www.tandavnews.com
Fact ~ In search of truth

संरक्षणको पर्खाइमा गुफा पोखरी

– सुरज हजारे दाहाल

प्रदेश नं १ मा अवस्थित संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाको उत्तरी भेगमा अवस्थित गुफा पोखरी प्राकृतिक रुपमा निर्मित दह हो । २८९० मिटरको उचाइमा रहेको गुफा पोखरी हिन्दू र बौद्ध धर्मावलम्बीहरु तीर्थ स्थल पनि हो ।

पोखरी भन्दा केही पर रहेको मन्छायम् नामक डाँडा पछाडि गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयहरु बताउँछन् ।

Batas

बिसौं शताब्दीमा गुफामा बसेर पूजारीहरुले ध्यान गर्ने गरेको र उनीहरुले पोखरीको नाम नै गुफा पोखरी राखेको जनश्रुती रहेको पाइन्छ । गुफा पोखरीलाई पहिला भने सिद्ध पोखरी भन्ने गरिन्थ्यो । आफूले चाहेको कुरा सिद्ध हुँदै आएकोले पोखरीको नाम नै सिद्ध पोखरी हुन गएको थियो ।

गुराँसको राजधानी भनेर चिनिने टिएम्जे क्षेत्र भित्र गुफा पोखरी पर्छ । यहाँसम्म आउँदा भने तेह्रथुम जिल्ला अथवा ताप्लेजुङ हुँदै आउनुपर्ने भएकोले बिच बाटोमा तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ जातको गुराँसको घना जंगल देखिन्छ ।

साथै मौसम खुलेको दिन मकालु, कञ्चनजंघा र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ । पोखरी आसपासको जंगलमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइन्छन् ।

गुफा पोखरीसँगै गुफा बजार नामक मानव बस्ती छ । यस बजारमा १६ घरधुरीले होटल व्यवसाय गरेर बसेका छन् । ति मध्ये बढी चल्ने र प्रख्यात भने होटल याक एण्ड लज हो । शेर्पा दम्पत्तिले चलाएको यस होटलमा नाकको छुर्पी तथा घिउ र बंगुरको मासुको परिकार पाइन्छ ।

संकट झेल्दै पोखरी

गुफा पोखरीमा रहेको पानीको श्रोत मूलको पानी भएकोले हाल यो संकटमा परेको छ । मूल सुक्दै गएको र नदी नाला पनि नहुँदा केहि वर्ष यता पानीको सतह र पोखरीको आकार घट्दै गएको छ ।

केहि वर्ष अगाडिसम्म हिउँ परेपछि पग्लिएर पोखरीमा पानीको मात्रा बढ्ने गरेकोमा हिउँ नै पर्न छोडेपछि गुफा पोखरीको भविष्य खतरामा परेको छ । पोखरीलाई संरक्षित गर्ने उद्देश्यले तत्कालिन जिल्ला विकास समितिले ५ लाख रुपैयाँबाट पोखरी क्षेत्रमा ४०० मिटरको तारबार गरि गेट हालेको थियो ।

गेटमा ताल्चा लगाइएकोमा पर्यटक आउँदा समेत गेट खुल्दैन । गेट नखोलिदिदा पर्यटकले छेउको डाँडा चढेर पोखरीको तस्विर लिने तथा दृश्यावलोकन गर्छन् । मानव अतिक्रमणबाट जोगाउन तारबार गरिए पनि पानी नै सुक्दै जाँदा पोखरीको अगाडिको भागामा बालुवा देखिन्छ ।

स्थानीयका अनुसार प्राकृतिक रुपमै बनेको गुफा पोखरीमा ५ वर्ष अगाडि सम्म पानी टनाटन थियो तर पानीको मुहान सुकेपछि आधा घटेको हो । पोखरी घट्दै गए पनि बैशाख महिनामा गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउँदा आन्तरिक पर्यटक गुफा पोखरी भने पुगेरै छोड्ने गरेका छन् ।

पर्यटकहरु आइरहे होटल व्यवसायीमा भने पोखरीमा पानी घट्दा चिन्ता छाएको छ । स्थानीय सरकारले पानीको श्रोत पहिचान गरेर अथवा बैकल्पिक तरिकारले अन्यत्रबाट पाइपको सहायताले भए पनि पानी ल्याएर लोप हुन लागिरहेको पोखरी संकटबाट बचाउनु पर्छ । गुराँसको जंगल मासिदै गएकोले पानीको श्रोत सुक्दै जाँदा आसपासका नांगा डाँडामा वृक्षारोपणको खाँचो देखिएको छ ।

गुफा पोखरीसँगै गुफा बजार नामक मानव बस्ती छ । यस बजारमा १६ घरधुरीले होटल व्यवसाय गरेर बसेका छन् । ति मध्ये बढी चल्ने र प्रख्यात भने होटल याक एण्ड लज हो । शेर्पा दम्पत्तिले चलाएको यस होटलमा नाकको छुर्पी तथा घिउ र बंगुरको मासुको परिकार पाइन्छ ।

यिनीहरुको आफन्तले खोलेको ठूलो होटल भने तेह्रथुमको बसन्तपुरमा रहेको छ । यहाँका सबै होटलले स्थानीय परिकार, याकको मासुको सुकुटी, लोकल कुखुरा, हिमाली सिमीको दालले आतिथ्य सत्कार गर्ने गरेका छन् ।

यसरी पुग्ने

पोखराबाट हरेका बेलुकी साढे ४ मा धरानको लागि बस छुट्ने गर्छ । बिहान ७ बजे धरानमा ओर्लिएर सोहि दिन अथवा आरामा गरि भोलिपल्ट बिहान ९ बजे धरानबाट तेह्रथुमको बसन्तपुरसम्म जाने बस पाइन्छ ।

बसन्तपुरबाट अर्को दिन जिप चढेर गुफा पोखरी पुगिने भए पनि हाल सरकारले २० वर्ष पुगेका जिप प्रतिबन्ध गर्दा यात्रामा समस्या देखिन सक्छ । जिप बन्द भएपछि साँघुरो बाटोमा जोखिम मोलेर बस चले पनि पोखरीसम्मै नपुग्ने हुँदा ३ घण्टा हिड्नुपर्छ ।

१२ हजार रुपैयाँ खर्च गरी गुफा पोखरी पुगेर फर्किन सकिन्छ तर आसपासको अन्य क्षेत्रहरुका लागि भने खर्च बढ्छ ।

 

लेखकबाट थप

म त लालीगुराँस भएछुँ…

रारामा डुङ्गामा सरर‍…

याक, नाक र चौंरीमय पाँचथर

कर्णाली – रारा पर्यटन वर्ष २०७५

दार्जिलिङ : पहाडको छुकछुके रेल …

गाभर भ्यालीः गर्मीमा छहारी

स्वर्गद्वारीः मृत्यु अघिकाे स्वर्ग

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.