www.tandavnews.com
Fact ~ In search of truth

हरियो चुरा अनि साउन

अबको केहि  दिनपछि हाम्रा टाईमलाईन, बाटो, कार्यालय र घरहरू हरिया चुराले संगीतमय हुनेछन् । राता, काला, गुलाबी र अन्य रंगलाई हरियो र हल्कापहेँलो रंगले बिस्थापित गर्नेछ । सात आठ वर्ष यता हरेक साउनले मेहन्दी र हरियो रंग उपहार बोकी आउँछ ।

साउनले कहिलेदेखि हामीमा हरियाली थप्यो ? भन्ने विषयमा यथेष्ट जानकारी पुग्नेगरी सामाग्री राखिएको पाईँदैन । साउने संक्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकोले साउनलाई धार्मिक द्दृष्टिकोणले पनि महत्वपुर्ण मानिन्छ । यस दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणतर्फ जाने भएकोले दिन छोटिँदै जाने र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

भर्खरै रोपाई सकिने भएकोले साउने संक्रान्तिमा लुतो फाल्ने चलन पनि रहेको छ कहिँकतै । साउन महिनामा पितृकार्य, खिर खाने दिन आदी थुप्रै विषय जोडीएका छन् । एक महिनालाई भएपनि बार्न सक्नेले माछामासु, मदिरा सेवन नगर्ने बताउँछन् । धार्मिक दृष्टिकोणले महत्वपुर्ण मानिएको भनिएको साउनले कतिको पुण्य थप्छ ? त्यसको ग्यारेन्टी नभएपनि धर्मकै त्रासले मद्यपान रोक्नु स्वास्थका लागि भने राम्रै हो ।

Batas

हिन्दू विवाहित नारीले साउनमा सोमबारको ब्रत बसी पतिको दिर्घायूको कामना गर्दै पूजाआजा गर्छन् भने अविवाहितहरू योग्यवरका लागि ब्रत बस्ने गर्दछन् । भर्खरै विवाह भएकी बुहारी साउने पानी छल्ने भनि माईत जाने अर्को चलन पनि हिन्दु धर्मावलम्बीमाझ छ ।

सासु र बुहारी एकै घरमा बस्न नहुने भन्ने भनाईलाई विश्वास गर्दै बुहारीहरूले केही समयका लागि वा साउन भरकै लागी बिदा पाउँथे । समय अभाव, रोजगारी जस्ता विभिन्न कारणले अचेल साउने पानी छल्न माईत जाने क्रम पनि घट्दै गएको देखिन्छ ।

यहाँ उल्लेख गर्न अझै धेरै बाँकी रहेको साउनलाई केवल हामीले हातका दुई दर्जन चुरा र एक झुत्तो पोतेमै वर्णन गरिदिएका छौँ । साउन गए संगै हातका मेहन्दी र चुरासँग फुकालिएर जानेछन् । देखासिकीले नै किन नहोस् थोरै खुसी थप्ने साउनले धन्न सुन किन्न सुझाउँदैन । काँचका चुरा र सादापोेतेले उमंग थप्ने साउन सायद सबैलाई मन पर्छ ।

हरियो चुरा, बर्खे झरीले हरियो रंगलाई अझ गाढापन थपिदिन्छ । साउनसँग कहिले देखि हरिया काँचका चुरा र पहेँलो अनि हरियो पोते जोडीन पुग्यो भन्ने बारे कतै उल्लेख गरेको भेटिएन । केही वर्ष अघिसम्म नेपालमा खासै नसुनिएको र नदेखिएको हरियो सँस्कृति भारतिय टेलिसिरियलको प्रभाव हो भन्दा फरक नपर्ला ।

चुरा र पोतेले वैगुन थप्ने त होइन तर साउनको खास महत्व बिर्सेर पोते र चुरा अनि मेहन्दीले नयाँ ईतिहास रच्दा भोलीको पुस्ताले पनि साउन बारे बुझ्न खोज्दा भोली पर्सी विकीपेडिया र गुगलका अपुष्ट श्रोतमा भर पर्नुपर्ने बाध्यता आईलाग्न सक्छ । हामी फेसनलाई जति चाँडो टिप्न सक्छौँ उसैगरी संस्कृति समेत बुझिराख्न आवश्यक देखिन्छ ।

कतिपय कुरिती बाहेक हामीले मान्ने हरेक चाड, पर्व तथा दिनले आफ्नै महत्व बोकेका छन् । कुन दिनले के अर्थ राख्छ ? कुन पर्वको के महत्व छ ? भन्ने विषयमा जानकारी राख्नु पनि जरूरी छ । आज भोलीनै हामीले मान्ने आधाचाड पर्वको आधा जानकारी पनि हामी धेरै जसोलाई हुँदैन ।

अघिल्लो पुस्तासँग सिक्न आवश्यक नठान्नु, पाठ्य पुस्तकमा विस्तृत रूपमा उल्लेख नगरिनु तथा हामी आफैले चासो नदेखाउँदा साउनले हरियो चुरा देखाएझैँ माघे संक्रान्तीले किनेको तरूल र लड्डु देखाउँछ । होलीले सप्तरंग सहिका सेल्फी देखाउँछ । चाडका अघि पछि जोडिएका महत्व र आवश्यकता यसै ओझेल ।

अन्त्यमा राम्रो कुरा सिकेकै जाती अनि सिकाएकै जाती त्यसले धेरै प्रभावित बनाउँदैन तर राम्रो कुराले जब हाम्रो कुरालाई विस्थापित गर्दछ तब हाम्रो भन्ने रहँदैन मात्र राम्रो रहन्छ । सबैलाई हरियो साउनको शुभकामना ।

लेखकबाट थप

उनकै छोरी तरुनी हामीलाई केको दोष ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.