www.tandavnews.com
Fact ~ In search of truth

नेपालका बीस हिमताल फुट्ने जोखिममा

पोखरा ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताएका छन् ।

राष्ट्रिय ताल संरक्षण तथा विकास समितिद्वारा आजदेखि पोखरामा शुरु भएको दुईदिने अन्तर्राष्ट्रिय ताल सम्मेलन सन् २०१८ को उद्घाटन गर्दै उहाँले प्राकृतिक र मानव गतिविधिका कारणले सङ्कटमा परेका हिमाल, पहाड र तराई क्षेत्रमा रहेका कतिपय जलाशयको संरक्षणका लागि सरकार, निजी क्षेत्र र स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले चौतारा, पोखरीलगायत जैविक विविधताका मुख्य स्रोतको संरक्षणका लागि कानून बनाउने तयारीमा प्रदेश जुटेको बताए ।

पूर्वमन्त्रीद्वय कृपासुर शेर्पा र गणेश शाहले पानी प्रदूषण गर्ने जो कसैलाई पनि कानून बनाएर दण्डित गरिनुपर्नेमा जोड दिए । नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले ताल संरक्षण समितिले १२ वर्षमा तयार पारेका तथ्यांकका आधारमा मुलुकका तालको संरक्षण र विकासमा जुट्नुपर्ने बताए ।

नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले नेपालमा तीन हजार ३१० हिमाल रहेकामा आठ हजार मिटरभन्दा बढी उचाइका १४, सात हजार ५०० मिटरका १२२ र छ हजार मिटर उचाइ भएका एक हजार ३१० हिमाल रहेको र नेपाल सरकारले हालसम्म ४१४ हिमालको मात्र नामकरण गरेको बताउँदै उनले त्यस क्षेत्रमा रहेका हिमताल फुट्न सक्ने खतरा औँल्याए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा विश्वबहादुर भण्डारीले नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए ।

राष्ट्रिय ताल संरक्षण तथा विकास समितिका अध्यक्ष नानीकाजी थापाले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो उपयोगका लागि भएगरेका प्रयासका बारेमा सूचना, ज्ञान तथा अनुभव आदानप्रदान गर्ने विषयमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय ताल फाउण्डेशनका उपाध्यक्ष मासाहिस माकामुराले जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।

नेपाललगायत चीन, भारत, श्रीलंका, बंगलादेश, म्यानमा, जापानसहित सात राष्ट्रको सहभागिता रहेको उक्त सम्मेलनमा ‘जैविक विविधता, ताल र सिमसार क्षेत्रको संरक्षणमा देखिएका चुनौती र सम्भावना’ विषयमा २१ कार्यपत्र प्रस्तुत गरिने राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक लङ्कबहादुर शाहीले जानकारी दिए ।

त्यसअघि पोखराको मुख्य पर्यटकीयस्थल बाराहीचोकबाट ताल संरक्षण तथा प्रवद्र्धनसम्बन्धी नारा लेखिएको तुलसहित प्रभातफेरी निकालिएको थियो ।
–––

(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.