www.tandavnews.com
Fact ~ In search of truth

जय जिन्दगी !

हुन त उमेरले त्यति हिउँद र बर्षा झेलिसकेको पनि छैन कि जिन्दगीको समीक्षा गर्न सकुँ । नत कुनै दिब्यज्ञान नै पाइएको छु जसको आधारमा बडेबडे सिद्धान्त छेड्न सकुँ ।

बस् केही भोगाई, केही झेलाई अनि केही सिकाईले यहि बताउँछन् की जिन्दगी कल्पनामा कम र यर्थाथमा बढी चल्छ । रहरमा कम सम्झौतामा बढी चल्छ । अपेक्षामा कम आकस्मिकमा बढी चल्छ । सुखी भएर हिँड्ने हो भने लहरहरूसँगै पौडिनुपर्ने रहेछ । बस् जिन्दगीसंगै दौडिनुपर्ने रहेछ, जता पु¥याउँछ सायद समयको मर्जी यहि नै थियो भन्ने ठानेर ।

बाल्यकालमा चकलेट र उपहारले ल्याउने खुसीको परिभाषा पनि बदलिँदै जाने रहेछ समयक्रमसँगै । हुर्काइ र बढाईसँगै इच्छा र सपना हुर्किँदै जान्छन् । एकक्षण त यस्तो अवस्थामा आइपुग्छ न ठेस लाग्दा दुःख लाग्छ, न लड्दा चोट लाग्छ, नत रिस, घृणा, जलन, बिचलन । जब सम्झौताको आदत लाग्छ कुनै कुरा अपुरो रहेकोमा दुखः लाग्दैन, कुनै सपना अधुरो बसेकोमा पट्यार लाग्दैन । बस् मनले भनिदिन्छ छोड्दे भैगो जिन्दगीलाई यहि मञ्जुर थियो ।

Batas

इच्छा पूरा गर्न रहरका कति डब्बा मसी सक्काइयो । सिसाकलमले सुरू गरेको भाव लेख्ने चलन अहिले किबोर्डमा औँलाहरू दौडिइरहँदा सम्झिन्छ । हिजो विद्यार्थी मात्रै भई परिवारमा छँदा लाग्थ्यो म पूरै स्वतन्त्र भए के के गर्थेँ । सपनाहरू बुवा आमाको आदेशमा दबिएको भान हुन्थ्यो । जागिरले पारिवारिक जीवनबाट केही समय अलग राख्यो ।

हिजो आफैँले गरेको इच्छा अनुसार केही स्वतन्त्रता पनि दियो । हिजो पूरै समय एक्लै बिताउने मनले अब भन्छ खै एक्लो बस्नुमात्रै स्वतन्त्र त हैन रहेछ । कहिले भिडहरूमा आफूलाई अलग राख्न सक्नु, कुनै समय वा घटनाको उल्झन बिना बस्न सक्नु, आफूसँगै मुस्कुराउन सक्नु नै स्वतन्त्रता लाग्दै जान्छ । जब दुई चार थान विचारले तपार्ईको मनलाई ओभरटेक गर्न सक्दैनन् तब तपाई रमाउन सुरू गर्नुहुनेछ ।

अचेल मनले भन्छ हिजो आदर्श मानेका र लागेका भोली नलाग्न सक्छन्, हिजोका रहर र अपेक्षा आजसम्म स्थिर नहुन सक्छन् । हिजो कल्पेको संसार र आज बाँचेको संसार भिन्न हुन सक्छ । आफू वरीपरी भएका दुई चार थान मनहरू नदुखुन् । खुसी त्यहीँ छ । मनलाई सहि लाग्यो भने संसारले गलत मानेको कुरा पनि सहि भईदिन्छ, मनलाई गलत लाग्यो भने संसारलाई सहि लागेको कुरा पनि गलत बन्न सक्छ । बस् मनको मर्जी न हो ।

आफ्नो खुसीलाई केन्द्रमा राख्न सकियो भने जोरीपारी खुसी हुँदै जानेछन् । आफ्नै आत्मा दुखी छ भने छेउछाउका आत्माले के खुसी पाउलान् र खै ? झुसिल्कीरे सपनाहरू पुतली बनिसक्दा कति परिवर्तित भइसक्छन् । देख्छु, मनले मनलाई दिएको ब्रेकअपले थोरबहुत मानिसहरूलाई सपना थप्ने जाँगर थपिदिन्छ ।

केही मनहरूले केही समयलाई दिक्दारी ठानेपनि दुईचार हन्डरले थपेको आत्मबल र चैनले तपाईंलाई सानाठुला खाल्डाखुल्डी सहजै कटाउन काबिल बनाईदिन्छ । यसो भन्नुको मतलब भएको मनलाई ब्रेकअप दिनुस् भन्या पनि हैन । मनहरूको साथ छ त बेस छ, छैन त अझै बेस छ ।

आफू बाहेकसँग बेखबर बस्न सकियोस् । न्यास्रो लाग्दा अस्ताउँदो घाम हेर्ने एउटा डाँडो होस्, त्यही डाँडा हेरेर रमाउने आफ्नै मन होस् । सपनाको हाटबजारमा रहरको किनबेच गर्नु नपरोस् ।

जिन्दगीमा हुरी बतास आउँदा ढुंगा जस्तो नउड्ने, पग्लिई भत्किई नजाने मन होस् । घाम र झरीलार्ई सजिलै छिचोल्न सकियोस् । अब जिन्दगीका रहर यिनै यिनै हुन् । आगे जिन्दगीको मर्जी । जय जिन्दगी !

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.