www.tandavnews.com
Fact ~ In search of truth

हिंसा–बलात्कार न्यूनीकरणको लागि योजना बनाउन गृहमन्त्रीकाे निर्देशन

काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए।

बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने मन्त्रालयले ठहर गरेको छ । गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध हो भन्दै कहीँकतै त्यस्तो भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए।

महिला हिंसा एवं बलात्कारका घटनाका उजुरीमा लापर्वाही नगरी गम्भीरतापूवर्क कारवाही अघि बढाउन उहाँले प्रहरीलाई निर्देशन दिए । गृहसचिव प्रेमकुमार राईसमेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका मृत्यु घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने बताए।

अभियान शुरु गर्दै

अनियन्त्रित मदिराको बिक्रीवितरण र लागूपदार्थको सेवनलगायत कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यसविरुद्ध मन्त्रालयले अभियान शुरु गर्ने भएको छ । मन्त्रालयले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित बिक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लैजानका लागि तयार पारेको छ ।

सो प्रस्ताव पारित भएलगत्तै यही भदौ मसान्तभित्रै सो अभियान घोषणा गर्ने मन्त्रालयको तयारी छ । इन्टरनेटमार्फत अश्लीलता बढेका कारण पनि बलात्कारका घटना वृद्धि भएकाले यसको नियमनबारेमा समेत मन्त्रालयले छलफल शुरु गरेको छ । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.