www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशकै ठूलो सरकारी अस्पतालमा छैनन् अत्यावश्यक स्वास्थ्य जाँच उपकरण

पाेखरा 
ताण्डव न्यूज ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अत्यावश्यक उपकरण नहुँदा सर्वसाधारण बिरामी सरकारी स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ ।

अस्पतालमा एमआरआई, सिटिस्क्यान, डायलोसिसलगायत अन्य अप्रेसनका उपकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । अस्पताल प्रशासनका अनुसार एमआरआई मेसिन खरिदका लागि प्रक्रिया अघि बढेको छ भने सिटिस्क्यान मेसिन बिग्रिएको १० महिना पुगेको छ । पाँच वर्षअघि खरिद गरिएको सिटिस्क्यान मेसिन झन्डै तीन वर्षअघि बिग्रिएको थियो ।

Batas

“मेसिन बिग्रिएको जानकारी गराएपछि प्राविधिक टोलीले मर्मत–सम्भार गर्न लागेको थियो” अस्पतालका डा. राजेश अधिकारीले भने “पछि बनाउन नमिल्ने गरी बिग्रिएको जानकारी आएको छ ।” उनका अनुसार सिटिस्क्यान मेसिन नहुँदा अहिले अस्पतालमा जटिल प्रकारका सबै उपचार सेवा प्रभावित भएको छ ।

अहिले यस अस्पतालमा दैनिक दुइ हजारको संख्यामा बिरामी आउने गरेका छन् भने निरन्तर फलोअपमा आउने बिरामी पनि त्यति नै संख्यामा भएको अस्पतालले जनाएको छ । सुत्केरी हुन आउनेको समेत चाप बढी हुँदा अन्यत्र अस्पतालमा पठाउनुपरेको अस्पतालका सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, अस्पतालमा डायलोसिस गर्न आउनेले पनि लामो समय पालो कुर्नुपर्छ । हाल रहेका डायलोसिसका ११ वटा मेसिनले दैनिक २२ जनालाई डायलोसिस सेवा उपलब्ध गराउन सक्ने डा. अधिकारी बताउँछन् । उनका अनुसार दुईवटा बेड इमर्जेन्सी सेवाका लागि राख्दा दैनिक २० बिरामीले नियमित सेवा लिइरहेका छन् । अन्य बिरामीले पालो कुर्नुपर्ने वा अन्यत्र अस्पतालमा चहार्ने गरेका छन् ।

पाँच सय बेड क्षमताको यस अस्पतालमा अहिले विशेषज्ञसहित एक सय डाक्टर कार्यरत छन् । अस्पतालमा वरिष्ठ विशेषज्ञसहित जनशक्तिको अभाव नभए पनि उपकरण नहुँदा गुणस्तरीय सेवा दिन नसकेको प्रतिष्ठानका डिन डा. नरेन्द्र गुरुङले बताए । संघीय सरकार मातहत रहेको प्रतिष्ठानमा सरकारले यस वर्ष रु.४ करोड मात्र बजेट पठाएको, आवश्यक उपकरण खरिद लगायत काम स्वास्थ्य मन्त्रालयले हेर्ने र ढिलो गर्ने गरेकाले पनि बिरामीको सेवा प्रभावित भएको गुरुङको भनाइ छ ।

हाजिर मात्र गर्छन् ९ विज्ञ
यस अस्पतालमा काम गर्ने ९ विशेषज्ञले हाजिर मात्र गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरू मन्त्रालयबाट काज र सरुवा एकैपटक लिएर आउने र हाजिर गरेर जाने गरेका छन् । यसरी हाजिर मात्रै गर्नेको काज फिर्ता गर्न अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरे पनि फिर्ता भएको छैन ।

काज लिएर अन्यत्र जानेहरुमा डा. तारानाथ पौडेल, डा. सरिता प्रधान, डा. सन्ध्या चापागाईं आचार्य, डा. जगत जीवन घिमिरे, डा. रमानाराज कर्णिकार, डा. गणेश राई, डा. शशि हिराचन र स्टाफ नर्स अमृता बराल छन् (हे. पत्र) । “उनीहरुले यहाँ हाजिर मात्र गर्न आउँछन्, अनि काज लिएर उतै फर्कन्छन्” प्रतिष्ठानका डिन डा. गुरुङले भने, “मन्त्रालयले पश्चिमाञ्चल अस्पताललाई महत्व नै दिएन ।”

सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार अस्पतालको अनुगमन गरे । अस्पतालमा उपकरणदेखि सार्वजनिक शौचालयको समेत अभाव भएको भन्दै सहयोग गर्न गुरुङसँग अस्पताल प्रशासनले आग्रह गरेको छ । संघीय सरकारको ध्यानाकर्षण गराउन र प्रदेश सरकारले पनि अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न डिन गुरुङले मुख्यमन्त्री गुरुङसँग आग्रह गरेका थिए ।

मुख्यमन्त्री गुरुङले अस्पताल संघीय सरकार मातहत रहेकाले प्रदेश सरकारले सहयोग गर्न समस्या रहेको बताए । “अत्यावश्यक उपकरण ल्याउन संघीय सरकारको ध्यानाकर्षण गराउनेछौँ” उनले भने ।

यसैबीच, प्रतिष्ठानले यसै वर्षदेखि पोष्ट ग्राजुयट (पीजी) को कक्षा तयारी गर्दैछ । पूर्ण रुपमा निःशुल्क अध्ययनका लागि नेपाल मेडिकल काउन्सिलले सिट संख्या तोक्न बाँकी छ । डा. गोविन्द केसीको आन्दोलनका कारण सिट संख्या तोक्न ढिलाई भए पनि अब केही दिनभित्रै प्रक्रिया शुरु हुने डिन गुरुङले जानकारी दिए ।

प्रतिष्ठानले यस वर्ष मेडिसिन, सर्जरी, अर्थोपेडिक्स लगायत ६ वटा विषयमा पीजीको पढाई शुरु गर्ने भएको छ । अध्ययन अध्यापन शुरु गर्न विषय विशेषज्ञ प्रोफेसर र शिक्षकलाई जिम्मेवारी दिइसकिएको पोखरा प्रतिष्ठानले जनाएको छ । अस्पतालमा उपकरण अभाव हुँदा पढाई समेत प्रभावित हुने भन्दै प्रतिष्ठानका पदाधिकारी र डाक्टरहरुले मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.