www.tandavnews.com
Fact ~ In search of truth

प्रेम, पिआर र इत्यादी

पोखरा
ताण्डव न्यूज ।

हालै फेसबुकको भित्ता र इनबक्समा एउटै ट्रोल चर्चामा आएको छ । त्यो ट्रोललाई हिम्मत भएकाले आफ्नै वालमा मजाकको लागि पोष्ट गरेका छन् भने नसक्नेले अरुको इनबक्समा पठाएका छन् ।

त्यो ट्रोलमा लेखिएको छ, ‘केटो अमेरिका, जापान, अष्ट्रेलिया बस्छ भन्दैमा २० वर्ष कि अंगुर जस्ती छोरीलाई त्यो तालु खुइलिएको लंगुर जस्तोसँग विवाह गरिदिने बाउआमा पनि एक प्रकारका मानव तस्कर हुन् ।’ हाम्रो सामाजिक जीवनसँग मेल खाने प्रसंगलाई नै व्यंग्य गर्न प्राय ट्रोल बनाउने गरिन्छ ।

Batas

उक्त ट्रोलले युवतीका बाबुआमालाई मानव तस्करको रुपमा उभ्याए पनि अमेरिका, अष्ट्रेलियामा बस्ने कथित तालु खुइलेसँग विवाह गर्ने प्रसंग दोष युवतीकै होइन र ?

अनि पिआरधारी युवक भन्ना साथ युवतीको भविष्य सुरक्षित हुने भएकोले त्यो जाबो तालु खुइलेकोलाई सहजै स्विकार्नु पर्ने होइन र ? फेरि सबैको बुढ्यौलीमा नै तालु खुइलिन्छ भन्ने छैन । के थाहा ऊ भित्रैदेखि जवान छ कि ?

अहिले जुन विवाह गर्ने उमेर पुगेको पुस्ता छ उनीहरुको बाबुआमा प्राय सबैले मागी विवाह नै गरेका छन् । साथै यहि पुस्ताको बाबु आमा पनि पुरानो संस्कार पनि मान्ने र प्राय अशिक्षित र कम शिक्षित नै छन् ।

तर उनीहरुले जन्माएका लक्का जवान युवायुवतीहरु भने चाहेको व्यक्तिसँग प्रेम गरेर विवाह गर्न सक्षम भएका पुस्ता हुन् । के उनीहरुलाई बाबुआमाले जबरजस्ती तालुखुइलेको पुरुषसँग बाध्य पार्न सक्छन् त ? हामी त्यहि समाजका साक्षी होइनौ र जहाँ प्रेमीकाहरुले नै प्रेम गरिरहेको प्रेमीलाई ब्रेक अप दिएर पिआर भएको पुरुषलाई रोज्ने गरेका छन् ।

अनि के हामी यहि समाज र सामाजिक सञ्जालका भुक्तभोगी होइनौ र जहाँ कलेजमा एक जनासँग प्रेम र त्यसपछि कहिल्यै नचिनेको पिआरधारीसँग भने मागी विवाह गरेका दृष्टान्त छन् ।

केहि युवतीले प्रेम एकसँग विवाह अर्कोसँग गरे भन्दैमा सबै त्यस्ता नहोलान् तर अहिले चलेको ट्रेण्ड नै यहि छ । प्रेमीहरु पनि दूधले नुहाएका शुद्ध जरुर छैनन् । प्रेमीले प्रेमीका फेर्ने प्रवृतिकै कारण प्ले बोइ भन्ने शब्द आएको हो ।

प्रेम छोटो समयको लागि गरिने फेशनकै कारण आजकल प्रेम बदनाम हुने गरेका छन् । बदनाम त भए नै प्रेमका कतिपय पात्रहरु आफ्नै असफल प्रेम झैं बजारमा गुमनाम भएका छन् । दुई मिनेटमा तयार हुने इन्स्ट्यान्ट नुडल्सका तान्द्रा एक आपसमा टाँसिए झै प्रेमिल जोडी पनि शुरुमा फेबिकोल झैं टाँसिने तर पछि छुट्ने गरेका छन् ।

प्रेम कसैलाई नसोधिकन गरिने हुँदा र प्रेम गर्दा कसैको अनुमति लिन नपर्ने हुँदा शुरु भएको कसैलाई थाहा हुँदैन तर जब यो टुट्छ तब दुनियाँलाई थाहा हुन्छ । एक अर्काको दोषका कारण टुटेको भए फेरि अर्कोसँग प्रेमको मुना पुनः पलाउँछ अन्यथा ति अधिकांश जोडीको मागी विवाह हुन्छ ।

प्रेमको नाममा पागल हुनेदेखि लिएर प्रेमकै नाममा सर्वस्व गुमाउनेको संख्या पनि उत्तिकै छन् । पहिले प्रेम लुकेर गरिन्थ्यो । प्रेम प्रस्ताव चिठीमा अभिव्यक्त गरिन्थ्यो तर आजभोलि हाकाहाकी प्रेम प्रस्ताव गरिन्छ ।

हाकाहाकी प्रेम प्रस्ताव गर्ने र स्विकार्ने व्यक्तिहरु नै आखिर प्रेमलाई अन्तिम गन्तव्य अर्थात विवाहसम्म किन लैजान सक्दैनन् ?

विवाहपछि पनि प्रेम नै हुन्छ तर यहाँ विवाहलाई प्रेमको अन्तिम गन्तव्य किन भनियो भने प्रेमको कुनै कानुनी मान्यता छैन, कोकोसँग प्रेम भयो र टुट्यो कतै दर्ता हुँदैन । प्रेमिल जोडीलाई सिमित व्यक्तिले मात्र चिन्छन् तर विवाहित जोडीलाई कानुनले समेत चिन्छ ।

प्रेम तोड्दा क्षतिपूर्ति दिनुपर्दैन र विवाह टुट्दा सम्पत्ति समेत दिनुपर्छ । विवाह टुट्दा आघात पुग्ने तर प्रेमले टुटुदा केहि नहुने भन्ने सोचेर शायद कानुनमा पनि प्रेम र भावानात्मक कुराको ठाउँ छैन ।

प्रेम गरिरहेको प्रेमिकाले छोडेर पिआरधारीसँग विवाह गर्दा प्रेमीले आत्महत्या गरेमा यहाँ कानुनले न प्रेमलाई छुन्छ न कानुनले नै प्रेम टुट्नुलाई प्रेमको कारक मान्छ ।

युवक होस् या युवती यहाँ प्रेमको नाममा ठग्नेको जमात ठुलै छ । हुँदै नभएको पिआर छ भन्दै ठग्ने प्रेमी पनि छन् र हुँदाखादाको प्रेमी छोडेर सक्कली पिआरधारीसँग विवाह गरि “माई हब्बी” भन्दै फेसबुके स्ट्याटस् लेखी प्रेमीहरुलाई गुमराहमा पार्ने अनगिन्ती प्रेमिकाहरु पनि छन् ।

सच्चा प्रेम हो कि कच्चा प्रेम भनेर सुरुमा अन्दाजसम्म गरिन सकिँदैन तर जब अचानक बज्रपात आउँछ तब प्रेमिल पात्रका खेलाडीहरुको सपना फुटेका सिसा झै चकनाचुर हुन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.