www.tandavnews.com
Fact ~ In search of truth

एचआईभी संक्रमित गोपालको प्रेरणादायी अभियान, २०१९ मा सगरमाथा चढ्ने

पोखरा
ताण्डव न्यूज ।

एचआईभी संक्रमित तथा पूर्व लागू औषध प्रयोगकर्ता गोपाल श्रेष्ठ आगामी सन् २०१९ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन् ।

विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत सन् २०१५ मा सगरमाथा चढ्ने प्रयास गरेका गोपाल विनाशकारी महाभूकम्पका कारण विफल बनेका थिए ।

Batas

एचआईभी र एड्ससँग सम्बन्धीत भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने प्रयास भएपनि विफल भएका कारण दोस्रो प्रयास स्वरुप अभियानको थालिने भएको पोखरामा आयोजित एक कार्यक्रमका बीच जानकारी गराइयो ।

‘अभियानले मूलतः मानिसको प्रेरणासँग दाँजेको हुन्छ,’ स्टेप अप क्याम्पियनका संयोजक पदमराज पहारीले भने, ‘संक्रमित भएपनि सम्पूर्ण रुपमा आफू अन्य मानिस सरह सक्षम रही राष्ट्रको नाम उचो राख्ने गोपाललाई हामी साथ दिन्छौं ।’
कार्यक्रममा अभियानलाई सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

पोखरा–६, वडासदस्य एवं अभियानका सहसंयोजक विष्णु बहादुर भट्टराईले २५ हजार नगद रुपैयाँ हस्तान्तरण गरे । भट्टराई स्थानीय तहको जनप्रतिनिधि चुनिएर आईसकेपछि सरकारबाट पाउने तलब रकम सामाजिक कार्यमा खर्च गर्ने गरेको बताउँदै गोपालको प्रेरणादायी अभियानमा सहयोग गर्न पाउँदा हर्षित भएको सुनाए ।

नेपाली गायक एवं अभियानका सांस्कृतिक उपसमिति संयोजक कर्ण दासले नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । यसैगरी लायन्स क्लब अफ पोखरा लेकसाइडको तर्फबाट २२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्दै क्लबका अध्यक्ष बलराम पहारीले व्यक्तिगत ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।

टे«किङ एजेन्सी अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलल संस्थागत रुपमा ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, संघबाट अभियानकर्ता गोपाललाई १० लाख रुपैयाँ बराबरको मृत्यु बिमा, ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा सहित ५ हजार मिटर उचाईसम्ममा आपतकालीन अवस्था आईपरेमा हेलि रेस्क्यूको व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

गोपालको अभियानमा जोडिएर प्रत्यक्ष साथ दिँदै आईरहेकी निरु लामाले नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरिन् ।

कार्यक्रममा अभियानलाई सगरमाथाको चुचुरोसम्म पु¥याई सफलता पूर्वक सम्पन्न गर्न विभिन्न गैह्रसरकारी संघसंस्थाले क्रमिक रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नागरिक जागरण अभियानको तर्फबाट संयोजक अञ्जु केसीले गोपालको अभियानले एचआईभी रोगबाट ग्रस्त व्यक्तिहरुलाई उत्साह थप्ने कार्य गरेको बताउँदै आफू र आफ्नो संस्थाबाट प्रत्यक्ष सहयोग गरिने जानकारी दिइन ।

अभियानकर्ता गोपाल यसअघि सन् २०१३ मा विश्वका अग्ला शिखरहरु मध्येका हाई पास (थोर्राङला), सन् २०१४ मा आइसल्याण्ड पिक (६१८० मिटर), सन् २०१६ नोभेम्बरमा भर्जिन पिक (खानकार्पो) सफल आरोहण गरिसकेका छन् ।

सन् २०१५ मा सम्पूर्ण तयारीका साथ सगरमाथा आरोहण गर्ने क्रममा महाभूकम्पका कारण आधार शिविरबाटै फर्केर आएका गोपालले सो समयमा आरोहण समूहका ५ सदस्य साथी गुमाउनु परेको तीतो अनुभव सुनाए ।

‘सगरमाथाको चुचुरोसम्म पुग्ने सपना अधुरै रह्यो,’ उनले भने, ‘फेरी अग्रसर भएको छु, सबैको साथ सहयोगले मेरो प्रणलाई विफल बनाउने छैन् म विश्वस्त छु, सगरमाथाको चुचुरोमा म पुग्ने नै छु ।’

५६ वर्षीय गोपाल नेपाली राष्ट्रिय ए डिभिजन क्लबको पूर्व फुटबल खेलाडी समेत हुन् । विगत २५ वर्ष देखि उनी एचआईभी संक्रमित छन् । उनी र उनको संस्था स्टेप अप क्याम्पियनले विश्वभर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै विश्व समुदाय माझ फरक पहिचान स्थापित गराउने ध्येयले साहसिक कार्यमा जुट्न प्रेरणा दिँदै आईरहेको जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.