पोखरा
ताण्डव न्यूज ।
पोखरा–८ सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाले सुरक्षा नअपनाउदा चोरी भएको खुलेको छ । आर्थिक कारोवार गर्ने संस्थाले सामान्य सुरक्षा पनि नअपनाएको स्रोतले बताएको छ, जुन कुरा प्रहरीले पनि भन्दै आएको हाे ।
सहकारीले न सीसी क्यामेरा राखेको छ, न त गार्डनै । त्यसबाहेक सहकारीले जोडिएकै होटल पनि सामान्य प्लाईले पार्टेशन गरेको, सानो ठूलो जोडिएको सटर जुन खोल्ने वित्तिकै सिधै भित्र पस्न मिल्ने, आल्मुनियमको कमजोर ढोका अनि सोझै टेवलको घर्रामा ९ लाख रुपैयाँ राखेको पाइयो ।
चरम लापरवाहीकै कारण चोरी भएको एक सेयर सदस्यले ताण्डव न्यूजसँग बताए । ‘आर्थिक कारोवार गर्ने संस्थाले सानो कुरा पनि विचार नगर्दा जनताका पैसा गयो,’ उनले भने, ‘अहिले त जस्तो सुकै सहकारीमा पनि सीसी क्यामेरा हुन्छ । त्यसैमाथी त्यति धेरै पैसा सहकारीले राख्ने हो त्यो पनि सामान्य टेवलको घर्रामा ? बलियो भल्टमा राख्नु पर्ने हो । त्यत्रो रकम बैंकमा नराखेर किन त्यहाँ राख्या ? ’
चोकमै रहेको सहकारी चोरी हुँदा आफूलाई अचम्म लागेको सहकारीका संस्थापक सचिव सुनिल पाण्डेले सुनाए । ‘चोकमै भएको हुनाले हामीले त्यति धेरै सुरक्षा अपनाएनौ, त्यसैमाथी एक सय मिटर अघि प्रहरी चौकी छ,’ उनले भने, ‘मान्छेको चहलपहल हुने ठाउँमा पनि यस्तो भयो ।’
चोरीको छानविन भइरहेको उनले बताए । ‘प्रहरीले पनि छानविन गर्दैछ, हामीले पनि आन्तरिक रुपमा छानविन गर्दैछौ,’ उनले भने, ‘आज (मंगलबार)बाट सहकारी सञ्चालनमा आएको छ ।’
घटनाको अनुसन्धान अघि बढेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख नविन कार्कीले बताए ।
‘सहकारीको पनि लापरवाही देखिन्छ,’ उनले भने, ‘आर्थिक कारोवार गर्ने संस्थामा सीसी क्यामेर अनि गार्ड नै छैन । सामान्य सुरक्षा नअपनाउदा घटना घटेपछि पनि पत्ता लगाउन गाह्रो हुन्छ । प्रहरीले मात्र चाहेर हुदैन सम्बन्धित संस्थाले पनि ध्यान दिन जरुरी छ ।’
यो पनि पढ्नुहोस्
जनएकता सहकारीमा चोरी
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.