www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सभा बैठकः पुष्पा केसी मृत्यु प्रकरण देखि कालीगण्डकी करिडोरसम्म

ईश्वर देवकोटा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभाको आज बसेको बैठकमा अधिकांश सांसदहरुले शून्य र विशेष समय लिएर बोल्ने क्रममा पोखरा–१९, की पुष्पा केसीको रहस्यमय मृत्यु प्रकरणबारे सत्य तथ्य छानबिनको माग गरेका छन् ।

नेकपा सांसद कृष्णबहादुर थापाले पुष्पाको शव फेला परेको लामो समयसम्म पनि घटनाबारे सम्बन्धित निकायबाट औपचारिक जानकारी नआएकोले घटनाबारे वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् ।

Batas

कांग्रेस सांसद कुमार खड्काले प्रदेश सभामा विशेष समयमा बोल्दै अहिलेको नेपाली समाज ‘तस्बिरको देवी पुज्ने, घरको देवी चुट्ने विनाशकारी मार्ग तर्फ अग्रसर भईरहेको’ बताए । देशभर भइरहेका बलात्कार, हत्या हिंसा जस्ता जघन्य अपराधका दोषि उपर कारवाही गर्न संघीय सरकार चुकेको उनको भनाई छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा संलग्न अपराधिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा उल्टो राज्य संयन्त्र नै दोषि उम्काउन मानसिक रोगिलाई अपराधि सावित गराउन पीडित परिवारलाई गलत किटानी जाहेरी दिन बाध्य बनाउन प्रयास गर्ने सरकारको निन्दनीय प्रयत्न भएको भन्दै सरकारको कार्यशैली प्रति रोष प्रकट गरे ।

सांसद खड्काले ‘पोखराकी पुष्पा केसी, कञ्चनपुरकी निर्मला पन्त लगायत देशैभरी छोरीहरुमाथि भएको हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराधको सत्यतथ्य पत्ता लगाई अपराधीलाई कानूनको कठघरामा उभ्याएर दण्डित गर्नुपर्छ ।’ भन्दै सरोकारवाला समक्ष माग राखे ।

बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद मीना गुरुङ, पुष्पा केसी भण्डारीले महिला माथिको अत्याचार अन्त्य हुनुपर्ने माग राखे । पुष्षाको मृत्यु भएको ११ दिन वितिसक्दा पनि सत्य तथ्य बाहिर नआउनु आफैंमा दुखद् भएको सांसद भण्डारीले सुनाइन् ।

कांग्रेस सांसद मेखलाल श्रेष्ठले सरकार बनेको ८ महिना भईसक्दा पनि जनतालाई शान्ति सुरक्षाको प्रत्याभूत गराउन नसकेको दाबि गरे । बैठकमा बोल्दै सांसद श्रेष्ठले नजिकिदै गएको नेपाली समाजका महान् चाडबाडको संघारमा बजारमा बिक्री गरिने खाद्य वस्तुहरुमा भएको मिसावट, गुणस्तरहीन वस्तुको बिक्री रोक्न प्रदेश सरकारको संयन्त्रबाट अनुगमन बढाउन आग्रह गरे ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्ण चन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मेरुदण्डको रुपमा रहेको कालीगण्डकी करिडोर निर्माणको लागि सबै निकायबाट चर्चा भईरहँदा काम सुरु नभएको प्रति जिज्ञासा राखे ।

‘गैडाकोटको कालिकाचोकबाट सुरु हुने नवलपुर खण्डकको भागमा काम सुरु भएको छैन्,’ उनले भने, ‘निर्माण कार्य सुरु गर्न ठेक्का दिएको छ की छैन् वा दिइएको भए कुन कम्पनीलाई दिइयो जानकारी पाउँ ।’ करिडोरको निर्माण प्रगति सम्बन्धमा प्रदेश सभामा जानकारी गराउन उनले ध्यानाकर्षण गराए ।

प्रदेश सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पुष्पा केसीको मृत्युबारे छानबिन भईरहेको र प्रारम्भिक स्वास्थ्य परिक्षणबाट बलात्कार नभएको रिपोर्ट प्राप्त भएको जानकारी दिए । थप स्वास्थ्य परिक्षणका लागि (भिसेरा) रिपोर्ट आउन बाँकी रहेको उनले बताए । पुष्पाको हत्या वा मृत्यु भएको भन्ने बारे सरकारले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको जनाए ।

दुई विधेयक टेबुल, एकको प्रतिवेदन पेस

प्रदेश सभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित दुई विधेयक पेस टेबुल भएका छन् । भने एक विधेयकको विधायन समितिबाट दफाबार छलफल भई प्रतिवेदन पेस गरियो ।

प्रदेश सरकारको प्रशासकीय कार्यविधि नियमित गर्न तथा नीति तथा कार्यक्रम बजेट र वार्षिक कार्यक्रम कार्यान्वयन गर्न बनेको विधेयक–२०७५, प्रदेश सभामा पेस भएको छ । प्रदेश सभा सचिवालयमा भाद्र ११ गते दर्ता भएको उक्त विधेयक प्रदेश कानून मन्त्री हरिबहादुर चुमानले आजको बैठकमा पेस गरेका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित सहकारी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक–२०७५, प्रदेश सभामा पेस गरिएको छ । भाद्र १४ गते प्रदेश सचिवालयमा दर्ता भएको उक्त विधेयक कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले आजको बैठकमा पेस गरे ।

यसैगरी, प्रदेश सभाको विधायन समितिले प्रदेशको केही कानून संसोधन गर्न बनेको विधेयक प्रतिवेदन प्रदेश सभामा पेस गरेको छ । समितिका सभापति मोहन प्रसाद रेग्मीले उक्त विधेयक उपर दफाबार छलफल गरी प्रदेश सभामा प्रतिवेदन पेस गरिएको जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.