www.tandavnews.com
Fact ~ In search of truth

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

प्रकाश सिलवाल
काठमाडौँ (रासस)

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।

एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ ।

Batas

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिष्पर्धा गरी प्रतिनिधि निर्वाचित हुनुपर्ने छ । विगतमा एमालेले प्रतिनिधि निर्वाचन (चयन) को प्रणाली अभ्यास गर्दै आए पनि माओवादी केन्द्रमा आवधिक र नियमित महाधिवेशन÷अधिवेशन नभएकाले यस्तो अभ्यासको कार्यान्वयन भएको थिएन ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सम्पादनका क्रममा रहेको पार्टीको विधानलाई आज बसेको सचिवालयको छैटौँ बैठकले प्रकाशन गर्न अनुमति दिएकाले अब चाँडै विधान र नियमावली सार्वजनिक हुनेछ भन्दै सबै महाधिवेशन÷अधिवेशनमा निर्वाचित प्रतिनिधिले मात्र भाग लिन पाउने व्यवस्था गरिएको बताए । एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताबीच भएको बताइए पनि प्रतिनिधि चयनमा पराजित भएमा ती नेताले महाधिवेशनमा चुन्न र चुनिन पाउने छैनन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले पारित विधान र नियमावलीलाई प्रकाशन गर्ने र आधारभूत तहसम्मको एकतालाई एकता घोषणामा उल्लेख भएको अवधि तीन महिना (आगामी भदौ ३) भित्र पूरा गरिसक्ने गरी काम हुने महासचिव पौडेलले जानकारी दिए ।

एकतापछि प्रधानमन्त्री ओलीको छिमेकी चीन भ्रमण र अध्यक्ष दाहालको श्रीमतीको उपचारका लागि सिंगापुर भ्रमण तथा अन्य कार्यव्यस्तताले विधान र नियमावली पारितमा ढिलाइ हुँदा मातहतका कमिटीको एकताले गति लिन सकेको छैन । “तलको एकतामा अब ढिलाइ हुँदैन, शीर्ष नेताहरुको कार्यव्यस्तताले नभ्याइएको हो, हामी तीन महिनाभित्र सक्ने तयारीमै छौँ ।”

विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउनेछन् र पार्टीले कहाँ कहिले एकता गर्ने भन्ने कार्ययोजना तय गर्नेछ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कार्ययोजनाबारे आज छलफल शुरु भएको र आगामी बैठकले टुङ्गो लगाउने जानकारी दिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयका बारेमा अवगत गराएका थिए ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.