www.tandavnews.com
Fact ~ In search of truth

हल अभावमा रोकियो गाईजात्रा

सुशन घिमिरे
पोखरा, ताण्डव न्यूज ।

हास्य कलाकारहरुको दशै‌ँ हो,गाईजात्रा । दुःखमा परेकाहरुलाई खुशी बनाउने प्रचलनबाट बिस्तारै परिष्कृत हुँदै हास्य–व्यङ्गसम्म आइपुगेको छ यो पर्व ।

आफूलाई चित्त नवुझेका कुराहरुलाई व्यङ्ग्यात्मक शैलीमा पोख्ने अवसरको रुपमा गाईजात्रालाई लिँदै आइएको छ ।

Batas

प्रधानमन्त्रीदेखि नेता सम्मलाई बोलाएर उनीहरुमाथि नै चोटिलो प्रहार गर्ने काम हरेक वर्ष हुन्छ । जनताको मनमा गुम्सिएका असन्तुष्टिलाई कलाकारहरुले व्यङ्ग्यात्मकरुपमा प्रस्तुत गर्ने गर्छन् । हेर्न जाने नेतादेखि दर्शकहरुमा हाँसोको फोहोरा छुट्छ ।

यसपालिको गाईजात्राको रौनक उत्साहजनक देखिएन । अघिल्ला वर्षसम्म हप्तादिन अघिदेखि नै रमाउने कलकारहरुलाई यस वर्ष त्यति छोएको पाइएन ।

मह, दीपक–दीपा, मनोज गजुरेल, जितु नेपाल, दमन रुपाखेती लगायत गाईजात्राका हस्ती अनि चल्तीका अनुहार हुन् । यसपालि उनीहरुमध्ये केही मात्रैले गाईजात्रा मनाए, धेरैले गाईजात्राको स्टेज चढेनन् ।
यसको एक मात्रै कारण हो, हल ।

काठमाडौंमा व्यवस्थित हलको अभावमा गाईजात्रा गर्न नपाएको दुखेसो छ, कलाकारहरुको । हाँस्यकलाकार मनोज गजुरेलले आफ्नो निष्कृयताका कारण नभइ भवनको अभावले गाईजात्रा हुन नसेको बताउँछन् ।

‘नयाँ कानुनको कारण होइन, बिआइसिसि सांसदको गाईजात्रा चल्दैन, खुल्लामञ्च बन्दैछ, सभागृहमा महङ्गीको गाईजात्रा छ, प्रज्ञा प्रतिष्ठानमा पुनर्निर्माणको गाईजात्रा चल्दैछ । जसकारण हामीले गाईजात्रा गर्न सकेनौं ’,उनले भने । पहिले जस्तो रौनक नभए तापनि स–साना कार्यक्रमहरु भइरहेको उनले बताए ।

‘हाम्रो निष्कृयता होइन, हामीले गाईजात्रा मनाएकै छौँ आफ्नो तरिकाबाट, लेखनबाट, सडक प्रस्तुतिबाट’, मनोजले सुनाए । खासगरी राष्ट्रिय सभागृहले चर्को मूल्य लिने गरेकोमा कलाकारहरुको दुखेसो छ । ‘राष्ट्रिय सभागृह राम्रो स्थान हो तर भाडामा लिँदा चर्को मूल्य तिर्न पर्छ । जुन थेग्न सकिँदैन । त्यहाँ महङ्गीको गाईजात्रा चलेको छ’ गजुरेलले भने ।

हास्यकलाकार दीपकराज गिरी पनि हलका कारण गाईजात्रामा प्रस्तुति दिन नपाउँदा दुःखी छन् । ‘एउटै मात्रै कारण हो, हल । प्रज्ञा प्रतिष्ठानको हल एउटा मात्रै छ । जुन निर्माणाधिन छ । त्यसमा सम्भव रहेन । नाचघरमा गर्न सकिन्थ्यो तर सानो छ । दर्शक धेरै हुने व्यवस्थापनमा समस्या हुने देखियो त्यसैले गाईजात्रा गर्न सकेनौं’ उनले भने ।

त्यसो त हास्य कलाकारहरु फिल्म निर्माणमा व्यस्त हुँदा पनि यस तर्फ ध्यान नगएको हो की जस्तो देखिन्छ । तर दीपक त्यसलाई स्वीकार्दैनन् । ‘ठूलो काम थाल्यो सानो काम छोड्यो भन्ने होला तर त्यस्तो होइन,’ उनी भन्छन् ‘गाईजात्रा गर्दा त हाम्रो आफ्नै फिल्मको पनि प्रोमोसन पनि हुन्थ्यो नि । हल राम्रो भयो भने अवश्य गरिन्छ । आगामी वर्ष हल तयार भयो भने गाईजात्रा गर्छौं ।’

अघिल्ला वर्ष गाईजात्रामा दर्शकहरुलाई पेट मिचिमिचि हसाएकी दीपाश्री निरौलाले यसपालिको गाईजात्रालाई खुब मिस गरिरहेकी छन् । ‘पानी कति बेला पर्छ थाहै हुँदैन, गाईजात्रा हेर्न आउने दर्शकलाई आउटडोरमा राखेर देखाउँदा थेग्नै गाह्रो हुने भएकाले गरेनौँ । तर अरुले गर्नुभएको छ एउटामात्रै गाईजात्रा भएको छ । मैले त गाईजात्राको रौनकलाई एकदम मिस गरेकी छु’ उनले सुनाइन् ।

गाईजात्रा मात्रै होइन अन्य कार्यक्रमहरु गर्नका लागि पनि काठमाडौंमा भवनको अभाव भैरहेको छ । जसको अर्को उदाहरण नेपालमा पहिलो पटक हुन लागेको जिसिने अवार्डको कार्यक्रम स्थल पनि हो । जुन अवार्ड कहाँ गर्ने भन्ने अन्यौलतामा रुमलिएको छ ।

अघिल्ला वर्षमा कार्यक्रम हुँदै आएको प्रज्ञा प्रतिष्ठान मर्मतको काम चलिरहेकाले पनि यसपटक गाईजात्रा माहौल उल्लासमय बन्न सकेन । भवनकै अभावमा कार्यक्रम गर्न नपाउनु दुःखद कुरा हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.