www.tandavnews.com
Fact ~ In search of truth

कहिले हट्छ प्रचार गेट ? नगर प्रहरी भन्छ ‘हामीलाई थाहा छैन’

पोखरा
ताण्डव संवाददाता ।

कुनै कार्यक्रम गर्नु अघि आयोजकले प्रचारको लागि पोखरा महानगरपालिका कार्यालयसँग गेट बनाउने अनुमती लिनुपर्छ । महानगरपालिकाले पनि कर तिरेर कार्यक्रमको प्रचारको लागि गेट निर्माण गर्ने अनुमती दिने प्रकृया छ ।

महानगरपालिकाको अनुमतीपत्र अनुसार कार्यक्रम सकिएको तीन दिन भित्रमा गेट हटाउनु पर्ने प्राबधान छ । तर महानगरपालिकासँग अनुमति लिएर ठेकदारले एक पछि अर्को प्रचार सामग्री राखेर रकम असुल्ने गरेको छ ।

 

Batas

हुन त महानगरले प्रचार गेट राख्न एउटा अवधि तोकेको छ । कुनै पनि आयोजक वा संघ संस्थाले कार्यक्रम सकिएको तीनदिन भित्रमा गेट हटाउनु पर्नेमा ठेकदारको चलखेलले एक पछि अर्को प्रचार सामग्री टाँस्ने गरिन्छ । अस्थायी रुपमा अनुमति दिइएको उक्त गेट सडकमा स्थायी रुपमै राख्ने गरिएको छ ।

अनुगमन नगर्दा आयोजक र केही ठेकदारहरुले मनपरी गरेको पाइन्छ । पृथ्वीचोकमा स्थायी रुपमै यसरी गेट राख्दा जाम हुने गरेको र सवारी साधनले सास्तीभोग्नु परेको गुनासो चालकहरुले गरेका छन् ।

महानगरपालिकाले चासो नदिँदा जथाभाबी गेट बनाउने गरेको मोटरसाइकल चालक सरोज केसी बताउँछन् । ‘महानगरपालिकाले कर मात्र लिएर हुन्छ,’ उनले भने, ‘यो हटाउने जिम्मा पनि महानगरपालिकाकै हो ।’ संघ संंस्थार ठेकदार पनि गैरजिम्मेवार रहेको उनको भनाई छ ।

‘आफ्नो स्वार्थ मात्र पूरा गरेपछि आयोजक संघसंस्थाले वेवास्ता गर्न मिल्छ ?,’ उनले भने, ‘यसरी एक पछि अर्को गर्दै प्रचार सामग्री टाँसेर स्थायी गेट निर्माण गर्न भन्दा महानगरले क्रक्रिट गेट निर्माण गर्दिए भैहाल्यो नि ।’

महानगरपालिकाले गेट निर्माण गर्ने अनुमती दिएपनि कार्यक्रम सकिएको ३ दिनभित्र हटाउनु पर्ने महानगरका कर अधिकृत शिवहरी शर्माले बताए । ‘हुन त महानगरपालिकाले पनि अनुगमन गर्नुपर्ने हो,’ उनले भने, ‘हामीसँग त कर तिरेर अनुमती लिने हो ।’ एक दिनको २ हजार कर तिरेर गेट निर्माण गरिने उनले बताए ।

महानगरपालिका आयोजक र प्रायोजक भएको हकमा भने निशुल्क निर्माण गर्ने गरेको शर्माले बताए ।

अनुगमन गर्ने जिम्मा नगर प्रहरीको भएपनि नगर प्रहरी प्रमुख तथा अधिकृत बसन्त चालिसेले आफूलाई यस विषयमा थाहा नभएको बताए ।

‘यस विषयमा मलाई केही थाहा भएन,’उनले भने, ‘कर शाखालाई सोध्नुहोस ।’

तस्बिर : सुदर्शन रञ्जित

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.