www.tandavnews.com
Fact ~ In search of truth

बढ्दो फुटसल क्रेज

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

‘आज बल्ल खेले जस्तो भो यार, कति हार्नु त नि !’ सायद उनी आफ्नो म्याच जितेर खुशी बाँड्दै थिए आफ्ना साथीहरुसँग । उनी पसिनाले निथु्रक्क भिजेका छन् । अनि खाइलाग्दो ज्यान देख्दा बडिविल्डर जस्तो तर पेसाले इन्जिनियर सागर थापा मगर । स्पोर्टस् क्यासलमा आफ्नो निकटका साथीहरुसँग हप्तामा कम्तिमा ५ दिन उनी फुटसल खेलेकै हुन्छन् । थापा मगर भन्छन्, ‘फुटसल खेलिएन भने के नपुगे जस्तो हुन्छ, त्यसैले हामी हप्तामा कम्तिमा पनि ५ दिन त फुटसल खेलेकै हुन्छौँ, फेरि हाम्रो ध्येय भनेको नै स्वस्थ्य रहनु हो, पसिना बगाउनु नै हो ।’ थापा मगर समय मिलाएर दिनुहँ जस्तो कुनै न कुनै फुटसल सेन्टरमा खेल्नै पर्ने सुनाउँदै भन्छन् ‘यो पनि लत जस्तै रहेछ नखेली नहुने ।’

पोखरामा विगत ७ वर्ष अघि फुटसल भित्रिएको अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द¬¬्र¬) बताउँछन् । उनका अनुसार वि.स. २०६९ सालमा पहिलो पटक पोखरामा फुटसल भित्रिएको थियो ।

Batas

‘पोखरामै पहिलो पटक लेकसाइडमा च्याम्पियन्स् स्पोर्टस् सञ्चालनमा आएको थियो, त्यति स्तरीय नभए तापनि त्यो समय निकै चाखलाग्दो मानिन्थ्यो । उनी भन्छन्, ‘त्यो समयमा भन्दा अहिले झन् फुटसल प्रति युवाको क्रेज बढेको छ, यसले स्तरीय खेलाडी उत्पादनमा समेत मद्दत पु¥याउँछ ।’

फुटसल हरेक व्यक्तिको चौतर्फी विकासको लागि अति उपयोगी खेल रहेको पूर्व राष्ट्रिय खेलाडी तथा रुस्लान थ्रिस्टार क्लबका स्ट्राइकर अनिल गुरुङ बताउँछन् । ‘पहिले पहिले नेपालमा थिएन, अहिले पोखरामा मात्र नभएर पूर्व धरान तिर समेत यसको क्रेज बढेको छ, बच्चादेखि पाकाहरुले खेल्न सक्ने भएकाले पनि यो लोकप्रिय बन्दै गएको छ । अझ प्रोफेसनल खेलाडीहरुको लागि त फुटसल अपरिहार्य छ,’ उनी भन्छन्, ‘सीमित स्पेसमा खेलिने भएकाले स्पिड र स्किल बढ्छ, त्यसैले म निरन्तर फुटसल खेल्ने गर्छु ।’

म्याट्रिक्स एरिनाका सञ्चालक अमन विक्रम थापा पनि फुटसलप्रेमी हुन् । उनलाई पनि हप्तामा ४ दिन नखेली हुँदैन । स्फुर्त बन्नका लागि फुटसल खेल्न थालेका उनी अहिले सौखिन बन्दै निरन्तर खेल्न थालेको थापा बताउँछन् । ‘स्वस्थ्य र तन्दुरुस्त रहनका लागि खेल्ने गर्थाैँ, अहिले त बानी नै परिसकेको छ,’ उनी भन्छन्, ‘खेलिएन भने खाएको नै नपचे जस्तो हुन्छ ।’

त्यस्तै पोखरा–११ फुटबल टिमका कप्तान उत्तम गुरुङ पनि खाली समय अधिकांश फुटसल जोनमै बित्ने गरेको बताउँछन् । फुटसल स्तरीय खेलाडीहरुका लागि महत्वपूर्ण रहेको बताउँदै सर्ट पास, स्किल, फुटवाक, ड्रिबिलिङ, र स्पिड बढ्ने सुनाउँछन् ।

स्वस्थ्य र तन्दुरुस्तका लागि खेल्ने हरुको कारण पनि फुटसल पोखरामा लोकप्रिय बन्दै आएको गुरुङको भनाइ छ । ‘फुटसल प्रति अधिकांश व्यक्तिहरुको क्रेज हुनुको कारण भनेको घाम पानीले कुनै प्रवाह नपार्नु, र सीमित मूल्यमा घण्टाँै खेल्न पाइने नै हो, ’ उनी भन्छन् ।

स्पोर्टस् क्यासल गणेशटोल, च्याम्पियन्स् स्पोर्टस् लेकसाइड, रानीपौवा स्पोर्टस् सेन्टर, मुस्ताङचोक फुटसल, पोखरा फुटसल एरिना, बाराही फुटसल, बि फिट फुटसल, टुटिसल फुटसल, जि एन् एस फुटसल, एबिसी फुटसल, स्काइ स्पोर्टस्, हवेली मार्ग फुटसल, लक्ष्मी टोल फुटसल जोन, हेम्जा फुटसल र फुलबारी फुटसल जोन गरी कुल १५ स्थानमा सञ्चालनमा रहेका छन् भने मिराज स्पोर्टस् लामाचौर, किङ्स स्पोर्टस् दिप, नदीपुर र हस्पिटल चोक लगायतका स्थानमा निर्माणाधीन छन् ।

६ करोडको ‘स्पोर्टस् क्यासल’

फुटबलको परिवर्तित स्वरुप फुटसल युवाहरु माझ लोकप्रिय बन्दै गएपछि पोखरामा ७ वर्षको अन्तरालमा डेढ दर्जन फुटसल जोनहरु सञ्चालनमा छन् । तर पृथक र अत्याधुनिक तथा व्यवस्थित भने कमै मात्र छन् ।

६ करोड बढी लागतमा पोखराको केन्द्र गणेशटोलमा स्पोर्टस् क्यासल नाम दिएर सञ्चालनमा ल्याएको क्यासलका सञ्चालक, नेपाल फुटबल संघ कास्कीका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द¬¬्र¬) बताउँछन् ।

‘अन्तर्राष्ट्रिय मापडण्ड अनुसारकै फुटसल हामीले निर्माण गरेका छाँै,’ उनी भन्छन्, ‘दाबाका साथ भन्ने हो भने पोखरामै स्पोर्टस् क्यासल जस्तो अन्य कुनै पनि स्पोर्टस् जोन व्यवस्थित र आधुनिक छैन, यसको अर्काे विशेषता भनेको पारिवारमैत्री हो ।’ फुटवल खेल्न सिक्नेहरुको लागि फुटसल राम्रो स्थान भएको उनी सुनाउँछन् । ‘ग्रास रुट लेवलका बच्चा हरुलाई झन उपयोगी छ, कार्पेटमा खेलिने भएकाले सेफ्टी हुन्छ,’ उनी भन्छन्, ‘फुटसल खेलेपछि मेहनतको परिभाषा सिक्छन्, अनुशासित र धैर्यवान् बन्छन्, त्यसैले बच्चादेखि पाकाहरुलाई लक्षित गरि हामीले फुटसल सञ्चालनमा ल्याएका हौँ ।’

उक्त क्यासल ७ रोपानी जग्गामा निर्माण गरिएको अर्का सञ्चालक तथा एन्फा कास्कीका कोषाध्यक्ष विजय गुरुङ बताउँछन् । उनका अनुसार फुटसल सँगै अत्याधुनिक व्यायामशाला, जुम्बा, स्पा, चमेना गृह, मार्सल आर्ट तथा प्रशस्त पार्किङको सुविधा छ ।

त्यस्तै युवा सञ्चालक अनमोल पालिखे मासिक रुपमा खेल्ने बाहेक दैनिक ८ देखि १० खेलहरु बुक भैरहने बताउँछन् । नाफामूलक भन्दा सेवाप्रदायक क्यासल रहेको पालिखे सुनाउँछन् । उनका अनुसार एक घण्टा फुटसलको १ हजार ५ सय रुपैँया निर्धारण गरिएको छ भने एक टिममा ६ जना खेल्न सक्नेछन् ।

उक्त क्यासलमा फुटसलसँगै केही समयमै फुटसल एकेडेमी समेत स्थापना गरिने उनले सुनाए । पालिखेसँगै सो क्यासलमा राष्ट्रिय फुटबल खेलाडी विष्णु गुरुङ, नेपाल पुलिस क्लबका गोलरक्षक विशाल श्रेष्ठ, दीलिप कार्की, पवन गुरुङ (पङ्के) ले संयुक्त लगानी गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.