www.tandavnews.com
Fact ~ In search of truth

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

बेनी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ ।

ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आइसफल क्षेत्र समेटिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरि आइसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिमबहादुर कटुवालले बताए।

Batas

“अहिलेसम्म ओझेल परेको यो क्षेत्र सरकारको प्राथमिकतामा परेको छ, स्थानीयस्तरबाट भएका प्रयास सार्थक बन्दैछन् ”, उनले भने । रुइसे हुँदै धोलागिरि आइसफलसँगै सरकारले म्याग्दीकै घोरेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सूचीमा राखेको छ । पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्य सूचीमा राखेको छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ७ को सीमा क्षेत्रलाई समेटिएको रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र धौलागिरि र अन्नपूर्णक्षेत्रका हिमालको अवलोकनका लागि उत्तम मानिन्छ । सो मार्ग म्याग्दीबाट मुस्ताङ निस्कने वैकल्पिक नयाँ पदमार्गसमेत हो । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यूटावर निर्माण शुरु गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यअनुसार मन्त्रीस्तरको निर्णयबाट छनोट गरिएका १०० नयाँ पर्यटकीय गन्तव्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिश गरिएका हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दाबढी स्थान प्रस्तावित भएकोमध्ये मन्त्रालयले विभिन्न आधार तयार गरी छनोट गरेको हो ।

‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन र विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न शुरुआत गर्नेछ । नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारले रु ५० करोड छुट्याएको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.