www.tandavnews.com
Fact ~ In search of truth

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी वाइडबडी

काठमाडौँ (रासस)
रमेश लम्साल/सिबी अधिकारी

एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो ।

जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई ।

Batas

भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो । आन्तरिक उडानमा निगमका जहाज कम थिए । तर अहिले अवस्था फेरिएको छ । आक्रामक रुपमा बजार विस्तार गर्ने र नयाँ नयाँ गन्तव्यमा सेवा दिने लक्ष्य लिएर निगमले नयाँ जहाज भित्र्याएको छ ।

थप दश विमान खरिद गर्ने योजनामा रहेको निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो ।

निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । यसले निगमप्रति विगतमा गर्ने खिसीटिउरीको अवस्थाको समेत अन्त हुनेछ । त्यसका लागि सरकार र निगम व्यवस्थापनले व्यावसायिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ ।

चुहावट नियन्त्रण र जहाज खाली उडाउने भनेर विगतमा गरिने प्रचारबाट निगमले सुधार गर्नु जरुरी छ ।

देशको राष्ट्रिय ध्वजावाहक निगमले भित्र्याउने नयाँ जहाजको रणनीतिक महत्वलाई आत्मसात् गर्दै निगमको जहाज नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्नेछ ।

दुई वर्ष पहिले दुई वटा न्यारो बडी जहाज ल्याएर बजार विस्तारमा लागेको निगमले एक महिनाको अवधिमा दुई वटा वाइड बडी जहाज भित्र्याएको छ ।

फ्रान्सको तुलुजबाट नौ घण्टाको उडान गरेर निगमको दोस्रो वाइडबडी अर्थात् ‘मकालु’ नाम दिइएको जहाज आज विहान ९ बजेर १६ मिनेटमा अवतरण गरेको हो । जहाज अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा निगमले नयाँ जहाज ल्याएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाजको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित थिए ।

वाइड बडी ए ३३०–२०० सिरिजको सो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो ।

विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमको पहिलो वाइड बडी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्ने तयारीमा छ । यही साउन ७ गते निगमको जहाजले भारतको राजधानी नयाँ दिल्लीमा परिक्षण उडान गरेको थियो । आज अवतरण गरेको जहाज सबै प्रक्रिया पूरा गरेर आगामी चार हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्नेछ ।

जहाज अवतरणपछि विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटाले भने ‘ दुई वटा वाइड बडी विमान आइसकेको छ । ती विमान पहिलेकै गन्तव्यमा उडाइन्छ । त्यसपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान गर्ने लक्ष्य राखिएको छ ।’

आगामी पाँच वर्ष भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि दश विमान खरिद गर्ने योजना बनाइएको भन्दै उनले निगमका जहाज यूरोपेली देशमा समेत उडान गरिने बताए ।

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले निगमका दुवै जहाजलाई पूर्ण रुपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने बताए ।

‘पहिलो बाइड बडी जहाजको उडान अनुमति आज भोलि नै हुन्छ । सबै कागजात बुझाइसकिएको छ । परिक्षण उडान समेत भइसकेको छ ’ महाप्रबन्धक कसांकारले भने  “आज अवतरण भएको जहाज बढीमा चार हप्ता भित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ ।” केही समय दुवै विमान पुरानै गन्तव्यमा उड्ने र क्रमशः नयाँ गन्तव्यका लागि समेत तम्तयारी अवस्थामा रहेको महाप्रबन्धक कसांकारको भनाइ छ । निगमसँग १३ वटा विमान रहेका छन् ।

चालक व्यवस्थापन गरिदै

निगमका अनुसार दुई वटा वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी कूल ११६ जना चालक जरुरी पर्दछ । हाल निगमसँग ८८ मात्र चालक छन् । थप २८ चालक सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ ।

निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति समेत लिइएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकेको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि नविन प्रविधि जडानमा जोड दिइएको छ ।

निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको भनाइ छ ।

निगमले भारतको नयाँदिल्ली, बेङ्गलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यी मध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् । –––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.