प्रशंसनीय काम हो ।

Batas

‘हुन त कपडा सिलाएर नै दैनिक आम्दानी राम्रै थियो,’ उनले संघर्षको पोको फुकाइन्, ‘जब म फारममा काम गर्न अभ्यस्त हुँदै गए त्यसपछि टेलरिङलाई निरन्तरता दिन सकिन ।’

एकैपटकमा ठूलो लगानीबाट कृषि व्यवसायमा उदय भएकी चन्द्रले हालसम्म कुनै पनि निकायबाट कृषि अनुदान नपाएको गुनासो पोखिन् ।

करिव १८ रोपनी जग्गा दश वर्षका लागि भाडामा लिएर थालनी गरिएको एग्रो भिलेजमा हाल २७ वटा भैंसी छन् । सबैजसो भैंसीबाट दिनहुँ दूध उत्पादन भइरहेको छ । सामान्यतया दिनमै १ सय ५० लिटर दुध उत्पादन हुने गरेको चन्द्र बताउँछिन् ।

उनका अनुसार उत्पादित दूधको ६० लिटर जति फारमबाटै स्थानीय उपभोक्ताहरुलाई विक्री गर्ने गरिएको छ भने बाँकी दूधलाई बजारका विभिन्न ठाउँमा डेलिभरी गरिएको बताईन् ।

कुल जग्गाको क्षेत्रफलमा दुई वटा व्यवस्थित भैंसी गोठ बनाई बाँकी रहेको जग्गामा तरकारी खेती र जै घाँस उत्पादन गर्दै आएकी छन् । सिजन अनुसारको काउली, बन्दा, गोलभेंडा, जुगेनी फर्सी, केराउ, आलु, सिमी उत्पादन गरी बजारमा बिक्री गर्ने गरेकी छन् । त्यस्तै चन्द्रले बजारमा हुने बेमौसमी तरकारीको मागलाई ख्याल गर्दै घ्यू सिमी, मिटर बोडी, कांक्रो उत्पादन गरी नगद आम्दानी गर्ने गरेकी छन् ।

लेखनाथ क्षेत्रलाई हालसम्म पनि कृषिजन्य उत्पादनका लागि उर्वर भूमि मानिन्छ । चन्द्रको एग्रो भिलेजबाट गोबर मलको पनि राम्रो व्यवस्थापन हुने गरेको छ । जसले गर्दा अन्य कृषकहरुले आवश्यकता अनुसारको मल खरिद गर्न पाईरहेका छन् । रासायनिक मलको तुलनामा माटामा कम्पोष्ट मलले उर्वराशक्ति बचाइराख्ने भएकाले पनि किसानहरुले गोबर मलको प्रयोग गर्ने गरेको चन्द्र बताउँछिन् ।

काजीपोखरीको एउटा घडेरी बैंकमा धितो राखी २६ लाख ऋण झिकेर एग्रो भिलेजको स्थापना गरेकी चन्द्रको व्यवसायले अहिले सम्म आइपुग्दा ५० लाख भन्दा बढीको पँुजी आर्जन गरिसकेको छ । एग्रोबाट सरदर मासिक १ लाख ५० हजार आम्दानी हुने उनीले सुनाउँछिन् ।

दुई छोराकी आमा चन्द्रलाई किसान नै भएर गोबर सोर्हनुको पीडा अनुहारमा झल्किदैन् । श्रीमान् विनोद नेपाली प्रहरीमा जागिरे छन् । ‘आँट र हौसला त उहाँकै हो नी,’ उनी भन्छिन्, ‘उहाँले म सहयोग गर्छु तिमी व्यवस्थापन मात्रै गरे पुग्छ भन्नुभयो । त्यसपछि बल्ल फारमप्रति हौसिएकी हुँ’ कृषि उत्पादनमा पनि राम्रो आम्दानी सहित व्यवस्थित जीवनयापन गर्न सकिन्छ भन्ने उनको धारणा छ । उनी बाहेक दुई जनाले फाराममा रोजगारी पाइरहेका छन् ।

देशभित्र आर्थिकोपार्जन गर्ने उपाय नभएर युवा श्रमशक्ति विदेश गइरहेको तीतोसत्यलाई लत्याउँदै आफ्नै ठाउँमा कृषि उत्पादनमा जोड दिएकी चन्द्र आर्थिक पक्षको लागि हरेक उत्पादनलाई स्थानीयकरण गरिनुपर्ने बताउँछिन् । युवाहरुलाई कृषि उत्पादनमा जोड दिन र खेर गइरहेको श्रमश्रक्तिलाई स्वदेशमै उपयोग गर्नका लागि सरकारले लगानीको सुरक्षा दिनुपर्ने उनको भनाइ थियो ।

एकैपटकमा ठूलो लगानीबाट कृषि व्यवसायमा उदय भएकी चन्द्रले हालसम्म कुनै पनि निकायबाट कृषि अनुदान नपाएको गुनासो पोखिन् ।

सरकारको अनुदान नीतिले लोभ्याएर व्यवसायमा लगानी थप्दै गएकी चन्द्र सरकारको तर्फबाट पाउनुपर्ने अनुदान हालसम्म पनि पाउन नसकेकाले कृषकप्रति सरकारको नीति अनुदार रहेको प्रस्टाइन । प्रधानमन्त्री कृषि आधुनिकीकरण कोषमा दुई पटकसम्म प्रस्ताव पेस गरेपनि उनीले कुनै पनि सूचना पाउन सकेकी छैनन् ।

‘सरकारको कृषि अनुदान भनेको टाढाबाठा र पहुँचवालालाई रहेछ’ उनले लामो सुस्केरा फेर्दै भनिन् । आगामी दिनमा सहकारी संस्था वा कुनै वित्तिय संस्थाले आफूसँग सहकार्य गर्न चाहेमा हाल भइरहेको एग्रो भिलेजलाई थप वृहत बनाएर लैजाने योजनामा छिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.