www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीले घटना लुकाउन बार्गेनिङ गर्दै

अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।

कास्की प्रहरीबाटै गम्भिर गल्ती भएपछि घटना लुकाउन बार्गेनिङ गरेको आरोप लागेको छ । फागुन १६ गते विहीबार कास्की प्रहरीको हिरासतमा रहेका एक जना भारतीय नागरिक सन्दीप शाहले विष सेवन गरेर आत्महत्या गरे ।

लागु औषध ओसारपोसार कसुरमा पक्राउ परेका ३० वर्षीय शाहलाई जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी जवान विवि गुरुङले विष किनेर ल्याइदिएको आरोप लागेको हो । यही घटनालाई लुकाउन कास्की प्रहरीले पीडित पक्षकासँग पटक– पटक छलफल गरेको कुरा सार्वजनिक भएको छ ।

Batas

गल्ती वाहिर नआओस भनेर कास्की प्रहरीले कसरत गरेको स्रोतले बतायो । ‘शाहलाई जुन गाडीमा पक्राउ गरियो त्यो गाडीवालालाई जोगाउने कसरत भइरहेको छ,’ स्रोतले भन्यो, ‘यस्तो गम्भिर गल्ती हुँदा पनि पीडित पक्षले विष ल्याइदिएका प्रहरी विरुद्ध कुनै पनि कानुनी कारवाहीको माग गरेका छैनन् ।

त्यही भएर कास्की प्रहरीले गाडीवालालाई बचाउन लचकता अपनाउन सक्छ । घटना भएको यतिका दिन वितेपछि आज (आइतबार) पोष्टमार्टम गरेर शव बुझ्ने भएका छन् । जसको लागि आफ्न्तले शव घर लैजान तयार पारेका छन् । ’

प्रहरी जवान गुरुङले १५ सय रुपैयाँमा विष किनेर ल्याइदिएको भनी मृतक शाहले लेखेको सुसाइट नोटमा उल्लेख गरिएको प्रहरी स्रोतले जनाएको छ । ‘रकमसहित उल्लेख गरेर मृतकले सुसाइट नोट लेखेका छन्,’ स्रोतले भने, ‘कास्की प्रहरीबाट ठुलो गल्ती भएको हो ।’
यसै घटनामा प्रहरी विवि मात्र नभएर अर्को एक जना प्रहरीमाथि पनि कास्की प्रहरीले छानविन थालेको छ ।

प्रहरीबाट कमजोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले बताए । ‘गल्ती भएको देखिन्छ, गल्ती गर्ने प्रहरीलाई हदैसम्मको कारवाही गरिन्छ,’ उनले भने, ‘घटनाको अनुसन्धान गर्दैछौ । घटना लुकाउन कसैसँग पनि कुनै बार्गेनिङ भएको छैन् । जे हो कानुन वमोजित कारवाही प्रक्रिया अघि बढाउछौ ।’

पोखरा ब्यूरोले समातेको थियो शाहलाई

भारतको मोतिहारी घर भई हाल पोखरा–८ मा बस्ने शाहलाई पुस २ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले पक्राउ गरेको थियो । लागुऔषधको कारोबार गर्दै आएको भन्ने सूचना पाएपछि ब्यूरोले उनलाई पोखरा–५ मालेपाटनबाट पक्राउ गरेका थिए ।

बा १८ च ६७८५ नम्बरको सेतो रंगको मारुती सुकुकी कम्पनीको गाडीमा उनले लागुऔषध लिएर वेच्न हिँडेको भन्ने सूचनाको आधारमा ब्यूरोले पक्राउ गरेको हो ।

प्रहरीले सोही गाडीको सिट मुनी नर्फिन, फनेरागन र डाईजापाम गरि १ सय ५० वटा फेला पारेको थियो । त्यसपछि ब्यूरोले सोधपुछ गर्दा शाहले पोखरा–८ सुन्दर मार्ग डेरामा लागुऔषध राखेको बताए ।

ब्यूरोले उनको कोठाबाट २ हजार ९ सय ७० चक्की नाईट्रोभ्याट, नर्फिन ४ सय ४९ , डाईजापाम ४ सय ४६ र फनेरागन इन्जेक्सन २ वटा एमएलको ४ सय ३२ वटा कार्टुन भित्र बरामद गरेको थियो । त्यसपछि आवश्यक कारवाहीको लागि व्यूरोले जिल्ला प्रहरी कार्यालय कास्की पुर्याएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.