www.tandavnews.com
Fact ~ In search of truth

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन ः कोइराला

चितवन, (रासस) ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । साेमबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए ।

कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताए । उनले भने, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।” सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उनले भने “पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ । जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।”

विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उनले बताए । एक वर्ष ११ महिना समय रहेको भन्दै उनले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे ।

फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको अाैल्याए । उनले भने, “नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो ।” डेढ वर्षअघि नै रेलको सर्वेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उनले दाबी गरे ।

कोइरालाले अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको बताए ।

उनले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिष्ट र २४ प्रतिशत काँग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा काँग्रेस नभएर कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप लगाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.