www.tandavnews.com
Fact ~ In search of truth

चिया बगानदेखि प्यालासम्म …

– सुरज हजारे दाहाल

बिहान सूर्यदयसँगै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म प्राय सबैले चियाको घुट्कीबाट दिनको शुरुवात गर्छन् । चिया पिउन नबोलाए पनि, चिया पिउनु भयो भनेर हर कोहीलाई प्रश्न सोधिन्छ ।

फिक्का चिया,दूध चिया, ग्रीन टी, कोल्ड टी जस्ता नामले चियाहरु झुप्रा पसलको सिसाको फुच्चे कपदेखि पाँच तारे होटलको सेरामिक कपमा हालेर बेचिन्छन् । बहुगुणी चियापत्ति खेतीको इतिहास पनि पुरानै छ ।

Batas

इलाम जिल्लामा चियापतिको खेतीको थालनी तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाको छोरी ज्वाँई गजराज सिंह थापाले विसं १९२० मा गरेका थिए ।

हालको इलाम बजारमा चियापत्तिको खेती गरेको दुई वर्ष पछि सोक्तिममा अर्को चिया बगानको सुरुवात गरिएको थियो । गजराजले चिया खेती सुरुवात गरेपछि नेपालमा व्यवसायिक चिया बगानहरुको स्थापना भएको हो ।

तराईको झापाहुँदै पहाडको इलाम र तल्लो हिमाली क्षेत्र दोलखा जिल्लाको जिरीसम्म हाल व्यवसायिक चिया खेती गरिदैँ आएको छ र चिया पर्यटन पनि फस्टाएको छ ।

झापाको दमकमा पूर्व राजा ज्ञानेन्द्रको हिमालय लक्ष्मी टि गार्डेनदेखि उद्योगीकोहरुको ठूला चियापत्ति उद्योग र स्थानीय सहकारीसम्मले चिया खेती तथा प्रशोधनमा लगानी गरिरहेका छन् ।

भौगोलिक बनावट, हावापानी र सस्तो मजदुरका कारण पनि पूर्वी क्षेत्रमा चियाको विकास सम्भव भएको हो । २७ डिग्री तापक्रम, २०० मिमि वर्षा, ओसिलो मौसम तथा पोटासियम र फोसफरस भएको माटो चियाको लागि आवश्यक भौगोलिक अवस्था हो ।

चियालाई चाहिने गर्मी मौसम र छिनछिनमा लाग्ने कुहिरोले आद्रता प्रदान गर्ने भएकोले इलाममा चिया खेती सम्भव भएको हो । इलाममा हरियो चिया र झापामा सिटिसी चिया उत्पादन गरिन्छ ।

हरियो चिया पानीमा र सिटिसी चिया दूधमा पकाएर पिउने गरिन्छ । चिया पर्यटनका कारण पनि चियाको गुणगाण थप चुलिएको छ । चिया सम्बन्धी अध्ययन गर्न भनेर मात्र नै बिदेशी विद्यार्थीहरु नेपाल आउने गरेका छन् ।

चियाको बोटमा कलिला मुना टिपेर यसलाई राँप दिई पत्ति बनाएर प्याक गरी टोकला, मुना, राकुरा मेची, वेलकम जस्ता नाममा इलाम तथा झापाबाट सिटिसी चियापत्ति देशभर पठाइन्छ ।

झापा जिल्ला छोडेर नागबेली आकारको मेची राजमार्ग सुरु भएसँगै विभिन्न चिया बिगान देखिन्छन् । फिक्कलदेखि पशुपतिनगर, बिप्ल्याँटेदेखि माईपोखरी, नेपालटारदेखि मंगलबारे तथा झापाको सीमानाहुँदै इलामको सुखानीसम्म चियाको खेती गरिन्छ ।

चिया बगानको वरिपरि चिया पेलिदै गरेको आवाज र चिया पत्तिको ताजा बासना चिया प्रशोधन कारखानाबाट आउँछ । नेपालको पानीलाई वाइट गोल्ड भने झै चियालाई ग्रिन गोल्ड पनि भन्न सकिन्छ किनकी चियाको निर्यात युरोपियन मुलुकमा पनि हुनेगरेको छ ।

पछिल्लो समय ठूलो पूँजीपतिहरुले किसानहरुलाई ठग्न थालेपछि कृषकहरुले सहकारी स्थापना गरि आफैले प्रशोधन तथा प्याकिङ गरि बजार पु¥याउन थालेका छन् ।

चियामा फ्लेबोनाइड्स रसायनको मात्रा धेरै हुन्छ । यस रसायनले रक्तसंचारलाई सन्तुलनमा राख्छ । साथै यसले मुटु सम्बन्धी रोग लाग्नबाट पनि बचाँउछ ।

चिया दूधमा पकाए पनि वा पानीमा पकाए पनि यसको प्राकृतिक शुद्धतामा फरको नपर्ने कुरा पछिल्लो अनुसन्धानले देखाएको छ । यस अगाडि दूध भन्दा फिक्का चियालाई बढी स्वास्थ्यबद्र्धक मानिन्थ्यो ।

हरेक दिन ३ कप चिया सेवनबाट मधुमेहबाट बच्न सकिन्छ । यसमा हुने एन्टीअक्सीडेन्टले छालाको चाउरीपन रोक्नुका साथै छालामा चमक पनि दिन्छ ।

चियाको बोटको तेल श्याम्पु तथा नुहाउने साबुनमा पनि प्रयोग गरिन्छ । चियाको पत्ति दन्तमन्जन तथा गिजा सफा गर्न पनि प्रयोग गर्ने गरिन्छ ।

हिजो स्वास्थ्यको लागी चिया पिइन्थ्यो भने अहिले चिया पिउनु नेपाली संस्कृति नै बनेको छ । युरोपमा कफी पिए झै नेपालमा भने बिहान उठेदेखि राती सुत्दासम्म चिया पिउने गरिन्छ । नेताहरुले आयोजना गर्ने जलपान समारोहमा दिने जल पानी नभएर चिया नै हो ।

इलामको विकासमा चिया पर्यटनको महत्वपूर्ण योगदान छ । अन्यत्र भन्दा पर्यटनको पूर्वाधार छुट्टै किसिमको छ । आन्तरिक पर्यटनको लागी यसकले अलग पहिचान कमाएको छ । इलाम भनेकौ कृषि र चिया पर्यटन हो ।

उसो त ओलन अर्थात दूध, अदुवा, कुचो बनाउने अम्रिसो र आलु पनि इलामको मुख्य नगदे बालीहरु हुन् । देशमा सूर्योदयको पहिलो झुल्को इलामकै अन्तु डाँडामा पर्छ ।

चिज बनाउने कम्पनी, डेरी उद्योगहरु, दूध चिस्यान केन्द्र, गाई पालन जस्ता कृषिजन्य पेशाले इलामलाई समृद्ध बनाएको छ ।

कसरी पुग्ने ?

चिया खेती र उद्योग विशेष गरि पूर्वी भेगमा जिल्लामा केन्द्रित छन् । इलामको कन्याम, झापाको शनिश्चरे धनकुटाको पाख्रीवास, तेह्रथुमको म्याङलुङमा चिया बगान र उद्योग छन् ।

त्यहाँसम्म पुग्न पोखराबाट बेलुकी ५ बजेको बस चढेर भोलिपल्ट झापामा ओर्लिएर तराईको चिया खेती हेर्दै पहाडको इलामहुँदै तेह्रथुमसम्म पुग्न सकिन्छ । ७ दिनको बसाईको खर्च १५ हजार रुपैयाँ लाग्छ ।

लेखकबाट थप

बादलुको घुम्टोले इलाम बजार छोपिँदा …

ल्याण्ड रोभर :ओल्ड इज् गोल्ड

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.