www.tandavnews.com
Fact ~ In search of truth

पौरखी आमा ‘गनिसरा’

उमा विक
पोखरा, ताण्डव न्यूज । 

पोखराको बगरस्थित पिएन क्याम्पसको पछाडिको गेटको आडैमा एउटा पुरानो टिनको छाप्रो । छाप्रो भित्र पुराना बेञ्च र टेबलहरु । छाप्रो बाहिर लस्कर लाएर राखिएको ठूलाठूला दाउराका मुडा । तीनै मुडा सल्काएर खाजा बनाउन व्यस्त छिन् ६१ बर्षीया बृद्धा आमा ।

१ नबज्दै एक हुल विद्यार्थी आमा खाजा भन्दै पुग्छन् त्यस छाप्रोमा । न कुनै साइनबोर्ड छ ,न देख्दा यो कुनै खाजाघर या होटल जस्तो लाग्छ । नयाँ व्यक्तिले बाहिरबाट हेर्दा यहाँ खाजा पाइन्छ भनेर पत्तो पाउँदैनन् ।

यही पुरानो छाप्रो भित्र आगोको धुवाँले निस्केको आँशु पुछ्दैँ खाजा बनाउँछिन् स्याङजा क्याक्निकी गनिसरा थापा ।

गलैंचा बुन्न पोखरा

घरमा पैसाको दुःखले गर्दा पोखरा झरेर पैसा कमाउनी लक्ष्य सहित गनिसरा २०३८ सालमा पोखरा आइन् । गनिसरा पोखरा आउँदा २५ वर्षकि थिइन् । पोखरामा गलैंचा बुन्ने तालिम पाइन्छ भन्ने सुनेर गनिसरा पोखरा आएकी थिइन् । उनले ३ महिनाको तालिम लिइन् । त्यही तालिमबाट सिकेको सीपले ५ वर्ष गलैंचा बुनिन् ।

पोखरा बसेर गलैंचाको काम गरिरहेकी गनिसराको २०४१ सालमा बैवाहिक जीवनमा बाधिन पुगिन् । बिवाह गर्दा गनिसरा २७ वर्षकी थिइन् उनका श्रीमान् ५२ वर्षका थिए । गनिसराले सम्झन्छिन्,‘बुढाकोे पहिलो श्रीमतीले छोडेको रैछ, अनि मेरो बाबाले उनैसँग बिहे गर्दिए ।’

बुढाको पहिलो श्रीमती पट्टिका छोराहरु थिए । गनिसराले आफ्नै कोखको सन्तान जस्तै गरि हेरचाह गरिन् । हुर्काइन्, बढाइन्, पढाइन् । उनको आफ्नै कोखबाट एउटा छोरीलाई जन्म दिइन् । छोरीको बिवाह भैसक्यो । नातिनतिना पनि छन् ।

४ सय रुपैयाँ ऋण काढेर होटल

गनिसरा बिहेपछि पनि गलैचा बुनीरहेकी थिइन् तर गलैचाको कमाइले नै छाक टार्न मुस्किल थियो । उनको बुढा मलायको (ब्रिटिश)आर्मी पेन्सन निस्किसकेका थिए ।

बुढाको पेन्सन त्यो बेला महिनाको ३ सय थियो । तीन महिनामा मात्रै पेन्सन थाप्नुपर्ने ९ सय रुपैयाँ मात्र पेन्सन पाउँथे । त्यतिले पुग्दैनथ्यो । घरमा उनको २२ जना परिवार सदस्य थिए ।

बिहान बेलुकी गाँस जुटाउन धौँ भएपछि गनिसराले के गर्ने भनेर सोचिन् । यस्तै कति रात सोचेर बिताइन् । एक रात उनको मनमा चिया बेच्नुपर्छ की भन्ने कुरा खेल्यो । चिया खाजा बनाएर त बेच्नी तर होटेल खोल्नलाई पैसा जुटाउने कसरी ? उनको मनको अर्को कुरा खेल्न थाल्यो । ऋण लिएर भएपनि होटेल खोल्ने निर्णयमा पुगिन् ।

सय कडा ५ रुपैयाँको ब्याज दिने गरि ४ सय रुपैयाँ ऋण काडेर होटल खोलिन् । महिनामा २० रुपैयाँ ब्याज तिर्नुपथ्र्यो । गनिसरा भन्छिन्, ‘सुखले होइन दुखैले होटल खोलेको हो, मलाय लाहुरे भएपनि बुढाको पैसा थिएन । बुढाले जाँडरक्सी खाने,जुवाँतास खेल्ने गरेर सताए ।’

५ रुपैयाँको आलुचप

Mahanagar add

२०४४ सालमा उनले चित्राले बारेर एउटा छाप्रो बनाइन । त्यही छाप्रोमा चिया, तरकारी बनाएर बेच्न थालिन् ।

गनिसरा सम्झन्छिन् ,‘त्यतिबेला १ रुपैयाँमा चिया र तरकारी बेच्थेँ ।’ त्यो समयमा पिएन क्याम्पस वरपर होटल थिएन् । गनिसरा नै पहिलो होटलवाली हुन् ।

यसरी नै चलिरहेको थियो होटल तर छाक टरेको थिएन् । उनको मनमा आलु र आटा मुछेर आलु चप बनाएर बेच्ने सोच आयो । उनले आलु चप पनि बनाएर बेच्न थालिन् । खाजा खान आउनेले मन पराउन थाले । उनले बनाएको आलुचप तर उनलाई यो पनि थाहा थिएन कि उनले आटा र आलुबाट बनाएको चिज आलुचप हो ।

सुरुसुरुमा उनले एउटा आलुचपलाई २ रुपैयाँमा बेच्थिन् । गनिसराको अनुसार त्योबेला आलु ३ रुपैयाँ किलो थियो तेल २५ रुपैयाँ लिटर । त्यसपछि उनले २ रुपैयाँ ५ मोरमा आलुचप बेचिन् । त्यसपछि ४ रुपैयाँको ३ वटा बेच्न थालिन् । ३ वर्ष भयो आलुचप ५ रुपैयाँमा बेच्न थालेको ।

‘अहिले आलु, तेलको भाउ बढ्यो त्यसैले ५ को एउटा बेच्न थालेँ, मैले छिटोछिटो बढाउँदिन,’ गनिसराले भनिन् । अहिले गनिसरा आमाको होटलमा ५ को आलुचप, १० रुपैयाँको तरकारी र दूध चियाको १० रुपैयाँमै पाइन्छ ।

सस्तोमा सन्तुष्टी

गनिसरा आमाले उनको छाप्रोमा पुग्नेलाई सस्तोमा खाजा खुवाउँछिन् । उनले कति नाफा भो भन्नी कहिल्यै हिसाब राख्दिनन् । न त उनले त्यो आगोमा गरेको मिहेनतको हिसाब नै राख्छिन् । उनले आगोमा चप बनाउन लागेको ३१ वर्ष पुग्यो ।

‘हिसाब ग¥यो भने त टेन्सेन हुन्छ, यति सस्तोमा खाजा बेचेर कहाँ नाफा हुन्छ र । भगवानले भन्छन् सन्तुष्ट हुनु नै धनी हो रे,’ गनिसरा भन्छिन् ,‘मेरोमा विद्यार्थीहरु धेरै आउँछन, भोकले आउँछन, माया लाग्छ । यसैमा मलाई सन्तोक लाग्छ ।’

उनको खर्च नकटाई दिनमा ५ हजार देखि ६ हजार सम्म कमाई हुन्छ । उनले तरकारीका लागि दिनमा ३५ किलो आलु उसिन्छिन् । ५० केजीको आटाले ३ दिन खाजा पाक्छ ।

घरखर्च पुग्दैन

५ रुपैयाँको चप र १० रुपैयाँको तरकारी नै बेचेर घर खर्च चल्दैन तर उनी यसैमा सन्तुष्टी छन् ।

उनको श्रीमानको पेन्सन अहिले बढेको छ । महिनामा ५० हजार पाउँछन् । घरव्यवहार त्यसैले टर्छ । अहिले उनलाई होटल नगरे पनि पुग्छ तर उनी भन्छिन् ,‘होटल छोड्न सक्दिन, ग्राहकको मायाले गर्दा अहिले सम्म होटल गरेको हो अब म सकुन्जेल नै होटल गर्छु ।’

गनिसराको उमेर ढल्केसँगै आजकल उनको छोरी, नाति नातिनाले सहायता गर्छन् । उनको श्रीमानले जाँडरक्सी ,तास खेल्न छोडे । अहिले उनको दिपमा घर छ ।

‘दुःख केकेमा गरिन होला तर अहिले म खुसी छु, मलाई छिमेकीले पनि उत्तिकै माया गर्छन,’गनिसराले खुशी बाडिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...