www.tandavnews.com
Fact ~ In search of truth

‘च्यारिटीमा अल्झिरहेछ गुरुङ चलचित्र’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ यो स्लोक गुरुङ (तमु) समुदायमा अति प्रचलित रहेको छ । तर तमु समुदायमा मात्र प्रचलित भएतापनि यसको महत्व अन्य समुदायमा पनि रहन उत्तिकै जरुरी छ । बिशेषतः यसको अर्थ ‘शास्त्र हराए संस्कार हराउँछ, संंस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व (पहिचान) नै हराउँछ’ भन्ने हो ।

त्यसैले जुन समुदायको मौलिक भाषा, धर्म, कला, संस्कार तथा संस्कृति रहेको छ त्यो समुदायको लागि यो स्लोक महत्वपुर्ण रहन्छ र रहन पनि जरुरि देखिन्छ । बिशेषतः गुरुङ समुदायमा आधार रही बनेका चलचित्रहरु पनि यहि स्लोकको मर्यादामा रहेर बनाइएको पाइन्छ । चलचित्र रोचक बनाउन र दर्शकहरुको ध्यान खिच्न माया प्रेमकोे बिषयलाई केन्द्र बनाइन्छ । यद्यपि निर्माण हुनेगरेका चलचित्रहरु तमु भाषा, तथा संस्कार संस्कृतिमै आधारित हुने गरेको चलचित्रकर्मीहरु बताउँछन् ।

Batas

उनीहरुका अनुसार गुरुङ समुदायका चलचित्रहरु केवल बिशेष प्रदर्शन (च्यारिटि शो) मा मात्रै अल्झिरहेको छ । सानो बजार, बितरकले जाति बिशेषको फिल्म लिन नखोज्नु, निर्माण पक्षले जोखिम मोल्न नसक्नु तथा गुणस्तरिय चलचित्र नबन्नुका कारण तमु चलचित्रहरु च्यारिटीमै अल्झिनुपरेको हो ।

गुरुङ चलचित्र एशोसियसन नेपाल (जिफान) का अध्यक्ष गिरी प्रसाद गुरुङले च्यारिटी मा मात्र अल्झिन नहुने भन्दै यथाशिघ्र त्यसको विकल्प खोजी गर्ने बताउँछन् । गुरुङ समुदायको इतिहासमै बिसं २०५२ सालमा पहिलो तमु चलचित्रको रुपमा पाते (माइली) निर्माण भएको थियो । पछिल्लो दुई दशकको अन्तरालमा बनेका तमु चलचित्रहरु गुणस्तरिय बनेको गुरुङ सुनाउँछन् । उनी भन्छन्, ‘तुलनात्मक रुपमा तमु चलचित्रको क्षेत्रमा परिवर्तन भएको छ तर यो परिवर्तन यथेस्ट होइन, यसको बजारिकरणमा मुख्य ध्यान दिन पर्ने हुन्छ ।’

तमु चलचित्रहरुले तुलनात्मक रुपमा मेन स्ट्रिमसँग प्रतिस्पर्धा गर्न नसकेको स्वीकार गर्दै आफ्नो समुदायको भाषा, कला तथा संस्कार संस्कृति जगेर्ना तथा सम्र्बद्धन गर्न मद्दत पुगेको गुरुङ सुनाउँछन् ।

च्यारिटी शो मार्फत लगानी उठाउने नाममा दर्शकहरु मारमा पर्ने भएकाले तमु चलचित्रको लागि छुट्टै चलचित्र घर बनाउने लक्ष्य राखेको गुरुको भनाइ छ । ‘तमु धि नेपाल अन्तर्गतको एउटा बहुउद्देश्य भवन को डिपिआर तैयार भैसकेको छ, उनी भन्छन्, ‘अबको २/३ बर्षमै भवन निर्माणको काम हुनेछ । यसले प्रदर्शन कहाँ गर्ने भन्ने समस्याको हल गर्छ ।’

गुरुङका अनुसार बिसं २०६५ सालमा गुरुङ चलचित्र एसोसियसन नेपालको स्थापना भएको हो । अहिले सम्म गुरुङ भाषा तथा समुदायका चलचित्र २५० भन्दा बढि निर्माण भैसकेको अध्यक्ष गुरुङ बताउँछन्् । ‘यति धेरै फिल्म बनिसक्दा पनि बजार प्रबद्र्धन हुन सकेको छैन, च्यारिटी कै भरमा, पुसिङ टिकेटको भरमा हामीले फिल्महरु देखाउन पर्ने बाध्यता छ, उनी भन्छन्, ‘यसको केही तत्वहरु छन् चलचित्रको गुणस्तर नभएको पनि होला, शैक्षिक योग्यता हासिल गरेर कुनै प्रशिक्षकसँग तालिम लिने दक्ष ब्यक्तिहरु खासै छैनन्, खाली रहरै रहरको भरमा बनाउदा बनाउँदा अनुभव बटुलेर यति सम्म भएको छ । त्यसैले सोचेजस्तो गुणस्तरिय नहुनु स्वाभाबिक नै हो ।’

त्यस्तै तमु चलचित्रको निर्देशन क्षेत्रमा उदाउदा एक नक्षेत्र हुन् जस्सु गुरुङ । उनले तेस्रो आदीवासी जनजाति चलचित्र महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारिसकेकी छिन् । गुरुङको तमु चलचित्रको क्षेत्रमा लामै संघर्ष रहेको छ । कोरियोग्राफी देखि सुरु भएको उनको संघर्ष सह–निर्देशन हुदै निर्देशन (म्ले क्यु) सम्मको स्वाद लिन भ्याई सकेकी छिन् ।

उनी पनि तमु चलचित्रहरु च्यारिटिकै आडमा टिकिरहेको बताउँछिन् । नेपाली कथानक चलचित्रहरु जस्तै दैनिक प्रदर्शनमा जान नसक्नु पछाडी कैंयौ कारणहरु रहेको तर्क दिन्छिन् गुरुङ । ‘फिल्म बितरकले जातिय फिल्म भनि लिन मान्दैन, लिएपनि रिक्स मोल्ने कि नमोल्ने प्रश्न गर्छ,’ उनी भन्छिन्, ‘हामी निर्माण पक्षले ३०/४० लाख रुपैयाँ जोखिम मोल्न सक्दैनौ त्यसोत फिल्म बन्दा नै यतिका खर्च भैसकेको हुन्छ । फेरी रिक्स लिन चाहदैनन् प्राय फिल्म मेकरहरु, त्यसैले लागत उठाउने आशामा हलमा लगाउनुको सट्टा च्यारिटी गर्नुको विकल्प नै छैन ।’

जातीय संस्कार–संस्कुतिमा आधारित फिल्महरुलाई मेन स्ट्रिमका मेकरहरुले हेर्ने दृष्टिकोण नै फरक रहेको नायक सोम गुरुङको बुझाइ छ ।

‘गुरुङ समुदायका चलचित्र भन्ने बित्तिकै जातियतासँग जोड्ने मनोबृतिका कारण पनि दर्शक कम भाको हो,’ उनी भन्छन्, ‘हाम्रो बजार नै सानो छ त्यहीमाथि थोरै गुरुङहरुले मात्रै हेर्नुहुन्छ, त्यसैले च्यारिटी गर्नुपर्ने स्थिति भएको हो ।’

मेन स्ट्रिम चलचित्रसँग दाज्न मिल्ने गुरुङ चलचित्रहरु पनि पछिल्लो समय बनिसकेको नायक गुरुङ बताउँछन् । गुरुङ भन्छन्, ‘सौखको लागि फिल्म बनाउनेहरुका कारण दक्ष फिल्मकर्मीहरुलाई असर परेको हो । उनीहरुले राम्रा चलचित्र पस्किनै पाएका छैनन् त्यसैले बजारमा क्वालिटीका फिल्महरु नदेखिएका हुन् ।’

नायक गुरुङ आफ्नो समुदायमा परिचित मात्र होईनन् उनी लोकप्रिय समेत छन् । आगे ह्युलरी बाट अभिनय यात्रा थालेका उनले अहिले सम्म उनले दर्जनौ चलचित्रमा नायकको भुमिका निर्वाह गरिसकेका छन् ।

गुरुङ चलचित्रमा मात्र नभई सिङ्गो समुदायमा योगदान पु¥याएका निर्देशक मध्येका युगबहादुर गुरुङ पनि एक हुन् । चलचित्र सैं (मन) बाट निर्देशन सुरु गरेका उनले मां (आमा) तथा फ्रिसी (युवा) लगायतका फिल्ममा आफ्नो अब्बलपन दर्शाइसकेका छन् । तमु समुदायका चलचित्र च्यरिटीमै अड्किनुमा शैक्षिक स्तर र दक्षताको कमीलाई मुख्य जड मान्छन् गुरुङ ।

‘शैक्षिक स्तर नभएपछि दक्षता हासिल हुदैन, त्यो क्षेत्रमा पोख्त नभएसकेपछी आउटपुट राम्रो हुदैन,’ उनी भन्छन्, ‘अझ मेन कुरा त राम्रोलाई भन्दा हाम्रोलाई फिल्ममा स्थान दिइन्छ, अनि गणस्तरमा प्रश्नचिन्ह उठ्छ ।’

केही निर्माताहरुले सौख र समाजमा आफ्नो स्थान जमाउनका लागि फिल्ममा लगानी गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘दर्शकहरु पनि त्यति चेतनशिल नभाको कारण फिल्म मेकरहरु पनि सिरियस नभएको होकी भन्ने लाग्छ, हाम्रो समुदायको चलचित्र दर्शक र समाजको लागि भन्दा आफ्नो निर्माताको लागि बन्छ । सबै नराम्रा मात्रै पक्ष छन् भन्ने होइन सबभन्दा गुरुङ समुदायका गीतहरुले सिङ्गो नेपालकै संगित क्षेत्रमा ठुलो योगदान पु¥याएको छ ।’

उनका अनुसार गुरुङ फिल्म बनाउनका लागि नायक नायिका तथा निर्देशक गुरुङ हुनैपर्ने र प्राविधिक तथा भाषा ७० प्रतिशत गुरुङ हुनैपर्ने नियम रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.