पोखरा,
सन्तोष सुवेदी
पछिल्लो समय पर्यटन र स्थानीय प्रवद्र्धन गर्नको लागि गाउँगाउँमा होमस्टे सञ्चालनमा ल्याउन थालिएको छ । दश वर्षे कार्ययोजना बुनेर स्याङजाको किचनास–६ गाउँलाई होमस्टे गाउँको रुपमा विकास गर्न थालिएको छ ।
क्षेत्र विकास कोष अन्तर्गत पूर्वाधार विकास कार्यक्रममा गाउँलाई होमस्टेको रुपमा विकास गर्न १० लाख बजेट छुट्याइएको खैरेकोट गाउँ जैविक घरवास परियोजना व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङले बताए ।
परियोजनाको सुरुको चरणमा दश घरमा पाहुना बस्ने तथा खाने व्यवस्था मिलाइन थालिएको छ । ‘सुरुमा दश घरबाट योजना आरम्भ गरे विस्तारै बढाउँदै लैजानेछौ,’ गुरुङले भने । गाउँको स्थानीय उत्पादन, मौलिक संस्कृति तथा प्राकृतिक श्रोतको सदुपयोग तथा संरक्षण गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले होमस्टेको अवधारणा ल्याइएको गुरुङले प्रस्टाए ।
‘पर्यटनको पूर्वाधारको योजनाले गर्दा बढि समय लाग्न सक्छ,’ उनले भने, ‘गाउँमा पर्यटन लैजान काम पनि विस्तारै सुरु गरिएको छ ।’ गत वैशाखमा पोखरेली आन्तरीक पर्यटनलाई होमस्टेमा लगि थालनी गरिएको गुरुङले बताए । ‘विस्तारै पूर्वाधारका काम सुरु भएको छ । अघिल्लो वर्षको बजेटबाट कोट निर्माण गरियो,’ उनले भने ।
समुन्द्री सतहबाट १४५० मिटर उचाइमा रहेको यस गाउँमा १०८ घरहरु छन् । गुरुङ र बाहुन समुदायका मानिस बसोबास गर्ने खैरेकोटमा झन्डै १२ सय जनसंख्या रहेको छ । खैरेकोट पुग्न स्याङ्जाबाट २२ किलोमिटर र दुलेगौंडाबाट २० किलोमिटर लाग्छ । जिपमा चढेर होमस्टे गाउँ २ घण्टामा पुगिन्छ ।
समितिले एक वर्ष रणनीतिक योजना अन्तर्गत गाउँको पहिचानको रुपमा कोट घर निर्माणकोटको परिसरमा विश्राम गृहको निर्माण गरिने र गाउँको प्रचार–प्रसार गर्ने उद्देश्यले वेवसाइट बनाउने बताइएको छ । दीर्घकालिन योजना अन्तर्गत स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु एवं पशुपालनलाई व्यवस्थित तथा आधुनिकीकरण गर्दै लैजाने, स्थानीय स्तरमा पाइने बाँस, निगाला, खर आदिको संरक्षण एवं रोपण कार्यलाई प्रोत्साहित गर्ने, भ्यू टावर, साँस्कृतिक संग्राहलय निर्माण, वचत तथा ऋण सहकारी एवं कृषि सहकरी स्थापना गर्ने, खेल पर्यटनको रुपमा विकास गर्न विभिन्न खेल मैदान निर्माण, साहसिक पर्यटन स्थलको सम्भाव्यता अध्ययन तथा परीक्षण, चिहान डाँडा, हेलीप्याड निर्माण तथा परीक्षण, पार्क निर्माणलगायत पूर्वाधार विकास निर्माणका कार्यहरु गर्ने भएको छ ।
होमस्टे प्रवद्र्धन र व्यवस्थापन गर्नको लागि घलेगाउँ र भुर्जुङमा अवलोकन गरेको गुरुङले बताए । ‘पहिला अन्य ठाउँबाट पनि सिक्यौ भनेर विभिन्न होमस्टेहरु अवलोकन गर्न लागेका छौं,’ उनले भने, ‘यही महिनामा पनि फेरी अन्य नयाँ होमस्टे घुम्न जाँदैछौं ।’ दसैं तिहार पछि खैरकोट होमस्टेलाई व्यवस्थित गरी दर्ता प्रक्रिया मिलाएर लैजाने योजना रहेको उनले प्रस्टाए ।
खैरेकोट होमस्टेमा गाउँमै पाइने स्थानिय कोदोको ढिडो र रोटी, गुन्द्रुक, मकैको आँटो, सेलरोटी, टिमुरको चट्नी, मह, लोकल कुखुरा, अण्डा तथा खसी र भैंसी राँगोको मासु लगायतका विभिन्न परिकारको स्वाद लिन सकिने गुरुङले बताए । ‘मौलिक संस्कृतिहरु सुनीमाया, निरमाया, ठाडो भाका, दोहोरी, भ्mयाउरे, सालैजो भाका, हनुमान नाच र सोरठी नृत्य लगायत भजन तथा रोइला गीतमा रमाउन सकिन्छ,’ गुरुङले भने, ‘होमस्टेबाट मौलिकता दिँदै आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिएका छौं ।’ जैविक खेतीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नेतर्फ अगाडि बढेको यो होमस्टेले गाउँको दिगो विकासका साथै यहाँका मानिसहरुको आयआर्जनको बलियो आधार खडा गर्न सक्ने उनले प्रस्टाए ।
खैरेकोट गाउँबाट उदाउँदो र अस्ताउँदो सुर्यवलोकन, अन्नपूर्ण, धौलागिरी हिमशृंखला र तनहुँ, स्याङजाका गाउँबस्तीहरु र पोखराको माथिल्लो भागको सुन्दर दृश्यहरु सजिलै अवलोकन गर्न सकिने अध्यक्ष गुरुङले बताए । ‘लेकमा भएकोले स्याङ्जा लगायत आसपासमा क्षेत्रहरुको देख्न सकिन्छ,’ उनले भने ।
पुस १५ तमु ल्होसारको अवसरमा पारेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले गाउँलाई होमस्टे गाउँ शुभारम्भको घोषणा गरेका थिए । गुरुङले गाउँलाई होमस्टेको रुपमा मात्र घोषणा गरेर नहुने भन्दै कार्यान्वयनमा ल्याउनुपर्ने बताएका थिए ।
उनले गाउँको परम्परागत मौलिक संस्कार सँस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनलाई जोड दिनुपर्ने र आफुले पनि यस कार्यक्रमको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.