www.tandavnews.com
Fact ~ In search of truth

सल्लाको खोटो बेचेर लाखौँ आम्दानी

बागलुङ,  (रासस) ः

बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन् ।

वर्षेनी खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट सात लाख ६७ हजार ९३४ रुपैयाँ आम्दानी गरेका हुन् ।

Batas

खोटोबाट  ९९ हजार ८३४ राजश्व र स्थानीय कर ३२ हजार ८३५ रुपैयाँ संकलन भएको छ । जिल्ला बाहिरका कम्पनीबाट माग आउन थालेपछि उपभोक्ता समूह खोटो संकलनतर्फ आकर्षित भएका हुन् । सल्लो प्रजातिका रुखबाट निकालिने खोटो अलकत्रा, तारपिन तेल, ग्रिज र रंग बनाउन प्रयोग हुन्छ ।

जिल्ला वन कार्यालयका अनुसार कपिलवस्तु रोजिन उद्योग र रुपन्देहीको माउण्ट रोजिन एण्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिले यहाँ संकलित खोटो खरिद गर्ने गरेका छन् ।

उपभोक्तालाई खोटो संकलनका लागि आवश्यक पर्ने सीप र प्रविधि उद्योगले नै प्रदान गर्छन् । पच्चीस वटा रुखबाट १० केजीजति खोटो निकाल्न सकिने जिल्ला वन कार्यालयका सहायक जिल्ला वन अधिकृत रामबहादुर विकले बताए । बुर्तिबाङको माडे सामुदायिक वनबाट सबैभन्दा बढी खोटो संकलन हुने गरेको उनको भनाइ छ । खरिदकर्ताले प्रतिकेजी १२ रुपैयाँका दरले खोटो खरिद गर्ने गरेका छन् ।

खोटो बेचेर समूहमा आउने आम्दानी उपभोक्ताले आयआर्जनमा लगाउने गरेका छन् । आयआर्जनमार्फत समूहका सदस्यको जीवनस्तर सुधारमा मद्दत पुगेको सामुदायिक वन उपभोक्ता महासंघको ठहर छ ।

खोटो संकलन र निर्यातलाई जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने महासंघको जिल्ला अध्यक्ष प्रेम लामिछाने बताउँछन् । बजार प्रवद्र्धनसँगै आर्थिक तथा प्राविधिक सहयोग गर्न महासंघ तयार रहेको उनकाे भनाइ छ ।

“वनमा त्यसै खेर गइरहेको खोटो संकलनबाट लाखौँ रुपैयाँ समूहमा भित्रिएको छ”, उनले भने, “यसलाई अझै व्यावसायिक बनाउन आवश्यक छ ।” वनको स्रोत उपयोग गरेर उद्योग सञ्चालन गर्ने उपभोक्तालाई महासंघले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि सल्लो प्रजातिको वन क्षेत्र पर्याप्त भएको हुँदा खोटोको राम्रो सम्भावना छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.