www.tandavnews.com
Fact ~ In search of truth

साँगुमुखका घरहरू

पोखरा
ताण्डव न्यूज ।

पुराना घरहरू भत्किन्छन् भत्काईन्छन्, यस्तो घटना सामान्य मानिन्छ । तर व्यक्तिको घर प्रशासनले भत्काउन दवाव दिँदा सामाजिक रूपले सहजता स्विकार गर्न सकिदैन ।

अरूको घर भत्काउनु पर्दा बोल्ने आवाजहरू भोली आफ्नै घर भत्काउन खोज्यो भने उ पनि बिरोध गर्दै हिड््न सक्छन् । किनकी आफ्नो घर कति प्यारो हुन्छ भन्ने आफैलाई मात्र थाहा हुन्छ ।

Batas

साँगुमुख चोकको केही घर प्रशासनले भत्काउने तयारी गरेको छ । जसमा एक घर गत बिहीबार भत्कायो । हुन त यी घरहरू घरधनीको सहमती पाए पछि मात्र भत्काउने तयारी गरेको हो । तर त्यो स्विकृती सहज निस्केको स्विकृती होइन ।

भित्र आत्मा केही रोयो होला, ति घरका मालिकहरूको । तर विकासमा आफूहरु बाधक बन्न नचाहेको अभिव्यक्ति दिएका थिए ति घर धनिहरूले । जनप्रतिनिधीहरूले विकासका बाधकका रूपमा यि घरहरू देखे तर यसको बिकल्पको खोजी गर्न बिज्ञहरूको सहयोग मागिएन । प्रश्न यो घर भत्काउनु पर्ने थियो वा थिएन भन्ने हो ।

सानो डहरको रुपमा सडक हुँदा बनेका यी घरहरु मापदण्ड मिचेर बनाइएका घर होइनन् । सवारीको बढ्दो चाप थेग्न नसक्दा समस्याको समाधान गर्ने सुझबुझ नभएर सहज समाधानको लागि व्यक्तिको घर भत्काइएका हुन् । यी साँघुरा सडकलाई ठूला सवारी साधन निषेध गरेर वा एक तर्फी बनाएर समस्या समाधान गर्न सकिन्थ्यो ।

साँगुमुख चोकको यो घरका केही फोटोहरू मसँग छन् । शायद ति सबै अव इतिहासको पन्ना मात्र हुने छन् । यहाँ भत्काउने तयारी गरेका घरहरू २००८ देखि २०१५ को बिचमा बनेका हुन् । बिहीबार भत्काइएको घर राणाकालमा खरदार रहेका स्वर्गीय रत्नमान उदासका तीन छोराहरू खड्गमान, शिवमान र दुधमान मिलेर संयुक्त रूपमा बनाएका थिए ।

खरको छानोले बनेको घरमा शुरूमै पुर्ण बडगामीका बुबा सूर्यकुमार बडगामीले पसल खोले । त्यसपछि अमृतप्रसाद शेरचनको कपडा पसलमा जागिर खाइरहेका मथुरालाल श्रेष्ठले उहाँकै पसलबाट केही सामान ल्याएर कपडा पसल खोले, यो पसल साँघुको मुख मै थियो । व्यापार बढ्दै गए पछि पसलको नाम हिमालय बस्त्र भण्डार राखे ।

त्यसैको ठिक अगाडी पालिखेहरूको पुरानो घर थियो । यो घरको आफ्नै इतिहास छ । यो घरमा कोमल प्रजूले पोखरामा पहिलो भाँडा पसल खोलेका थिए । दयाशंकरको अबिवाहित भाइको मृत्यु पछि यो घर अर्का भाइ प्रदिपशंकरको हकमा आयो ।

पछि यो घरमा पनि कपडा पसल नै खोलियो । यो सँगैको कृष्णमान श्रेष्ठको घरमा उनले कपडा पसल सञ्चालन गरेका थिए । पूर्व तर्फ पनि जीतप्रसाद द्वाको कपडा पसल थियो । यो क्षेत्र नै कपडा पसलले भरिएको थियो ।

सबैभन्दा दक्षिणमा रहेको पहेलो घरको भने छुट्टै इतिहास छ । यो घर मथुरालाल श्रेष्ठका भाइ मुक्तिलाल श्रेष्ठको हो । यहाँ श्री मेडिकल हल खोलिएको थियो । त्यति बेला पोखराको तेर्सापट्टीमा रहेको साहिला बैद्यको बैद्य औषधी पसल, टुँडिखेलमा रहेको साईनिङ हस्पिटल र भारतीय पेन्सन क्याम्पबाट सञ्चालित सोल्डर्स वोर्ड हस्पिटल थियो ।

दुबै हस्पिटल साँगुमुख, तेर्सापट्टी तथा गैह्रापाटनमा बस्नेहरूको लागि अपायक थियो । तसर्थ मुक्तिलाल श्रेष्ठको औषधी दोकान एउटा अस्पताल जस्तै भएको थियो ।

सेनाले जबर्जस्ती कब्जामा लिएर राखेको रानीपौवाबाट फुलवारी निस्कने पुरानो बाटो पुन फिर्ता लिएर चौडा सडक बनाउन तर्फ अग्रसरता देखाउने भए हालको ठूलो समस्याको समाधान हुने थियो । विकाससँगै विनाशको चुनौती पनि हुन्छ । बिनाशको अनुभुती नगराई विकासको अवधारणाहरू ल्याईएमा सबैको सहयोग सहजै पाईन्छ ।

विश्वका कतिपय ठूला शहरहरूमा अझै पनि पुराना बजार तथा घरहरूलाई यथावत राख्ने गरिन्छ । पर्यटकलाई आकर्षित गरेर आय आर्जन गरिन्छ । तर हाम्रोमा यो क्रम र सोचको विकास भएको छैन । यहाँ पुरानालाई तोड्नु र नयाँ बनाउनुलाई नै विकासको परिभाषामा परिभाषित गर्ने गर्दछन् ।

म लगायतको समूह @SaveBagDurbar को अभियानमा छौ । हामी रानीपोखरी पुरानै स्वरुपमा बन्नुपर्छ भनेर लागेका छौ । हामी पुराना महल, स्मारक, मठ मन्दिरहरु जोगाउनु पर्छ भन्दै काठमाडौमा एउटा अभियानमा सक्रिय छौ । तसर्थ यी भत्काउने तर्कका समर्थक होइनौ । हामी बिकल्प सोच्नुपर्छ भन्छौ, हामी विकास बिरोधी होइनौ ।

आज यो घर भत्काउदा रमाएर हेर्नेको लागि यो घर भत्काउन बसेको नजिरले भोली हामीमा पनि यस्तै पिडा कुनै दिन झेल्न नपर्ला भन्न सकिन्न । अबको दिनमा अन्य घरहरु पनि प्रशाशनले भत्काउन सक्नेछ । महानगरपालिकाले अव त्यहि वरपरका अन्य तिन घरलाई भत्काउने सम्भावना छ । कुनै बेला शंकरराज पाठक अञ्चलाधिस हुँदा रेखांकित भएको न्यूरोडलाई चिप्लेढुङ्गाको चोकमा नाग उभ्याएर रोकियो ।

त्यो बेला पञ्चायतकालमा पनि प्रशासनले जबरजस्ती गर्न सकेन । तर आज ति पिडित चार घरका घर धनीसँग कुरा गर्दा हाम्रो भावनामा खेलवाड गरेर मानसिक दवाव दिए भन्ने गुनासो गरे ।

अन्तमा महानगरपालिका मेयर तथा ४ नं. वडाका वडाध्यक्ष एवं संयोजक शंकर कोइरालालाई सफलताको शुभकामना साथै मुआव्जा बापत बितरण हुने रू २,६२,१९,०५२ तथा अन्य खर्च राम्रै कार्यमा सदुपयोग भएको जनताले अनुभुती गर्न पाउन् ।

भोली यो स्थान जथाभावी गाडी पार्किङ गर्ने थलो नबनुन् यहि हामी पोखरेलीको चाहना छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.