www.tandavnews.com
Fact ~ In search of truth

संरक्षण भएन दासढुङ्गा : जताततै प्लाष्टिक र फोहर, भाँचिएको गेट, मर्मत नभएका संरचना

भरतपुर ।

जताततै प्लाष्टिक र फोहर, भाँचिएको गेट, मर्मत नभएका संरचना । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न भए । “दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ”, काठमाडौँ जाने क्रममा मदन–आश्रितको दुर्घटनास्थल दासढुङ्गामा बस्नुभएका उनले भने , “सालिकसमेत संरक्षण हुन नसकेकामा दुःख लाग्यो ।” उनीसँगै आएका जनक अधिकारीले पनि उस्तै महसुस गरे ।

दासढुङ्गामा मदन–आश्रितको सालिक भएको स्थानको उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । प्रत्येक वर्ष जेठ ३ गते भव्य कार्यक्रमको आयोजना गर्ने गरिए पनि पार्क र सालिकको समेत संरक्षण हुनसकेको छैन ।

Batas

“हामी सधैँ मदन भण्डारीको चर्चा गर्छौँ । जेठ ३ गते सालिकमा फूलमाला चढाउँछौँ । वर्षभरि सुत्छौँ, अनि फेरि अर्को वर्ष त्यही प्रक्रिया दोहोरिन्छ । मदन भण्डारीको सम्झनामा यति मात्र भएको छ”, नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले भने , “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ ।” जनतासँग जोडेर काम गर्न सकेमात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए । दासढुङ्गालाई नेपालको राजनीतिको अध्ययन केन्द्र बनाउनुपर्नेमा ज्ञवालीको जोड छ ।

“दासढुङ्गा विश्वमा चर्चामा आएको नाम हो, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भने , “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ ।” संरक्षण नहुँदा दासढुङ्गा कुरूप बन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

“यो सडक भएर यात्रा गर्दा जोकोहीले पनि आहा भन्ने बनाउनुपर्छ”, उनले भने , “म आफँै वडाध्यक्ष भए पनि केही गर्न सकेको छैन ।” दासढुङ्गामा व्यवस्थित तारजालीको समेत व्यवस्था गर्न नसकिएको उनले बताए । कतिपय ट्रक त्यहीँ रोकेर चालकले मदन–आश्रितको सालिक नजिकै गएर खाना पकाएर खाने गरेको उनले बताए । उनले दासढुङ्गामा ऐतिहासिक संरचना निर्माण गरेर सबैलाई आकर्षित गर्नुपर्ने भन्दै सरकारको ध्यान केन्द्रित हुन नसकेको दुखेसो पोखे । प्रत्येक हप्ता स्थानीयस्तरबाट दासढुङ्गाको सरसफाइ गर्ने गरिए पनि एक÷दुई दिनमै उस्तै हुने गरेको उनको भनाइ छ ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले २५ वर्षसम्म दासढुङ्गामा केही पूर्वाधार निर्माणबाहेकका ठोस काम गर्न नसकिएको स्वीकार गरे । उनले अब गुरुयोजना निर्माण गरेर त्रिशूली र नारायणी नदीसँग जोडेर एकीकृत विकास गर्ने तयारी भइरहेको जानकारी दिए । उनले दासढुङ्गामा झोलुङ्गे र पक्की पुल निर्माण गरिएको बताए। पछिल्लो समय प्रदेश र केन्द्र सरकारले एकीकृत विकासका लागि चासो देखाएकाले छिट्टै दासढुङ्गाको मुहार फेरिनेमा उनको विश्वास छ ।

दासढुङ्गा घटनापश्चात पूर्व सांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन ।

मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले गुरुयोजना निर्माण गरेर दासढुङ्गाको विकास गर्न लागिएको बताए । दासढुङ्गामा मदन–आश्रित पार्क निर्माणका लागि करीब दुई बिघा जग्गा लिइएको छ । सो जग्गामा पार्क र नदीसँग जोडेर एकीकृत विकासका लागि गुरुयोजना निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ । विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको जिप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.