www.tandavnews.com
Fact ~ In search of truth

‘खाद्य, आवास, कपडा, शिक्षा र स्वास्थ्य विकासको प्रस्थान विन्दु’- अाेली

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको बताएका छन् । गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले  हामीले मनाइरहेको विजयोत्सव सम्पूर्ण नेपालीको उत्सव भएको उल्लेख गरे ।

उनले गणतन्त्र दिवस एउटा प्रगतिशील परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताका आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन भएको बताउँदै यस उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली’का लागि आप्नो जीवन उत्सर्ग गर्नुहुने महान् शहीदप्रति आदरका साथ श्रद्धाञ्जलि प्रकट गर्छु ।”

प्रधानमन्त्री ओलीले दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितीय विधिको स्मरण पनि गरे ।

“सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थान विन्दु हो”, प्रधानमन्त्री ओलीले भने । विकास, समृद्धि, सुशासन एवं स्थिरता गन्तव्य तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्धको कार्य मुख्य अभियान भएको बताउँदै भने “गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन् ।

सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो । यसका लागि आज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन् । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिँदै छन्”, प्रधानमन्त्रीले भने ।- रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.