www.tandavnews.com
Fact ~ In search of truth

‘जनचेतना र शिक्षाको कमी मानव अधिकार उल्लंघनको कारक’

पाेखरा । 

प्रदेश नम्बर ४ का सामाजिक विकास मन्त्री माननीय नरदेवी पुनले हिंसा पीडित महिला र सहाराबिहीन बालबालिकाका लागि आश्रय स्थल आफ्नो प्रमुख प्राथमिकता रहेको बताएकी छिन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले असार १४ गते पोखरामा आयोजना गरेको ‘मानव अधिकार अवस्था’ विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताएकी हुन् । जनचेतना र शिक्षाको अभावका कारण मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना घट्ने गरेको बताउँदै मन्त्री पुनले आफ्नो योजनामा सचेतनात्मक अभियानलाई समेत प्राथमिकता दिने बताईन् ।

Batas

वैदेशिक रोजगारीका कारण बढ्दो पारिवारिक बिखण्डन र बालबालिका प्रभावित भईरहेको बताउँदै मन्त्री पुनले रोजगारमुलक तालिमलाई समेत प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा इन्सेक पोखराका संयोजक शिव खकुरेलले जनवरीदेखि जुन २०१८ सम्म साविकको पश्चिमाञ्चल विकास क्षेत्रको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार यस अवधिमा राज्य र गैरराज्य दुवै पक्षबाट भएका विभिन्न ७ सय १५ ओटा घटनामा ७ सय ७६ जना पीडित भए ।

गैरराज्य पक्षबाट ७ सय ६ र राज्य पक्षबाट ७० जना पीडित भएको इन्सेक पोखरा कार्यालयले अभिलेख संयोजक खकुरेलले बताए । यस अवधिमा प्रदेश नम्बर ४ मा राज्य पक्षबाट ६३ जना र गैरराज्य पक्षबाट ३ सय ४८ जना, यसैगरी प्रदेश नम्बर ५ का ६ जिल्लामा राज्य पक्षबाट ७ जना र गैरराज्य पक्षबाट ३ सय ५८ जना पीडित भएको प्रतिवेदन संयोजक खकुरेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले प्रहरी र न्यायीक निकायमा पुगेका घटना धेरै भएको हुँदा ति घटना पनि संकलन गर्न सुझाव दिईन् । न्याय पाउनबाट बञ्चित भएमा मात्रै मानव अधिकार उल्लंघन हुने बताउँदै गर्तौलाले प्रहरीले गिरफ्तार गर्ने बित्तिकै मानव अधिकार उल्लंघन नहुने बताईन् ।

वरिष्ठ अधिवक्ता राम प्रसाद घिमिरेले मानव अधिकार पुस्तकको प्रयोजन देश विदेशमा रहेका मानव अधिकार रक्षकका लागि उपलब्धीमुलक रहेको बताउँदै पुस्तकलाई तथ्य सत्य सुचना दिन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताए ।

जनआन्दोलन घाईते तथा शहिद परिवार समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेलले गम्भिर मानव अधिकार उल्लंघन घटनाका दोषीलाई राज्यले उन्मुक्ति दिएर राज्य आफैले पीडित नागरिकको अधिकार हनन् गरेको भनाई राखे ।

उच्च वार ईकाइ पोखराका राजेन्द्रमान श्रेष्ठले मानव अधिकार हनन्का घटना बढीरहेपनि राज्यले निकास निकाल्न नसकेको दाबी गरे ।

केन्द्रीय बाल कल्याण समितिका श्रो ब्यक्ति बद्री बाग्लेले बाल संवेदनशिलतालाई जोड दिनुपर्ने बताउँदै कुनै पक्षले अमुक राग राखी विद्यालय बन्द गर्ने प्रबृत्तिलाई निरूत्साहित गर्दै बालबालिका शान्ति क्षेत्र अभियानलाई सबैले आत्मसात् गर्नुपर्ने बताए ।

सहाराबिहीन बालबालिका सुधार गृहमा बसिरहेको बताउँदै वाग्लेले कमजोर आर्थिक अवस्था भई धरौटी तिर्न नसक्ने नसक्ने बालबालिकालाई राज्यले नै न्यायको वातावरण मिलाउनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्र गुरुङले मानव अधिकार मैत्री भएर प्रहरीले काम गरिरहेको बताउँदै मानव अधिकारको संरक्षण आफ्नो प्रमुख दायित्व भएको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले दण्डहिनताका कारण समाजमा घटना बढ्दै गएको हुँँदा उजुरी लिने प्रक्रिया सहज र कार्यान्वयनको पाटो छिटो छरितो हुनुपर्ने बताए ।

महिला बालबालिका कार्यरत् क्षेत्रमा मानव अधिकार उल्लंघन बढी रहेको बताउँदै नेपाली कांग्रेस, कास्कीका सभापति कृष्ण केसीले मानव अधिकार उल्लंघन हुन नदिनेमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए ।

अपांगता स्वाबलम्बन विकास संघ कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले सडकको संरचना अपांगता मैत्री नहुँदा अपांगता भएका ब्यक्ति स्वतन्त्रतापुर्वक हिँडडुल गर्न पाउने अधिकारबाट बञ्चित भएको बताए ।

सुवेदीले अपांगता भएका विद्यार्थीका लागि विश्वब्यापी मान्यता अनुसारका विद्यालय नेपालमा नरहेको बताए । अस्पतालमा दोभासेको ब्यवस्था नहुँदा अपांगता भएका बिरामीलाई औषधीको बारेमा र रोगको बारेमा जानकारी लिन समस्या हुने सुवेदीको भनाई छ ।

कार्यक्रममा फुलबारी ब्यारेकका सेनानी गौरबजंग ध्वज खाँड, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णु प्रसाद बराल, गैसस कास्कीका अध्यक्ष पदमराज पहारी, कोपिला नेपालकी अनिता बस्नेत, अधिवक्ता भुवन पराजुली, आनन्द मार्ग प्रचार संघका यज्ञ प्रसाद बास्तोला लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रमको सञ्चालन इन्सेक पोखरा कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्माले गरेकी थिईन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.