www.tandavnews.com
Fact ~ In search of truth

संघर्ष तर अर्थपूर्ण जीवन

पोखरा
विनिता सुनार/ताण्डव न्यूज । 

पोखराको सौन्दर्यसँग गासिएको पर्यायवाची नाम हो फेवाताल । यहाँ दिन मै कति स्वदेशी र विदेशी पर्यटकले डुङ्गामा सयर गर्छन् एकिन गर्न गाह्रो छ ।

पोखरा–६ डिहिकोपाटनकी मीना भुजेलले तालसँग नाता गाँसेको झण्डै दशक पुग्न लाग्यो । यो अवधिमा उनले हजारौं तीर्थयात्रीलाई मन्दिरसम्म पु¥याइन भने कतिलाई फेवातालको चौफेरो डुलाइन् । डुङ्गा खियाउनु उति साह्रो सजिलो कहाँ छ र ? ति गाह्रो र कष्ट उनको हातका नाडिमा प्रस्ट देखिन्थे ।

Batas

गुल्मीमा जन्मिएर तोपबहादुर भुजेलसँग विवाह भई पोखरा आएपछि श्रीमानकै पेसालाई साथ दिँदै डुङ्गा चलाउन थालिन् मीनाले । संघर्ष नै गरेजस्तो रत्तिभर पीडा महशुस हुँदैन् मीनालाई ‘कर्म न हो,’ उनी भन्छिन्, ‘दुई छोराछोरी छन् । उनीहरुको लालनपालन र पढाई लेखाई राम्रो स्कुलमा गराउनलाई पनि मैले बुढालाई पेसामा सहयोग गर्दै आएकी हुँ ।’

गृहणी मात्र भएर घरमै बसिरहन मनले मानेन् । केही गर्न आँटौ । लगानी गर्नै पर्ने । पैसाको खोलो बगाउनु पर्ने । लेकसाइडको ठाउँ खान बस्नै महँगो । पाहुना लाग्ने । गाउँघर तिरबाट पोखरा झर्दा साइना लगाएर आउनेलाई पनि आथित्य टक्रयाउनै पर्ने ।

श्रीमानको सिमित आम्दानीले थेग्न नसक्ने भएपछि बल कै काम भएपनि आँट गरिन् मीनाले । उसो त फेवातालमा मीना मात्रै एक्ली भने होइनन् । कोही पेट पाल्नै पर्ने बाध्यता त कोही बाउ बाजे हुँदै सम्हाल्नै पर्ने पुख्र्यौली पेसामा डुङ्गा चलाउने महिला पनि अरु छन् ।

आज भन्दा १२ वर्ष अघि सिलिण्डर ग्याँसको उति प्रयोग थिएन् । रानीवन दाउरा खोज्न जानुपर्ने । श्रीमान् दिनभरी डुङ्गा चलाएर घर फर्किदा खान्की तयार गर्नलाई आफैं अगाडि नसरी अर्को विकल्प थिएन मीनालाई ।

आफ्नै डुङ्गा थियो । यसो उसो सन्तुलन नमिलाएरै भएपनि सुरुका दिनहरुमा मीनाले डुङ्गालाई फेवा पार लगाएरै छाड्थिन् । कुनै हेक्का भएन । दाउरा खोज्न जाने आउने गर्दै गर्दा डुङ्गा खियाउँदा खियाउँदै यही पेसा बन्दैछ भन्ने । श्रीमानले पनि नगर भो भनेन् । दम्पत्तीको सहकार्यमा आर्थिक स्थिति केही सहज हुँदै जानु अनिवार्य शर्त थियो ।

ठूली छोरी बाह्र कक्षाको परीक्षा सिध्याएकी छन् । छोरो नौ कक्षामा पढ्दै छ । खनि खोर्सी गर्न पर्याप्त जमिन नै नभए पनि पोखराको ठाउँमा दैनिक हुने आम्दानीले बिहान बेलुकाको छाक टार्न सकस भने कहिल्यै नपरेको मीना बताउँछिन् ।

परिश्रमले नै मानिसको भाग्यको रेखा कोरिन्छ भन्ने कुरामा मीना दृढ देखिन्छन् । ‘फेवामा कति बेला पानीको तीव्र छालमा परिने पो होकी भन्ने सधैं सुर्ता त हुन्छ,’ केही सहज हुँदै मीना भन्छिन्, ‘आफ्नै पाखुरीको बल छन्जेल जस्ता सुुकै छाल आऊन डुङ्गा सन्तुलन गर्न सकिन्छ जस्तो लाग्छ ।’

विहान सबेरै उठेर छोरालाई खाना खुवाईवरी स्कुल पठाएपछि सधैँ झैँ ११ बजे बाराही घाटमा पुग्छिन् मीना । प्रकृतिले जैविकीय रुपमा नारी पुरुषलाई फरक–फरक रुप दिए पनि । पुरुष सरह महिलाले पनि जुनै पनि पेसा धान्न मुस्किल नहुने उनको तर्क छ ।

तर पनि सामाजिक आचरणलाई नियाल्दा मानिसहरुको चिन्तनलाई अझैं पनि परम्परागत डोरीले जगडिएको पाएकी छिन् मीनाले । ‘कोही–कोही यस्ता पनि भेन्टिछन् । ताल माथि महिलाले चलाउने डुङ्गामा कत्तिको भर हुने हो भन्छन्,’ उनी सुनाउँछिन्, ‘विदेशी पनि ढुक्क भएको पाउँदिन्, तर मलाई आफ्नो पाखुरीमा विश्वास छ ।’

वर्षा र हिउँदका केही दिनहरुमा चल्ने तीव्र बताससँगै आउने पानीका छालहरुले पनि मीनाले सुनेका गुनासाहरुलाई बिलिन बनाउँदै लगेको छ ।
तालमा अहिले आफ्नो नीजि तीन डुङ्गा छन् । सिजनअनुसारको आम्दानीमा पनि फरक पर्ने हुँदा अन्य डुङ्गा व्यवसायीको पनि डुङ्गा ठेक्कामा लिएर चलाउने गर्छिन् मीना । सबै दिनमा एकै किसिमको आम्दानी हुँदैन ।

राम्रै पालो प¥यो भने एउटै टिपमा पनि पाँच सय जति बचत भएको उनी सुनाउँछिन् । मन्दिरको टिपमा भने तीन सय भन्दा बेसी नबच्ने उनको भनाई छ ।

डुङ्गा चलाइरहँदा विदेशीहरु उनीलाई देखेर खुशी हुन्छन् । उनलाई राम्रोसँग अंग्रेजीमा कुरा गर्न आउँदैन् । कोही कोही कुरा गर्न खोज्छन् आफ्नो बारेमा सोध्न खोज्छन् ।

आफूले जवाफ फर्काउन नसक्दा हाँसेर टारिदिने गरेको उनी सुनाउँछिन् । ‘गाउँघरमा हुर्कियो । अहिलेको जस्तो अंग्रेजी पढाई हुने बोर्डिङ स्कुल थिएनन्,’ उनी भन्छिन्, ‘तर पनि सन्तुष्टि भएकै छ, आफ्नो पेसाप्रति मोह भएपछि साना तिना कुराले नरोक्ने रहेछ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.