www.tandavnews.com
Fact ~ In search of truth

३९२ बालबालिकामा कडा कुपोषण

बनियानी, झापा,  (रासस) : झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ ।

जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो । झापाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिकाका ३० स्वास्थ्य संस्थामा १०० भन्दा बढी पटक गरिएको कुपोषित बालबालिका पहिचान शिविरबाट ३९२ कुपोषित बालबालिका फेला परेको हो ।

“कडा पोषणको शिकार भएको बालबालिकामा झापा तेस्रो स्थानमा रहेको छ”, अधिकृत पौडेलले भन्नुभयो, “पहिलोमा सप्तरी र दोस्रोमा सिरहा छन् ।” गत साउनमा बाढी आउनुअघि झापामा १२ प्रतिशत बालबालिका कुपोषणको शिकार भए पनि त्यसयता २१ प्रतिशत वृद्धि भई ३३ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रतिशतभन्दा बढी हुनु भनेको खतरा हो ।

कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न झापामा ओटिसी सेन्टर स्थापना गरिएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा १६ केन्द्र स्थापना गरिएको जिल्ला कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले कुपोषणको शिकार भएका बालबालिकाको अवस्थानुसार ४२–९० दिनसम्म निदान विधिबाट उपचार गरिने बताउनुभयो । हालसम्म १४७ बालबालिकाको उपचार गरिसकिएको छ भने २४५ जनाको उपचार भइरहेको छ । कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना खुवाइने छ ।

केन्द्र सञ्चालनका लागि २५० स्वास्थ्यकर्मीलाई तालीमसमेत प्रदान गरिएको छ । तालीमप्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्नेछन् । केन्द्रमा उपचार सम्भव नभए मेची अञ्चल अस्पताल र दमक अस्पताल दमकमा सिफारिस गरिने बताइएको छ । सो कार्यक्रम जनस्वास्थ्य झापाको समन्वय र युनिसेफको सहयोगमा सञ्चालित छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.