www.tandavnews.com
Fact ~ In search of truth

बहसमै ‘बक्स अफिस र ई–टिकेटिङ’

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ले १६ करोड ग्रस कलेक्सन गरेर नेपाली इतिहासमै सबैभन्दा बढी कमाउने फिल्मको रुपमा स्थापित गरायो । सर्वाधिक चर्चामा रहेको फिल्म व्यावसायिक रुपमा अब्बल कहलियो ।

सोही वर्ष रिलिज भएको फिल्म ‘लुट–२’ ले पनि १० करोड हाराहारीको व्यापार ग¥यो । वर्ष २०७४ मा प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘कृ’ ले एक हप्तामै ५ करोड ग्रस विजनेश गरेको खबर बाहिरियो ।

Batas

यो ग्रस विजनेश निर्माताले आफ्नो फिल्मको बारेमा दिएको तथ्यांक हो । फिल्मले राम्रो व्यापार गरोस या लगानी डुबोस तर निर्माताको भनाईमा व्यापार आक्रमक मानिन्छ । गायक रामकृष्ण ढकालले गाएको गीत ‘यो त सब भन्ने कुरा त हो’ भनेझै फिल्मको व्यापार बाहिरिन्छ । यसअर्थमा फिल्मको सही व्यापारिक आँकडा आएको पाइदैन् ।

भ्रमको फिल्मको कमाई सुनाउनुपर्ने अवस्थामा अब सुधार आउने भएको छ । चलचित्र सम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस) लागू गरिने भएको छ । हलिउडमा ई–टिकटेकै आधारमा एजेन्सीले मिडियालाई तथ्य दिन्छ । भारतीय फिल्ममा पनि केही व्यक्तिकै सूचनाको आधारमा निर्भर हुनुपर्ने अवस्था छ ।

तर, नेपालमा यसको व्यवस्थापनको कदम चालेपनि इस्यु बिचमै गायब हुन्थ्यो । यो पटक भने चलचित्र विकास बोर्डमा दुई वर्षको लागि अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलले आठ महिनादेखि एक वर्षभित्रमा ई–टिकेटिङ र बक्स अफिस जसै लागू हुने घोषणा गरेकी छन् ।

पौडेलको घोषणासँगै फागुन १ गते सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बक्स अफिसको उद्घाटन गरेका छन् । बोर्डका अध्यक्षको सक्रियतामा बक्स अफिस लागू हुन लागेको जनाइएको छ । बक्स अफिस कार्यान्वय समितिका संयोजक नरेन्द्र महर्जनले अहिले सेन्टर सिनेमा म्यानेज्मेन्ट सिस्टम (ई–टिकेटिङ बक्स अफिस) सम्बन्धी सफ्ट्वयरको डेमो देखाउने काम भइरहेको ताण्डव साप्ताहिकसँग बताए । ‘सवभन्दा पहिलो कुरा यो सम्बन्धी हल सञ्चालकलाई बुझाउन पर्छ । मल्टिप्लेक्सहरुलाई त थाहा नै छ,’ उनले भने, ‘अन्य नर्मल सिनेमालाई प्रविधिको बारेमा जानकारी दिनु नै हालको काम भइरहेको छ ।’ उनले बक्स अफिस जडान गर्ने कम्पनी ‘ब्रेन डिजिट इट सोलुसन’ लाई निर्देशन भइरहेको जनाए ।

बक्स अफिस सिस्टम भने आगमी साउनदेखि लागू हुँदैछ । महर्जनका अनुसार साउन १ गतेदेखि राजधानीका सिनेमा हलहरुमा यो सिस्टम लागू गरिनेछ । ‘काठमाडौंमा फाइनल भइसकेपछि बल्ल मौफसलमा लागू गरिनेछ,’ उनले भने, ‘माघदेखि उपत्यका बाहिरका सिनेमा हलमा यो सिस्टम जडान हुनेछ ।’

उपत्यका बाहिरका सिनेमामा व्यवस्थापनमा समस्या हुँदा समय लाग्ने भएको उनले बताए । ‘कतिपय सानो सिनेमा हलहरुले हाडवेयर पनि किन्न नसक्ने अवस्था छ,’ उनले भने, ‘ सिट प्लान, देखि हरेक प्राविधिक कुराहरुको व्यवस्थापन हुनुपर्छ । हलहरुले हाडवेयर किनेर नेटवर्किङ गर्नुपर्छ । त्यसपछि बल्ल सफ्ट्वयर चलचित्र विकास बोर्डले अनुदान नै दिने हो ।’

चैत महिनामा हार्डवर्किङ, नेटवर्किङ सम्बन्धी माइनेटिङ गरेर बैशाखदेखि विभिन्न राजधानीका हलहरुमा ट्रायलमा जाने तयारी भएको महर्जनले जानकारी दिए । उनले नेपालका सबै हलमा उक्त सिस्टम लागू हुने बताए । ‘विस्तारै नेपालका सबै हलहरुमा लागू हुनेछ । मल्टिप्लेक्स हलमा त त्यस्तो केही गर्नै पर्दैन् । एउटा एपिआई भन्ने कोर्ड हुन्छ त्यसबाट तत्कालै लगइन गर्न मिल्छ,’ उनले भने, ‘जहाँ इटिकटिङ छैन् कागजको टिकट छ त्यहाँ सबभन्दा पहिला हाडवयर चाहिन्छ । टिकट पिन्टर लगायतका सामान भएपछि बोर्डले बल्ल सफटवेयर इन्स्टल गर्दिने हो ।’

चलचित्र वितरक र हल सञ्चालक कारणले बक्स अफिस लागू हुन नसकेको आलोचना हुँदै आएको थियो । पछिल्लो समय बक्स अफिसको बारेमा बहस चलिरहँदा यसको व्यवस्थापन हुन्छ कि हुँदैन भन्नेमा कतिपय फिल्मकर्मीहरु अन्यौलमै छन् । फिल्म निर्देशक घनश्याम लामिछाने बक्स अफिस लागू भए उद्योगकै लागि राम्रो हुने बताउँछन् ।

‘बक्स अफिस बन्न सके निर्मातालाई धेरै राम्रो हुन्थ्यो तर, बन्छ कि बन्दैन त्यसैमा शंका छ,’ उनले भने, ‘लागू भए धेरै सजिलो हुन्थ्यो । कमिसन खाने, भित्री टिकट विकाउने जस्तो समस्या हुने थिएन । चुहावट रोकिने थियो ।’ फिल्मको कमाई यतिभयो भनेर हलबाट कागजमा कमाईको लिस्ट दिने सिस्टम बक्स अफिस लागू भएपछि व्यवस्थित हुने उनले जनाए । ‘हरेक फिल्मको सो सकिने बित्तिकै त्यसको डिटेल जानकारी पाइन्छ,’ उनले भने, ‘छिटो छरितो पनि हुन्छ, सिस्टम व्यवस्थित पनि हो ।’ पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरुमा यो प्रणाली लागू गरिए पनि पूराना हलमा भने ‘ई–टिकेटिङ’ को व्यवस्था अझै नभएको उनले सुनाए ।

मिड टाउन सिनेमाज पोखराका प्रोपटी म्यानेजर विवेक श्रेष्ठले बक्स अफिस लागू हुनुभन्दा पहिल्यै फर्मेटमै रहेको बताए । ‘हामीले ई–टिकेटिङ लागू गरिएको छ,’ उनले भने, ‘बक्स अफिसकै फर्मेटमा सुचारु गरिएको छ । के कति रकम कमायो भन्ने बारे एपीआई लगइन गरे जानकारी लिन सकिन्छ ।’

के हो बक्स अफिस ?

बक्स अफिसलाई वास्तविक कमाइको विवरण देखाउने प्रणाली भनिन्छ । कुन सिनेमाले कति कलेक्सन ग¥यो ,वर्षभरी कुन सिनेमा सफल रह्यो । यसको डाटा सेन्ट्रल सर्भरमा संकलन हुने प्रविधिलाई बक्स अफिस भनिन्छ । मानिसले यत्तिकै पनि मेरो सिनेमा यति करोड कमायो भन्ने व्यक्ति विशेष हुन्थ्यो अब त्यो डाटाबाटै थाहा हुनेछ । यसबाट दुईटै पक्षलाई फाइदा हुन्छ ।

एउटा निर्माताले आफ्नौ फिल्मले कति कमायो भन्ने रेर्कडको लिन मिल्छ । अर्को सिनेमा थिएटरका सञ्चालकहरुलाई हलबाट कति टिकट गयो, के अवस्था छ भन्ने कुरा जहाँ कहि बसेर पनि हेर्न सकिन्छ । फिल्मको आम्दानी पारदर्शी हुने भएकोले कसैले पनि कर छल्न पाउनेछैन् । यसले गर्दा सिनेमा क्षेत्रले न्याय पाउनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.