www.tandavnews.com
Fact ~ In search of truth

गुण्डागर्दी शैलीमा असुली गर्दै असई केसी

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा समालेका नयाँ एसपी ओमबहादुर रानाले बुधबार पत्रकार सम्मेलनमा गुण्डागर्दी विरुद्ध कडा कारवाही गर्ने भनिरहँदा प्रहरीले नै गुण्डागर्दी शैलीमा रकम असुल्ने गरेको आरोप लागेको छ ।

प्रहरी चौकी सराङकोटमा कार्यरत असई गोविन्दबहादुर केसीले प्याराग्लाइडिङ व्यवसायीसँग मान्छे उडाए बापत कमिसन माग्ने गरेको गुनासो आएको हो । असई केसीले कमिसन, मोबाइल र अन्य सामग्री नकिन्दिए गाडी रोकिदिने धम्की दिएको अग्नी प्याराग्लाइडिङका संचालक करणजङ क्षेत्री ताण्डव न्यूजसँग गुनासो पोखे ।

Batas

‘मैले धेरै चोटी असई साबले भनेका मान्छेलाई प्याराग्लाइडिङ फ्रीमा गराइदिए, त्यति मात्र होइन लेकसाइड आउँदा उहाँले फोन गरेपछि तीन चार पटक बिल पनि तिर्न पुगे,’ उनले भने, ‘अहिले मोवाइल मागेका छन् । त्यति मात्र होइन प्रति व्यक्ति उडाउँदा कमिसन पनि माग्ने गरेका छन् । मैले अरु जस्तै राम्रोसँग काम गरेको छु कागजात पनि ठिक छ तर बेला बेलामा मोटो रकम मागेर मानसिक तनाव दिनु हुन्छ ।’

असई केसीलाई फ्लाइङ हिमालय प्याराग्लाइडिङले समेत खुसी पार्न कोरियन ब्राण्डको रेनकोट समेत किन्दिएको स्रोतले बतायो । ‘एक महिना अघि असई केसीले नै रेनकोट माग्नु भयो,’ स्रोतले भन्यो, ‘नदिम त प्याराग्लाइडिङका लागि पर्यटक बोकेको गाडीनै रोकिने डर ।’ व्यवसायी क्षेत्रीलाई मात्र होइन अरु व्यवसायीसँग पनि यसरीनै गुण्डागर्दी पारामा रकम असुल्ने गरेको आरोप लागेको छ ।

केसीलाई रकम असुली मात्र होइन राम्रोसँग प्रहरीको जिम्मेवारी सम्हाल्न नसकेको आरोप समेत लाग्दै आएको छ । असई केसीले आफ्नो मातहतका प्रहरीले मापसे गरी होहल्ला मच्चाउँदा समेत आफू अनविज्ञ रहेको भन्ने गैरजिम्मेवारी तर्क दिएका थिए ।

त्यही गुनासोको आधारमा केसीलाई घटनाबारे वडा प्रहरी कार्यालय वगरका प्रमुख तथा इन्स्पेक्टर दुर्गा श्रेष्ठले वैशाख २७ गते लिखित स्पष्टीकरण समेत मागेका थिए ।

पछिल्लो समय असई केसीको बारेमा गुनासो बढ्दै गएपछि रकम असुलीको घटना बाहिर आउँछ भन्ने डरले व्यवसायी करणजङ क्षेत्रीलाई निवेदन लेख्न लगाए ।

असई केसीले आफ्नो प्रशंसा गर्दै आफैंले निवेदनको खेस्रा तयार गरि व्यवसायी क्षेत्रीलाई सार्न लगाएर हस्ताक्षर समेत गर्न दवाव दिएका थिए । असई केसीले आफूलाई जर्बजस्ती निवेदन लेख्न लगाएको व्यवसायी क्षेत्रीले बताए ।

‘असई केसीले कमिसन नमागेको, धम्की नदिएको र मोबाइल नमागेको भन्ने व्यहोराको निवेदन नेपाली कागजमा मलाई सार्न लगाए हस्ताक्षर हान्न लगाए,’ उनले भने, ‘तर मैले हस्ताक्षर गरिन् । मलाई उहाँले पटक–पटक रकम मागेको हुनाले म मिडियामा आउन बाध्य भएको हुँ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले गल्ती गरेको प्रमाणित भए कारवाही गर्ने बताए । ‘प्रहरी होस् या जो कोही होस् गलत गर्छ भने कारवाही हुन्छ,’ उनले भने, ‘अझ मेरा मातहतका प्रहरीबाट यस्तो काम हुन्छ भने म कुनै पनि हालतमा कडा कारवाही गर्छु ।’

आफूले कसैसँग पनि रकम नसुलेको असई गोविन्द केसीले बताए । ‘मैले कसैसँग रकम मागेको छैन्,’ उनले भने, ‘मैले मेरो जिम्मेवारीको काम राम्रोसँग गरेको छु ।’

असई केसीले आफ्नो प्रशंसा गर्दै आफैंले तयार पारेकाे निवेदनकाे खेस्रा । जुन व्यवसायी क्षेत्रीलाइ सार्न लगाएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.