www.tandavnews.com
Fact ~ In search of truth

धरान बजार र बुढा सुब्बा मन्दिर

सुरज हजारे दाहाल
पोखरा, ताण्डव न्यूज ।

गायिका सिन्धु मल्लको गीत ‘धरानको बजारमा माया बस्यो एकै नजरमा’ र गायक सबिन राईको गीत ‘गुँरासको फेद मुनि सम्झनाको छायाँमा’ रहेको वाक्य ‘आजै गइ बुढा सुब्बा लेखँुला बाँसैमा’ ले पूर्वको सहर धरान र धरान नजिकै रहेको बुढा सुब्बाको मन्दिरको महत्व दर्शाउँछ ।

धरान ः विसं २०४५ भदौ ५ गते आएको भूकम्पले धरानलाई लगभग ध्वस्त बनाएको थियो भने ११६ जनाको मृत्यु भएको थियो । सो भूकम्प पछि पुनः जर्मुराएको धरानमा भूकम्पमा मारिएकाको सम्झनामा क्लक टावरा निर्माण गरिएको छ । २३ मिटर अग्लो उक्त क्लक टावरमा चढेर एकैपटक ५० जनाले धरान बजारको अवलोकन गर्न सक्छन् ।

Batas

धरान बजारको प्रमुख केन्द्र बिन्दु भानुचोक हो । यहि चोकमा रहेको स्थानीय बस पार्कबाट धनकुटाको भेडेटार, हिले, पाख्रीबास तथा तेह्रथुमका पर्यटकीय गन्तव्य पुग्ने बस तथा जीपहरु छुट्छन् । पूर्व र पश्चिमबाट आएका लामा दूरीका बस पनि यहि भानुचोकमा रोकिन्छन् । पोखराको हावापानी र रहनसहनसँग मिल्ने धरान बजार राई र लिम्बु जातीका लाहुरेको सहर हो । शिक्षा र विकासमा समेत धरान पूर्वको अब्बल सहरमा गनिन्छ ।

बुढा सुब्बा मन्दिर
युवाहरुको माझ प्रेम सम्बन्ध प्रगाढ हुने भन्ने भनाइले बुढा सुब्बा मन्दिर चर्चित छ । त्यसो त देशका विभिन्न ठाउँबाट प्रेमीप्रेमीकाहरु आफ्नो नाम बाँसमा कुँद्न र बाँसको फेदमा ध्वजा बाध्न आउने गर्दछन् । हाल भने बाँसमा नाम कुद्न प्रतिबन्ध गरिएको छ ।

इतिहासमा लेखिए अनुसार बुढा सुब्बा मन्दिर विजयपुरको किराती अधिराज्यको एक भाग हो । अचम्मको कुरा के छ भने यस मन्दिरमा भाले कुखुराको मात्र बलि चल्छ भने बुढा सुब्बा मन्दिरसँगै रहेको उनकी बहिनी सुब्बिनीको मन्दिरमा भने पोथी कुखुराको मात्र बली चल्ने गरेको छ । भाकाल पूरा होस् भनी पंक्षी लिएर कैयन भक्तजनहरु आउने गरेका छन् ।

प्रेम र धर्मको अलवा बुढा सुब्बाको आफ्नै इतिहास छ । इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार विजयपुर किराती राज्यको राजधानी थियो र त्यहाँका राजा विजय नारायण राई थिए । तर केहि इतिहासविद् भने राजा विजय सेनको राज्यकालपछि मात्र विजयपुर नामनकण हुन गएको बताउँछन् ।

बुढासुब्बा को थिए भन्ने कुरा हालसम्म स्पष्ट छैन । कसैकसैले यसलाई बुद्धिकर्ण राईको र कसैले बुढासुब्बाको समाधि स्थल मानेका छन । यहाँको पूजारी मगर जातका व्यक्ति भएकाले यसलाई मगर भारदारको समाधि पनि मान्ने गरिन्छ । बुढा सुब्बा स्वयम् भगवान नभएर उनी केबल एक आम शिकारी थिए ।

बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले शिकार खेल्ने गर्दथे । एक दिन भुलवस उनीहरुले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । अनि त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएन । त्यसका कारण बुढा सुब्बाले शिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए ।

त्यसपछि बुढा सुब्बाले त्यहि ध्यान गरे जहाँ अहिले बुढा सुब्बाको मन्दिर रहेको छ भने छेउमै छ उनकी बहिनी सुब्बिनीको मन्दिर पनि । बुढासुब्बाको मन्दिरको रक्तपात पूर्ण इतिहास भए पनि आफ्नो भाकल र प्रेम तथा वैवाहिक सम्बन्ध बनाउन भक्तजनहरु यस बुढा सुब्बा मन्दिरमा देशका विभिन्न भेगबाट आउने गरेका छन् । बुढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्छ ।

उक्त दिन बुढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ आपतविपद र दुख विमार पर्दा बुढासुब्लाई सम्झिएर कुखुरा, सुंगुर आदि भाकल गरेमा मनोकामना सिद्ध हुन्छ भनेर यस स्थानमा किराँत धर्मावलम्बी मात्र नभएर अन्य मानिसहरूले समेत भाकल गर्ने र पशुवलि दिने गर्दछन् ।

यसरी पुग्ने
बुढा सुब्बा मन्दिर पोखराबाट धरानको बसमा गएर पुग्न सकिन्छ । हरेक दिन पोखराबाट अपरान्ह ४ः३० बजे बस छुट्छ । धरान बजार पुगेपछि त्यहाँबाट ट्याम्पु रिजर्भ गरेर १५ मिनेटको उकालीमा विजयपुरमा रहेको बुढा सुब्बा मन्दिर पुगिन्छ ।

धरान र आसपास घुम्न ५ दिनको यातायात, होटल र खानाको खर्च १५ हजार रुपैयाँ लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.