www.tandavnews.com
Fact ~ In search of truth

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

काठमाडौँ
मीना घोरसाइने

सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो ।

आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा गएका थिए । गत माघ २२ गते घाइते भएपछि उपचारार्थ उनि दुबईकै अस्पतालमा भर्ना भए । चिकित्सकले उनलाई बचाउन सकेनन् । माघ २३ गते बिहान निधनभएका मोचीको शव नेपाल ल्याउन भने भण्डै तीन महिना लाग्यो । उनको शव गत चैत ४ गते मात्रै नेपाल ल्याउन सकियो ।

Batas

क्षतिपूर्तिका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा भेटिएकी उनकी शोकाकुल श्रीमती राजकुमारी राम भन्छिन् , “शवसँगै कम्पनीले पठाएको मात्र रु चार हजारले किरिया खर्चसम्म पनि टरेन । कम्पनीले पहिलो महिनाको तलब पठाए पनि बाँकी महिनाको रकम अहिलेसम्म मेरो हातमा परेको छैन । पठाइएको छ भन्ने जवाफ मात्र पाएकी छुँ ।”

मोचीको मृत्युपछि सँगै काम गर्ने साथीबाट रकम उठाएर परिवारलाई पठाइएको भनिए पनि कहाँबाट कति पठाइएको हो भन्ने जानकारीसमेत परिवारसँग छैन । अहिले यो परिवार रकमकै लागि यताउति भौँतारिइरहेको छ । मृतककी जेठी छोरी लक्ष्मीकुमारी राम हाल १८ वर्षकी भइन् । उनले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नसमेत पाएकी छैनन् ।

त्यस्तै, १६ वर्षीया छोरी ताराकुमारी राम अहिले कक्षा ७ मा अध्ययनरत छिन् । ते¥ह वर्षीया अर्की छोरी मालाकुमारी हाल कक्षा २ मा पढ्छिन् । दुई छोरामध्ये देवकुमार राम ७ वर्ष र आशाकुमार राम ५ वर्षका भए । मृतकका दुवै छोरालाई अहिलेसम्म पनि विद्यालय भर्ना गरिएको छैन ।

“भाइ त म¥यो अब भाइका छोराछोरीको मात्र चिन्ता छ,” मृतकका दाजु बिन्दश्री मोचीले भने , “विदेश जाँदा साहुसँग लिएको रु एक लाख ४० हजारको ब्याजसमेत तिर्न सकिएको छैन ।” भाइको मृत्युपछि भाइको परिवारको जिम्मेवारी आफ्नो काँधमा थपिएको उनले बताए ।

खरले छाएको घरबाहेक जग्गा जमीनको नाममा मृतकको परिवारको केही छैन । परिवारमा छ छोराछोरी र श्रीमती छन् । नेपालमा रहँदा मजदुरी गरेरै परिवार धानिरहेकी मोची सप्तरीकै अपरिचित तुनाराम भन्ने व्यक्तिको माध्यमबाट रोजगारीका लागि दुबई पुगेका थिए ।

त्यस्तै, चितवन जिल्ला कठाइकी २० वर्षीया विपना चौधरीले कहिल्यै पनि सोचेकी थिइनन् श्रीमान्सँग सदाका लागि बिछोडिन्छु भन्ने । पाँच वर्षअघि मात्रै प्रेम विवाह गर्नुभएकी चौधरीका पति आशिष चौधरी विवाहपछि पोखरामा गई ग्रिलसम्बन्धी काम गरिरहेका थिए ।

उक्त कामबाट परिवार धान्न पुग्ने भए पनि साउदी अरबमा रहेका उनका काका आशारामले नेपालमा भन्दा विदेशमा राम्रो कमाइ हुने भनेपछि  उतै जाने सोच बनाइन् । काकाले पनि उतैबाट प्रवेशाज्ञा पठाइ दिए र उनि कतार गइन् । तर, काम गर्न गएको डेढ वर्षमै उनले ज्यान गुमाए ।

मृतकको दाबी रकम बुझ्न बोर्डमा आएकी मृतककी पत्नी चौधरीले भावुक बन्दै भनिन् , “उहाँ बित्नुभएको खबर पाएको अघिल्लो रात हाम्रो फोनमा कुरा भएको थियो । अचानक बिहान उहाँको मृत्यु भयो भन्ने फोन आउँदा ममाथि आकाशै खसे जस्तो भयो ।”

आशिषको २०७४ साल चैत १३ गते मृत्यु भएको थियो ।

वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२÷७३ मा महिला २४ र पुरुष ७८७ गरी जम्मा ८११ जनाको मृत्यु भयो । आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकअनुसार महिला १५ र पुरुष ५९३ गरी जम्मा ६०८ जनाको मृत्यु भएको देखिन्छ । मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन । आव २०७३÷७४ मा महिला १८ र पुरुष ७३८ गरी जम्मा ७५६ जनाको मृत्यु भएको थियो ।

आव २०७२÷७३ मा मुटुसम्बन्धी रोगका कारण १४८, आत्महत्याका कारण १०९, कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक मृत्यु २४१, सडक दुर्घटनाबाट १०३, हत्याबाट तीन, हृदयाघातबाट ९४ र अन्य कारणबाट २७ जनाको मृत्यु भएको थियो ।

आव २०७३÷७४ को तथ्याँकअनुसार मुटुसम्बन्धी रोगका कारण ६४, आत्महत्याका कारण ९०, कार्यस्थलमा दुर्घटनाबाट ६१, प्राकृतिक मृत्यु २५२, सडक दुर्घटनाबाट १२२, हत्याबाट एक, हृदयाघातका कारण ६४ र अन्य कारणबाट ८० जनाको मृत्यु भयो । चार व्यक्तिको मृत्यु अझै अनुसन्धानका क्रममा छन् भने १८ मृत्युबारे अझै जानकारी हुन सकेको छैन ।

मुटुसम्बन्धी रोगका कारण ५३, आत्महत्याका कारण ९९, कार्यस्थलमा दुर्घटनाबाट ४४, प्राकृतिक मृत्यु ९८, बिरामी भएर ४७, सडक दुर्घटनाबाट ९३, हत्याबाट एक, हृदयाघातका कारण ९४, अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले देखाउँछ । थप ३२ को मृत्यु अझै अनुसन्धानका क्रममा छन् ।

तथ्याँकअनुसार आव २०७२÷७३ मा जापानमा दुई, सिरियामा एक, तान्जानियामा एक, ओमानमा चार, कतारमा १२६, कुवेतमा ३१, दक्षिण कोरियामा १३, बहराइनमा आठ, मलेसियामा ३३७, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ५४ र साउदी अरेबियामा २२३ जनाको मृत्यु भयो । आव २०७३÷७४ मा इजिप्टमा एक, जापानमा चार, नाइजेरियामा एक, अफगानिस्तानमा १२, कतारमा चार, कुवेतमा १३, दक्षिण कोरियामा ११, नेपालमा एक, बहराइनमा छ, मलेसियामा २५४, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ४५ र साउदी अरेबियामा २५१ जनाको मृत्यु भएको थियो ।

आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले इजिप्टमा एक, भियतनाममा एक, जापानमा चार, कतारमा ९२, कुवेतमा १४, जर्मनीमा एक, टर्कीमा एक, दक्षिण कोरियामा १८, नेपालमा ३५, बहराइनमा सात, मलेसियामा २०९, संयुक्त अरब इमिरेट्समा ६९ र साउदी अरेबियामा १५५ जनाको मृत्यु देखाउँछ ।

वैदेशिक रोजगारीका क्रममा रोजगारीको करार अवधि नसकिइकनै नेपालमा बिदामा आउँदा मृत्यु हुनेको तथ्याँकसमेत बोर्डले राख्ने गरेको छ । अहिलेसम्म नेपालमै आएर मृत्यु भएपनि क्षतिपूर्ति बापतको दाबी रकम भने उपलब्ध गराउने गरिएको छैन । तर रकमका लागि भने २०७२ सालदेखि नै निवेदन पर्ने गरेको जानकारी बोर्डले दिएको छ ।

श्रम कार्यालयले रोजगारदाता कम्पनीबाहेक अन्य माध्यमबाट रोजगारीका लागि विदेश नजान बेला बेलामा सूचनासमेत प्रकाशन गर्ने गर्छ । आफू जाने कम्पनीबारे बुझ्दै नबुझी र सूचनाको ख्यालै नगरी रोजगारीका लागि युवा विदेशिने गरेका छन् ।

रोजगारदाता कम्पनीबाहेक अनधिकृत तवरले विदेश जानेहरु बढी दुर्घटनामा परेको घटना बाहिर आउने गरेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका सूचना अधिकारी पवित्रा घिमिरे खनालले बताए । “बोर्डले वैदेशिक रोजगारीमा जान इच्छुक श्रमिकका लागि तालीम दिने व्यवस्था गर्दै आएको भए पनि बिना तालीम नै उहाँहरु विदेश जानुहुन्छ,” उनले भने ।

विदेशी भूमिमा काम गर्न जाने जो कोहीले प्रथमतः आफ्नो पेशामा दक्षता हासिल गर्नुपर्छ भन्ने नीति सरकारले बनाइदिए पनि स्वयम् श्रमिकले नै त्यसको पालना गर्ने गरेका छैनन् ।

वैदेशिक रोजगारीमा गएका श्रमिकको आकस्मिक मृत्यु भएमा बोर्डले रु सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ । बोर्डले श्रम गर्न गएको समयावधि सकिएको एक वर्षपछिसम्म पनि मृतकको परिवारलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउँदै आएको छ ।
–––

(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.