www.tandavnews.com
Fact ~ In search of truth

चर्चित कृतिका फ्लप नेपाली फिल्म

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज

अन्तर्राष्ट्रिय स्तरमा कृतिहरुको फिल्म बनाउने प्रतिस्पर्धा भएपनि नेपालमा कृतिमा फिल्म कम बनेको छन् । साहित्यिक कृतिमा बनेका सिमित मात्रामा नेपाली सिनेमाहरु व्यावसायिक रुपमा सफल हुन सकेको पाइदैन् ।

हलिउडका फिल्महरु गन विथ द विण्ड, व्रिजेश अफ मेडिसन काउण्टी, केन एण्ड एवल, जेम्स वण्ड, श्रृंखलाहरु लगायत थुप्रै त्यसका उदाहरणहरु पाइन्छन् । मुम्बईमा पनि मुन्सी प्रेमचन्द्र, शरतचन्द्र लगायत अन्य साहित्यकारका कृतिहरुमा चलचित्र बनेका छन् । नेपाली फिल्मको सुरुवातको क्रममा साहित्यिक कृतिमा आधारित रहेर बनेका फिल्महरु केही मात्रामा सफल बने पनि पछिल्लो समय साहित्यिक कृतिमा आधारित फिल्महरुले दर्शकको ध्यान तान्न सकेको पाइएको छैन् ।

Batas

साहित्यककार विजय मल्लको उपन्यास ‘कुमारी शोभा’ मा आधारित रहेर निर्देशक प्रेमबहादुर बस्नेतले ‘कुमारी’ फिल्म निर्देशन गरे । २०३४ प्रदर्शन गरिएको यो पहिलो रंगीन नेपाली फिल्म मात्रै नभएर साहित्यिक कृतिमाथ बनेको पहिलो नेपाली फिल्म पनि हो । फिल्मलाई प्र्रेमबहादुर बस्नेतले निर्देशन गरेका थिए ।

गुरुप्रसाद मैनालीको साहित्यिक कृति ‘नासो’मा आधारित रहेर ‘परालको आगो’ निर्माण भयो । फिल्मलाई प्रताब सुब्बाले निर्देशन गरेका थिए । बालकृष्ण समको अमरकृति ‘प्रेम पिण्ड’, डायमन शमसेर राणको कृति ‘बसन्ती’, धुव्रचन्द्र गौतमको कृतिमा आधारित रहेर ‘वासुदेव’ चलचित्र बनिसकेका छन् ।

बासु शशीको ‘नगदनारायण’ मा बनेको ‘लोभी पापी’, मोदनाथ प्रश्रतीको ‘सपनाहरुको देशलाई’ मा आधारित रहेर ‘बसाई’ ले व्यवासायिक सफलता कमाउन नसकेपनि चर्चामा रहे । महाकवी लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक कृतिमा ‘मुनामदन’ व्यावसायिक रुपमा हिट ठहरियो । देवकोटाको उत्कृष्ट कृकिो रुपमा परिचित मुनामदनको कथामा १० वर्ष अघि चलचित्र बनेपनि प्रदर्शनमा आयो । चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका थिए ।

मुनामदनसँगै कृष्ण धारावासीको पुस्तक ‘झोला’ माथि पनि फिल्म बन्यो, जुन सफल बन्यो । झोला फिल्मले नेपालको सती जाने प्रथालाई प्रस्तुत गरेको छ । यो फिल्मले नेपाली रजतपटमा मात होइन ओस्कारमा पनि सफल भयो ।

कर्ण शाक्यद्धारा लिपिबद्ध अटो बायोग्राफि ‘पल’ माथि निर्मात फिल्म पनि व्यावसायिक रुपमा असफल बन्यो । नीर शाहले निर्माण गरेको गोपालप्रसाद रिमालद्धारा लिखित कृति ‘मसान’ पनि सफल बनेन् । लेखकले आफ्नो कृत्तिलाई मनोवैज्ञानिक प्रस्तुतिकरण गरेकोमा नीर शाहले त्यसलाई वास्तै नगरेर ‘मसान’लाई कमेडीमूलक बनाइदिए ।

यसले गर्दा मूल कृत्तिमाथि गम्भिर आघात पुग्यो । त्यस्तै ‘सेतो बाघ’ पनि असफल ठहरियो । मदन पुरस्कार प्राप्त पारिजातको उपन्यास ’शिरीषको फूल’ माथि आधारित रहेर निर्माण गरिएको फिल्म ’शिरीषको फूल’ ले त झन् पानी भन्न पाएन ।

निर्माणकर्ता वीचको मनमुटावले गर्दा अलपत्र परेको यो सिनेमालाई जापानिज निर्देशक तोसियाकी पूरा गरिदिएपनि उपन्यासमा हँुदै नभएका प्रसंगहरु थपिदिएर फिल्मलाई आफ्नो ढंगले व्याख्या गरे । आदिकवी भानुभक्तको जीवनीमाथि पनि चलचित्र बनेको छ ।

कृतिमा आधारित फिल्म किन असफल रहे ?

साहित्यिक कृतिमा बनेका चलचित्रहरु विवादरहित भने छैनन् । वास्तविक रुपमा पर्दामा उर्तान नसकेको आरोप चलचित्र निर्माता, निर्देशक, कलाकारमा लाग्दै आएको छ । निर्देशक घनश्याम लामिछाने कृतिमा आधारित सिनेमा दक्ष निर्देशकको हातमा नपर्दा असफल रहेको तर्क राख्छन् ।

भन्छन, ‘कृतिमा आधारित फिल्म बनाए भन्दैमा जेपायो त्यही गर्दिदा न कृतिलाई न्याय पुग्न गयो न दर्शकलाई नै ।’ कृतिमा आधारित फिल्म ‘मुनामदन, प्रेमपिण्ड र बसाई’ सम्म राम्रा भएपनि त्यसपछि बनेका फिल्म सोचेजस्तो नबनेको उनको भनाई थियो ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकले लेखकले लेखेजस्तो फिल्म मेकिङको अभावले नै साहित्यिक कृतिमा बनेका फिल्म असफल हुने गरेको विश्लेषण गर्छन् । ‘साहित्य जुन आनन्दले पाठकले पढेका हुन्छन्, त्यस्तो फिल सिनेमामा नपाएको अनुभूति हुन्छ ।

पाठकले कृति पढ्दा आनन्द पाउँछ तर सोही कृतिको फिल्मले उसको मन जितेको हुँदैन्,’ उनी भन्छन्, ‘कृतिको जुन फम्र्याट छ त्यसलाई डाइरेक्टरले प्रिजेन्ट गर्न नसक्नु नै कमजोरी हो । जस्तो कि, कृतिमा फूलैफूलको गार्डेन भनेर उल्लेख गरिएको छ भने फिल्ममा नर्मल गार्डेन देखाइयो भने पाठकले रुचाउँदैनन् ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.