www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकीय गन्तव्य बन्दै दुरलेक

बेनी । 

मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने हुँदा त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । समुद्री सतहदेखि तीन हजार छ मिटरभन्दा बढी उचाइमा रहेको दुरलेक डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ ।

दुरलेकले बागलुङको ताराखोला, रनसिङकिटेनी, पाण्डपखानी, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ । अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे, चुरेनलगायतका हिमशृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । यहाँ आन्तरिक पर्यटक बाक्लै रुपमा आउन थालेको रुमका वडाध्यक्ष नरबहादुर पुन बताउछन् ।

“प्रचारप्रसारको अभावमा दुरलेक ओझेलमा परेको छ, पर्यटकीय दृष्टिकोणले यो सम्भावनायुक्त ठाउँ हो,” उनले भने । हिउँदमा सडकमार्ग भएर रुम हुँदै घ्याङ्लेपानी तथा त्यहाँबाट झण्डै चारदेखि पाँच घण्टाको पैदल यात्रापछि दुरलेक पुग्न सकिन्छ । त्यहाँ फागुनदेखि जेठसम्म बढी मात्रामा आन्तरिक पर्यटक जाने गरेका छन् ।

दुरलेक नजिकैसम्म सडक बनाउनु आवश्यक छ । त्यहाँ व्यवस्थित पदमार्ग निर्माण गर्नुपर्छ । पर्यटकको अवलोकनका लागि भ्यूटावर निर्माण गर्ने योजना रहेको वडाध्यक्ष पुनले बताए। दुरलेक डाँडो लालीगुराँसका कारण समेत प्रख्यात छ । स्थानीयवासी ताराबहादुर रोका पर्यटन पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न सकेमा दुरलेकमा आन्तरिकसँगै बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउछन् । सो क्षेत्रमा स्थानीयवासीले गोठ राख्ने गरेका छन् ।

अधिभारादेखि रुमसम्म खनिएको सडकलाई बागलुङको तमान तथा रुम–खवाङ हुँदै ताराखोला जोड्न आवश्यक छ । बागलुङको ताराखोला, रनसिङकिटेनी र म्याग्दीको रुमका बासिन्दाले त्यहाँ गोरेटो बाटो निर्माण गरेका छन् । सो बाटोलाई अझ स्तरीय बनाउने योजना रहेको वडाध्यक्ष पुन बताउछन् ।

सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न त्यहाँ आन्तरिक पर्यटक जाने गरेका छन् । दुरलेकमा पाँचऔले, सतुवालगायतका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । त्यहाँ वनभोजका लागि जाने चलन छ । हिउँ पर्ने क्षेत्र भएकाले पर्यटकका लागि आश्रमस्थल, क्याम्पिङ साइट निर्माण तथा खानेपानी उपलब्ध गराउन आवश्यक छ । दुरलेकमा जाने पर्यटकलाई लक्ष्य गरी रुम र घ्याङ्लेपानीमा होमस्टे (घरबास)समेत सञ्चालन गर्न सकिन्छ । दुरलेकमा पूर्वाधार निर्माण गर्न पहल थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।-रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.