www.tandavnews.com
Fact ~ In search of truth

‘ज्याकराण्डा’ले सिँगारिएको गौरीघाट

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

नेपालकै पर्यटकीय केन्द्रको रुपमा वजिलो परिचय जमाएको स्थल पोखरा । तालै तालको धनि शहर पोखरा ।

तालहरु मध्येको लोकप्रिय ताल फेवाताल, झल्यास्स याद आउने फेवातालको बिचमा रहेको बराह थान (बाराही मन्दिर) । जो आन्तरिक र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।

Batas

पर्यटकको भीडभाड अनि कोलाहल हुने बाराही घाटलाई पछ्याउदै छ फेवातालको अनुहार जुन यतिबेला ज्याकराण्डा फूलले सिगारिएको छ । सवारी साधनमा यात्रा गरिरहेको बेला सडकबाटै ताल छर्लङ्ग देखिने भएकाले गौरीघाटलाई फेवातालको अनुहारको संज्ञा दिन्छन् स्थानीयवासी तथा पर्यटन व्यवसायीहरु ।

स्थानीय भरत पौडेलका अनुसार बसन्त ऋतुमा फुल्ने उक्त ज्याकराण्डा फूल राजा महेन्द्रको पाला (बिसं २०२७) मा बन बिभागले रोपेका थिए । उक्त फूलले अहिले गौरीघाटको मुहार सिगारेको छ, ढकमक्क ढाकेको छ । प्राकृतिक शौन्दर्यता नियाल्न अनि गर्मी छल्न स्वदेशी तथा बिदेशी पर्यटकहरु ज्याकराण्डा फूलको ओत लाग्ने गरेका छन् ।

गौरीघाटमा बनेको नयाँ प्रवेशद्वार र फूलले ढकमक्क ढाकेसँगै पर्यटकको संख्यामा समेत बृद्धि भएको गौरीघाट डुंगा व्यवस्थापक रामचन्द्र पौडेल बताउँछन् । कलात्मक प्रवेशद्वारको अवधारणा युवा समाजसेवी अनिल थापाले गरेको थिए ।

कुल ५ लाखको लागतमा बनेको उक्त प्रवेशद्वारकै कारण ह्वातै पर्यटकको अवागमनमा बृद्धि भएको पौडेल बताउँछन् । ‘यो गेटमा लगानी हाम्रै संगठनको छ, सरकारी निकायको कुनै सहयोग छैन, प्रस्तावना पेश गरेर रकम निकाल्न त्यती सजिलो छैनरैछ,’ उनले भने, ‘प्रक्रिया पु¥याउन कार्यालय धाउदा धाउदै बरु चप्पल फाट्छन तर काम नहुने रैछ, मैले पहिल्यै भोगेको ।’

गेटको निर्माण सम्पन्न भएसँगै ताल किनार पुग्ने बाटोमा २ लाखको लागतमा ढुंगा बिछ्याईदैछ । आन्तरिक र बाह्य पर्यटक बढेपछि यस क्षेत्रको सौन्दर्यतालाई समेत ध्यान दिनुपर्ने भएकाले विकासको काम स्थानीय र डुंङ्गा व्यवसायी संगठनले नै स्वतस्फूर्त निर्माणको कार्य गरेको पौडेलको भनाई छ ।

उनका अनुसार गौरीघाटको मुहार फेरिएपछि पछिल्लो समय दैनिक १ सय ५० देखि २ सयको संख्यामा पर्यटकहरुको आवागमन हँुदै आएको छ भने करिब ३० देखि ५० हजारको सम्मको कारोबार हुने गरेको छ ।

प्रायजसो घाममा सेकिएर तालमा तैरिरहने काठे डुंङ्गाहरु पछिल्लो समय पर्यटकको सयरमा व्यस्त देखिन्छन् । अगाडि बढ्दै पाईला मेटिइएको दृश्य पछिल्लो समय गौरीघाट आसपासमा छ्यालब्याल देख्न पाइन्छ । फेवा डुंङ्गा व्यवसायी संगठनका उपाध्यक्ष कृष्ण गिरी भन्छन्, ‘जे होस् २० देखि ३० जना परिवारको यही घाटदेखि जिविकोपार्जन भएको छ, तुलनात्मक रुपमा खुशी नै छौ ।” गिरीका अनुसार उक्त घाटमा काठे डुंङ्गा ७० र प्याडलबोट १२ गरी कुल ८२ डुंङ्गा तैनाथ छन् ।

फेवा डुंङ्गा व्यवसायी संगठनमा बाराही घाट, फिस्टेल घाट, स्वीमिङपुल घाट, गौरी घाट, पहारी घाट, फेवाघाट, अम्बोट घाट र बङ्लादी गरी कुल ८ घाट दर्ता छन् भने ठूलो सानो गरी ३ सय बढि डुंङ्गाहरु सञ्चालनमा छन् ।

जर्मनबाट पहिलो पटक नेपाल आएका केनी टेउले प्राकृतिक सौन्दर्यताको चर्चा गर्दे भन्छन्, ‘भेरी गुड ।’ गौरीघाटको क्षेत्रलाई अझ पर्यटकको गन्तव्य बनाउन र कृत्रिम सौन्दर्यताको लागि सरकारी पक्षबाटै चाँसो देखाउन पर्ने बाह्य पर्यटक केनी टेउको भनाइ थियो ।

हेल्लो गण्डकी सरकार !

गण्डकी प्रदेशलाई नारा र भाषणमा मात्रै पर्यटकीय राजधानी बनाउनेकी बिकसित पनि गर्ने ? भन्दै प्रश्न गर्छन् युवा समाजसेवी अनिल थापा । उनी गौरीघाटको लागि मात्र नभई लेकसाइडको पर्यटकीय गतिविधि र पूर्वाधारको विकास गर्न लागि परेका छन् ।

तर उनको गुनासो गण्डकी प्रदेश प्रति छ, गौरीघाटमा निर्माणाधिन गौरीपार्कको काम रोकिएको बताउँदै भन्छन्, ‘प्रदेश सरकारले छुट्याएको कर काटेर दिएको ४ लाख ३१ हजारले अपुग भएकै कारण काम रोकिएको छ, प्रदेश सरकारले ठाउँ चिन्न सकेन ।’

५ लाखको लागतमा गौरी घाटको प्रवेशद्वार र सिँढीमा ढुंङ्गा बिछ्याइएको बताउँदै स्थानीयको श्रमदान, व्यक्तिगत सहयोग र डुंङ्गा व्यवसायी समितिको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरेको सुनाउँछन् ।

फेवातालको मुहार गौरीघाटको संरक्षण, प्रबद्र्धन र सौन्दर्यकरणको बिषयलाई प्रदेश सरकार तथा स्थानिय सरकारले बिशेष चाँसो दिन पर्ने युवा पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (तान) का अध्यक्ष हरि भुजेल बताउँछन् ।

हिमागृह र रत्नमन्दिरको बिचको संरक्षण क्षेत्र भित्र पर्ने गौरीघाटको ऐतिहासिक महत्व रहेकाले यसको संरक्षण र प्रबद्र्धन गर्नुपर्ने उनको भनाई छ । ‘ड्यामसाईडमा झण्डा पार्क बनाउन ४ करोड बिनियोजन हुन्छ तर फेवातालको अनुहारको विकास र प्रबद्र्धनका निम्ति त्यसको ५ प्रतिशत पनि बजेट छुट्याईदैन,’ भुजेल भन्छन्, ‘यो दुखद कुरा हो, यस्तो त छ बिडम्वना ।’ लेकासाइडको विकास जरुरी छ भने गौरीघाटको स्वरुपमा परिवर्तन आउन अतिआवश्यक रहेको भुजेलको धारणा छ ।

पोखरालाई साँच्चिकै पर्यटकीय केन्द्र बनाउनका लागि र फेवातालको गरिमा अझ उचो बनाउन गौरीघाट जस्ता ओझेलमा परेका अन्य घाटहरुको समेत संरक्षण र प्रबद्र्धन गर्न आवश्यक छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.