www.tandavnews.com
Fact ~ In search of truth

चित्लाङ गाउँलाई एक फन्को

– सुरज हजारे दाहाल

चित्लाङ गाउँ प्रदेश नं ३ को मकवानपुर जिल्लामा अवस्थित छ । होमस्टेको लागि प्रख्यात यस गाउँमा सदाबहार चिसो हावा चल्छ भने बैशाख, जेठको उखरमउलो गर्मीमा पनि शितल रहन्छ ।

काठमाडौंदेखि दक्षिणमा अवस्थित यस ठाउँको उचाइ १७५० देखि २००० मिटर रहेको छ । पहाडी भेगको महाभारत पर्वत श्रृंखलामा पर्ने यो ठाउँ स्वस्थ्य वातावरणले पूर्ण छ । यसकै वरिपरिबाट पालुङ, हिउँ पर्ने दामन, इन्द्रसरोवर जस्तो देशको सबैभन्दा ठूलो मानव निर्मित ताल तथा सीमभञ्ज्याङको लजालु र मनमोहक दृश्य देखिन्छ । बाख्राको चिजको लागि पनि चित्लाङ नेपालकै नमूना गाउँ हो ।

Batas

परापूर्वकालमा लक्ष्मीप्रसाद देवकोटा चित्लाङमा रहँदा केही भारतीयहरु डोली चढेर पशुपतिनाथको दर्शन गर्न आएछन् अनि त्यसपछि उनले कुन मन्दिरमा जान्छौ यात्री नामक कविता रचना गरेको इतिहास छ । चित्लाङ जैविक विविधताले भरिपूर्ण छ ।

६० जातका अर्किड फूलहरु, चिराइतो, पाँच औंले, जतामसी, सुनाखरी, लालीगुराँस, मतलागिरी, मजिटो, पासनवेथ जस्ता फूल तथा जडिबुटीहरु यस हावापानीमा पाइन्छन् । फलफुलहरुमा नस्पती, भुई स्याउ, आरुबखरा जस्ता अमिला फलहरु फल्छन् ।

आरुबखरा तथा नस्पतीबाट वाइन तैयार पारेर निर्यात पनि गरिन्छ । बाखा्रको दूधबाट बनेको चिज राजधानीका महंगा होटलहरुमा बिक्री समेत गरिन्छ । सबै भन्दा गुलियो मुला पनि यहाँ पाइन्छ । हालै आएर यहाँ जैतुन अर्थात ओलिभको खेती पनि गरिएको छ ।

ओलिभबाट निकालिने तेल विश्वको सबैभन्दा महंगो तेल हो । काँचै समेत खान सकिने यो तेल सलादमा प्रयोग गर्ने गरिन्छ । यस्तै मृग, बँदेल, चितुवा, काठे भालु, भुइ भालु, दुम्सी जस्ता स्तनधारी जनवारहरु पनि यहाँ पाइन्छन् । इतिहासमा फर्कने हो भने चित्लाङको पहिलो नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकोले यसको नाम चैतलोङ थियो र पछि अपभ्रंस भएर चित्लाङ रहन गएको हो ।

२३ सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालिन चिनारीहरु प्रशस्त पाइन्छन् तलेजु भवानीको मन्दिरले पनि यस ठाउँलाई धार्मिक रुपमा प्रख्यात बनाएको छ । विशेषतः यस ठाउँमा नेवार जाती बढी पाइन्छन् ।

नेवारीमा पनि यो ठाँउ बलामी जातीको पुख्र्यौली बासस्थान हो । उनीहरुले बैशाख पञ्चमीमा कुल देवताको पुजा गर्ने गर्छन् । बाह्र बर्षे भैरवनाथ जात्रा, भैरव तथा महादेव जात्रा, ५०० वर्ष पुरानो कार्तिक नाच, खड्ग जात्रा र गोदावरी मेला चित्लाङका प्रसिद्ध पर्वहरु हुन् ।

भारतका अशोक राजा यहाँ आएर अशोका चैत्य बनाएका थिए । यस्तै उनकी छोरी चारुमती आउँदा अशोका बिहार पनि बनेको थियो । बोद्ध धर्मावलम्बीहरुको लागि पनि धार्मिक स्थल रहेको यँहा बैशाख पूर्णिमामा पनि ठूलो मेला लाग्ने गर्दछ ।

चित्लाङकै बाटो भएर पहिलो पटक काठमाडौंमा गाडी भित्राइएको थियो । तर त्यसरी गाडी भित्राइएको ६० वर्ष पछि मात्र त्यहाँ गाडी गुड्न थालेको थियो खेतीपाती तथा बस्तुपालन यिनीहरुको मूल पेशा हो । नेवारको अलावा यहाँ क्षेत्री, तामाङहरुको पनि बसोबास रहेको छ ।

नेवारी शैलिका पराम्परागत घरहरु सडक तथा डाँडामा लहरै लागेको देखिन्छ । नेवारहरुको बाहुल्य रहेको यस उपत्यकामा ग्रामिण पर्यटन अन्तर्गत होमस्टे पनि सुरु भएको छ । होमस्टेमा बसेर सफा वातावरणमा आरमदायी आवासको साथ मिठो भोजनको मजा लिन सकिन्छ ।

स्थानीय रुपमा फलाइएका तरकारीहरु, भुइ स्याउको सलाद, दही, मोही, लोकल कुखुराको मासुको परिकारहरुमा रमाउन सकिन्छ । गाँउ आसपास हाइकिङ गरेर, नस्पतीको वन तथा सात धाराको भ्रमण गर्न सकिन्छ । चित्लाङमा पालिएका दुधालु बाख्राको चिज अनि ट्राउट माछासँग पनि खाना खाना सकिन्छ ।

यसरी पुग्ने

पोखराबाट काठमाडौं जाने बसमा चढेर थानकोटमा ओर्लिएपछि बसमा १० मिनेटमा गोदाम भन्ने ठाउँ पुगिन्छ । गोदाममा ओर्लिएर ३ देखि ४ घण्टा हिंडेपछि चन्दागिरी पुगिन्छ ।

२ पटक खाना, २ पटक खाजा र एक रात सुतेको जम्मा १२ सय हो । ५ हजार रुपैयाँमा चित्लाङ पुगेर पोखरा फर्कन सकिन्छ ।

लेखकबाट थप

मार्फाली गाउँ र स्याउले बोलाइरहेछ…

दोधारा–चाँदनीः नेपालको लामो पुल

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.